८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जलाधार क्षेत्रको लाभ सहर र गाउँ दुवैलाई

जलाधार क्षेत्रको लाभबारे पोखरामा आयोजित छलफल। तस्बिरः नागरिक

पछिल्लो समय अधिकांश गाउँ बस्तीविहीन बन्दै गएका छन्। सहर झर्ने क्रमसँगै गाउँ पातलिएका छन्। गाउँका पुरानो बस्तीमा अधिक घर रित्ता छन्। ग्रामिण क्षेत्रमा मानव बस्ती घट्दै गएपनि सिमित आकारमा अडेको गाउँको बस्तीको जलाधार क्षेत्रप्रतिको निर्भरता भने बढ्दै गएको अध्ययनले देखाएको छ। त्यसको उदाहरण हो–फेवाताल र बेगनासतालको जलाधार क्षेत्रमा स्थानीयको निर्भरता बढ्नु।  

अध्ययनकर्ताका अनुसार फेवा र बेगनासको जलाधार क्षेत्रमा गाउँ र सहरको दुवैको निर्भरता एकअर्कासँग बढेको देखिएको छ। गाउँका बस्ती रित्तिदै गएपनि त्यहाँँका सिमित बासिन्दाको जलाधार क्षेत्रप्रति निर्भरता भने बढिरहेको अध्ययनकर्ताले बताए। जसोतसो गाउँमै अडिएका बासिन्दा कुनै न कुनै रुपमा अहिले जलाधार क्षेत्रबाट लाभ लिन सफल भएका छन्। पर्यटन र कृषिकर्मलाई जोडेर धेरैले जलाधार क्षेत्रबाट लाभ लिन सकेको उनीहरुले बताएका छन्।

‘पर्यावरणको चक्रीय प्रवाह, बजार–ग्रामिण अन्तरसम्बन्ध’ विषयक छलफलमा अध्ययनकर्ताले भने, ‘जलाधार क्षेत्रप्रति गाउँ र सहरको विश्वास उत्तिकै छ। जलाधार क्षेत्रलाई कुनै न कुनै रुपमा उपयोग गर्नमा गाउँका बासिन्दा तयार छन,’ उनीहरुले भने, ‘गाउँमा बसोबास गर्नेको संख्या कम त भएकै छ। तर, जे जति छन, उनीहरुको निर्भरता भने जलाधार क्षेत्रप्रति रहेको छ।’ जलाधार क्षेत्रलाई उपयोग गर्दै गाउँलेले खेतीपातीसँगै घासदाउराका लागि आवश्यक पर्ने रुखविरुवा रोपेका छन्। कतिपयले चिया र कफी खेती पनि गरेका छन्। खेतीसँगै घासदाउरा दिने विरुवा रोपेर पशुपालन पनि थालेका छन्।  

वन विज्ञान अध्ययन संस्थान पोखरा र जापानको इन्ष्टिच्यूट फर ग्लोवल इन्भायरोमेन्ट स्ट्राटेजी (आईजीइएस)ले मिलेर गरेको यो अध्ययनका अध्ययनकर्ता वन विज्ञान संस्थापक प्राध्यापक राजन सुवेदीले भने, ‘गाउँ र सहरको जलाधार क्षेत्रप्रति विश्वास उत्तिकै बढिरहेको छ। कुनै न कुनै रुपमा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले जलाधार क्षेत्रलाई उपयोग गरिरहेका छन्, त्यहाँबाट लाभ लिईरहेका छन।’ बाहिरबाट हेर्दा जलाधार क्षेत्रको लाभ सहरले मात्र पाएको हो की जस्तो देखिन्छ, तर सिरान क्षेत्रको गाउँले पनि जलाधार क्षेत्रबाट लाभ लिर्ईरहेको छ।  

उनका अनुसार फेवा र बेगनासतालको सिरान क्षेत्रको गाउँका र तल्लो क्षेत्रका सहरका ९०–९० वटा घरका बासिन्दासँग गरिएको अध्ययनले जलाधार क्षेत्रमा उनीहरुको विश्वास बढेको देखिएको सुवेदीले बताए। ‘गाउँ र सहर दुवैले जलाधार क्षेत्रलाई उपयोग गरेका छन्। माथिल्लो क्षेत्रले जलाधार क्षेत्रलाई कुनै न कुनै रुपमा सहरका बासिन्दालाई बेचेको उनले बताए। 

‘सहरका मान्छे गाउँ पुग्छन, उनीहरुलाई गाउलेले त्यहाँको जलाधार क्षेत्रलाई घुमाउँछन,’ उनले भने, ‘कतिपयले होमस्टेको रुपमा पनि जलाधार क्षेत्रमा पूर्वाधार विकास गरेका छन्। माथिल्लो क्षेत्रमा उत्पादित बस्तु सहरमा ल्याएर बेच्ने गरेका छन्।’  

