८ वैशाख २०८१ शनिबार
समाज

बुढानिलकण्ठमा थिंक पोजिटिभ ग्लोबल क्याम्पेन

स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा.लि.को प्रस्तुति रहेको 'थिंक पोजेटिभ ग्लोबल क्याम्पेन' काठमाडाैँकाे बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भएको छ। नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित सो कार्यक्रम नगरका १०, ८ र ३ नं वडामा यही असार, १०, ११, र १२ गते सञ्चालन गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, नगरप्रमुख मिठाराम अधिकारी र पूर्व नगरप्रमुख उद्धबराज खरेल रहेका थिए भने उप-प्रमुख अनिता लामासहित वडाध्यक्षहरु, कृष्ण शाह (ठकुरी), श्रीराम केसी, रवि खड्का, बसनारायण महर्जन, शम्भु प्र. भट्टराई, राजु अधिकारी, सुमित्रा त्रिपाठी (पाण्डे) सहित नगरका अधिकांश वडा सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु, नगरका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्र. दाहाललगायतका अतिथिको सहभागिता रहेको थियो।

साथै नगरपालिका वडाभित्रका विभिन्न कार्यमा संलग्न कर्मचारी, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक प्रतिनिधि, सामाजसेवी, सरोकारवालालगायतको उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको अवसर पारेर सञ्चालित अभियानमा बच्चादेखि जेष्ठ नागरिकहरुको संलग्नता रहेक‍ो थियो। हरेक दिन बिहान १० बजेदेखि साँझ साढे ५ सम्म चलेको  तीन अ‍ोटा कार्यक्रममा पाँच सय जना बढीको उपस्थिति थियो।

साेही कार्यक्रममा ज्ञान र सचेतनाका हिसाबले निकै फलदायी र आकर्षक रहेको प्रतिक्रिया सहभागीहरुले दिएका थिए। नगर प्रमुख मिठाराम अधिकारीले यस्ता कार्यक्रम अब नगरपालिकाभित्र हरेक ४/४ महिनामा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यसरी नै पूर्वमेयर उद्धवराज खरेलले आफैं पनि सकरात्मक सोचका अभियानमा सरिक हुन अत्यन्तै रुचि राख्ने भएकाले आफू र समाजले खोजे जस्तै कार्यक्रम ल्याएकोमा आयोजक प्रति धन्यवाद व्यक्त गरे भने नगरका उपप्रमुख अनिता लामाले यस्ता कार्यक्रम बुढानीलकण्ठ नगरपालिकासहित देशका ७५३ वटै स्थानीय तहका टोलटोलमा पुर्‍याउनुपर्ने कुरामा जोड दिए।

स्वास्थ्य मन्त्रालय (एनसिएएस्सी) बाट अवार्ड अफ एक्सलेन्स  प्राप्त ‘थिंक पोजेटिभ ग्लोबल क्याम्पियन’ यसभन्दा अगाडि पनि देशका विभिन्न जिल्लाहरुमा सञ्चालन भैसकेको थियो। नेपालीहरुमा रहेका गरिबी, अशिक्षा, पछौटेपन, बसाइँसराइ, बेरोजगारी, विदेशिनु जस्ता विधमान समस्याहरुले यूवाहरुमा नकरात्मक सोच, हिन भावना, देखासिकी, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको दुरुपयोग जस्ता विविध समस्याहरु बढ्दै जाँदा कुलतमा लाग्ने प्रक्रिया तीव्र रूपमा बढ्दै गएको छ।

विभिन्न सम्बन्धित निकायहरुले गरेका अनुसन्धान अनुसार यो क्रम दुर्गम क्षेत्रमा भन्दा शहरी र शहरोन्मुख क्षेत्रहरुमा बढी देखिन्छ। यसलाई केही हदसम्म भए पनि निस्तेज पार्न सकिने उद्देश्यका साथ विभिन्न ड्रग/एचआईभी प्रभावित र प्रभावोन्मुख क्षेत्रहरुमा फाउण्डेशनले सोही विषयमा बनाइएको चलचित्र सिग्नेचर प्रदर्शन, मनोपरामर्श, जनजागरण र उत्प्रेरणा जस्ता कार्यक्रमका साथ यो अभियानलाई अत्यन्तै प्रभावकारी तरिकाले अगाडि बढाएको छ।

यो अभियान र चलचित्रलाई यूएनएआइडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालयलगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटीले एक्नलेज्ड गरेका छन्। अभियानको मुख्य आकर्षणको रूपमा रहेको वास्तविक जीवन कथामा आधारित चलचित्र सिग्नेचरमा समाजका विभिन्न तत्वहरुले पार्ने प्रभाव, व्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोही बमोजिमको क्रियाकलापले उसको जीवन र समाजमा पार्ने असरलाई अत्यन्तै कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।

परिवारको सही निगरानीको अभाव र खराब सङ्गगतका कारण युवाहरु कसरी दुर्व्यसनमा लाग्दछन् र जीवन क्षतविक्षत हुन्छ भन्ने विषयलाई चलचित्रले समेटेको छ। अतः एकै वाक्यमा भन्नुपर्दा समग्र चलचित्रको भाव सकरात्मक व्यवहारको विकास र आशावादी जीवन जिउन उत्प्रेरणा दिने खालको छ। ओस्कार इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज), सभ्य सिर्जना प्रा.लि र स्कूल फाउन्डेसनका अध्यक्ष रहेका सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन्।

पछिल्लो समयका चर्चित गीतकार तथा चलचित्र निर्माता प्रकाश सुवेदी सभ्य सिर्जना प्रा.लि.का प्रवन्ध निर्देशक र स्कुल फाउन्डेसनका महासचिव पनि हुन्। सो कार्यक्रममा सिनेमा थेरापीसँगै चर्चित मोटिभेसनल स्पिकर सुदन ज्ञवालीद्वारा मोटिभेसनल सेसन, चर्चित मनोविश्लेषक बासु आचार्यद्वारा मनोपरामर्श सेसन र ई. राजेन्द्र चटौतद्वारा डिजिटल एडिक्सन र सामाजिक सञ्जाल र इन्टरनेटको सही सदुपयोगका लागि थिंक पोजेटिभ, थिंक डिजिटल सेसन सञ्चालन गरिएको थियो।

स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको सो कार्यक्रममा, ब्लड सुगर, रक्तचाप, तौल परीक्षणसहित, जीवनजल लगायत औषधि, महिलाहरुको लागि निःशुल्क सेनीटरी प्याड र पुरुषहरुका लागि परिवार नियोजका साधन वितरण गरिएको थियो। स्वदेश तथा विदेशमा सञ्चालन गर्ने योजना बनाइएको यस अभियान विभिन्न चरणहरु गरी प्रत्यक्ष रूपमा 'म १ सहभागी २० लाख मा म पनि' नाराका साथ सहभागी माझ पुर्‍याइ सम्पूर्ण सहभागीहरुको प्रतिबद्धतासहितको हस्ताक्षर र प्रतिक्रिया संकलन गर्ने लक्ष्य आयोजकको रहेको छ।

प्रकाशित: १३ असार २०७९ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App