उनका अनुसार गाउँलेले अरु काम छाडेर सहर झर्ने क्रमसँगै गाउँमा पनि काम गर्ने चलन हराउँदै गएको छ। ‘घरको पुरुष वैदेशिक रोजगारीमा जानेवित्तिकै रेमिट्यान्समा भर पर्ने चलन छ। रेमिट्यान्सको भरमा परिवार चल्दा गाउँका खेतबारी बाँझन छन,’ उनले भने, ‘तर, कतिपयले त्यही जलाधार क्षेत्रलाई पनि उपयोग गरेर कमाई गर्न सकेका छन्। अब गाउँका बाँझो जग्गालाई पनि उपयोग गर्नेगरि नीति बनाउनुपर्छ।’ जलाधार क्षेत्रलाई कुनै न कुनै रुपमा उपयोग गरेर लाभ लिने वर्ग पर्याप्त रहेको उनले बताए। फेवातालको जलाधार क्षेत्रमा घासपात, बोटविरुवा, कफी, चिया, बास रोपेर त्यहाँका बासिन्दाले लाभ लिएका छन। त्यस्तै होमस्टे पनि चलाएका छन। होमस्टेमा बस्न सहरका बासिन्दा पुग्छन।  

‘गाउँ र सहरबीचको अन्तरसम्बन्ध बढाउन जलाधार क्षेत्रले भूमिका खेलेको छ। जलाधार क्षेत्रकै कारणले सहरले लाभ पाएको छ भने माथिल्लो भेगले पनि कुनै न कुनै रुपमा फाइदा लिन सकेको छ,’ उनले भने, ‘पर्यटन प्रवद्र्धनात्मक गतिविधि र उत्पादन बढाउने गरि अहिले माथिल्लो भेगले बढी लाभ लिएको छ।’ त्यसबाहेक जलाधार क्षेत्रका कतिपय समुदायले वनसँगै कृषि क्षेत्रलाई पनि बढाएका छन्। ‘एउटै ठाउँमा रुखबिरुवा रोपेर पनि लाभ लिएका छन। त्योसँगै खेतीपाति पनि गरेका छन,’ उनले भने, ‘दोहोरो लाभ लिन माथिल्लो क्षेत्र सफल भएको छ। तल्लो क्षेत्रले भने सहजै फाइदा लिएको छ।’

छलफलमा पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले गाउँका आधा बस्ती रित्तो हुँदै गएको बताए। उनले गाउँमा जनशक्ति नहुँदा कृषि उपज उत्पादन घट्दै गएको उनले जानकारी दिए। ‘कृषि उत्पादनमा सघाउने कोही छैनन्। गाउँका अधिकांश घर रित्तै छन,’ कडरियाले भने, ‘कृषि कर्म नै हुन छाडेको छ। कृषियोग्य जमिन नै बाझो भएको छ।’ जनशक्ति नभएर कृषि उत्पादन घट्दै जाँदा अहिले गाउँमै खाद्यान्न ढुवानी बढिरहेको उनले बताए। तरपनि केही गाउँलेले भने जलाधार क्षेत्रबाट लाभ पाइरहेको उनले सुनाए। उनले पनि बाँझो जग्गाको उपयोग हुनुपर्ने बताए।

उनका अनुसार गाउँमा सडक बिस्तार भएसँगै कृषि कर्म हुन छाडेको छ भने उत्पादनशील जग्गा पनि वनमा परिणत भएको छ। ‘मोटरबाटो गाउँमा पुगेसँगै सडककै नजिक पारेर खेतीयोग्य जमिनमा घर बनाउन थालिएको छ। त्यसबाहेक अधिकांशले काम गर्न छाड्दा वनमा परिणत भएको छ,’ उनले भने। उनका अनुसार ग्रामिण क्षेत्रले कृषि उत्पादन बढाउनमा महत्वपूर्ण योगदान गर्ने भएपनि त्यो अवस्था छैन। किनकी अधिकांश गाउँ अहिले रित्तिएका छन।

‘अहिले स्थानीय उत्पादन खोज्ने र खाने वर्ग बढिरहेको छ। तर गाउँमा त्यो उत्पादन बढाउन जनशक्ति छैन,’ कडरियाले भने, ‘अब स्थानीय उत्पादन बढाउने गरि उपाय खोज्नुपर्छ। सहरका बासिन्दामा अझ बढी स्थानीय उत्पादन खोज्ने चलन थपिएको छ। सहर पनि गाउँसँग निर्भर छ। तर,त्यो अनुुसार हुन भने सकेको छैन।’ छलफलमा आईजीइएस निमित्त निर्देशक डा. विजोनकुमार मिश्र, वन विज्ञान अध्ययन संस्थानका डीन प्राडा वीरबहादुर खनाल क्षेत्री लगायतले फेवा र बेगनासतालको माथिल्लो र तल्लो क्षेत्रको सम्बन्धबारे प्रस्ट्याएका थिए। वन विज्ञान अध्ययन संस्थान अन्तर्गत पोखरा क्याम्पसका प्रमुख बिनोदप्रसाद हैजूले जलाधारको माथिल्लो र तल्लो क्षेत्रको सम्बन्ध बढाउन योजना बन्नुपर्ने बताए।

प्रकाशित: १४ असार २०७९ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App