१० माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

आमा र बाच्छो

कथा

बिहानको घाम आँगनमा झरेको थियो। पिपलको छायाले आधा घर ढाकेको, आधा खुला छाडेको। आँगनको कुनामा बाँधिएको बाच्छोले टाउको हल्लायो। डोरी टनटन्यायो।

‘हेर न, आज फेरि भाँडा हल्लायो,’ आमाको स्वर भान्साबाट आयो।

बाच्छोले करायो– ठ्याक्कै विरोधजस्तो। मानौं, उसले भन्न खोज्यो, तपाईं नै ढिलो उठ्नुभयो, भोक लागिसक्यो।

छिमेकीले सुनेर हाँस्ने कुरा यही हो। बाहिरबाट हेर्दा यो घरमा सधैं केही न केही असमझदारी चलिरहन्छ। कहिले आमा कराउनुहुन्छ, कहिले बाच्छो कराउँछ। आमा र बाच्छोको सम्बन्ध बाहिरबाट हेर्दा सधैं सहज देखिँदैन। कहिले एकले अर्कालाई सताएकोजस्तो लाग्छ, कहिले दुवै रिसाएर ठुस्किएका देखिन्छन्। रिस क्षणिक हुन्छ, प्रेम स्थायी। त्यो रिस नै कहिलेकाहीं प्रेमको भाषाजस्तो लाग्छ।

बाच्छोले आमालाई दुध दिँदैन। आमाले पनि दुधको आशाले यसलाई पाल्नु भएको होइन। दुध त आमाले किनेर खानुहुन्छ। त्यसैले यो सम्बन्धमा कुनै लेनदेन छैन। न नाफाको हिसाब छ, न घाटाको डर। आमाले बाच्छोलाई हेर्दा ‘यसले भोलि के दिन्छ’ भनेर सोच्नुहुन्न। बाच्छोले आमालाई हेर्दा ‘मलाई के पाइन्छ’ भनेर सोध्दैन। सायद यही कारणले यो सम्बन्ध छलरहित छ, सिधा, नाङ्गो, शुद्ध।

आमा कहिलेकाहीं कामले बाहिर जानुहुन्छ। सहकारीको बैठक, मामा घर, कहिले दिदीको घर। एक/दुई घण्टा वा एक दिन, कहिले दुई दिन। आमा नहुँदा घर शान्त हुन्छ, तर त्यो शान्ति न्यानो हुँदैन। बाच्छोअगाडि घाँस हुन्छ। पानीको भाँडो नजिक हुन्छ तर न घाँस छुन्छ, न पानी। ऊ आँगनमै उभिएर ढोकातिर हेर्छ।

आमा नभएको बेला घरमा बसेकी भान्जीले भन्छे, ‘किन यति आत्तिएको?’

बाच्छोले जवाफ दिँदैन। तर टाढाबाट आमाको आकृति देखिनेबित्तिकै ऊ कराउँछ। त्यो कर आवाज मात्र हुँदैन। त्यो उपस्थितिको पुष्टि गर्ने पुकार हुन्छ– तपाईं मेरी आमा नै हो! छोडेर कहाँ जानुभयो?

आमा नजिक आउँदा बाच्छोका आँखाले सोध्छन्– किन एक्लै छोडेर जानुभयो? पुकारसँगै प्रश्न पनि गरिएको हुन्छ।

आमाले बोलेर उत्तर दिनुहुन्न। टाउकोमा हात राखिदिनुहुन्छ। यत्ति नै काफी हुन्छ। बाच्छोले उत्तर पाउँछ, आमाले घरभित्र जाने स्वीकृति।

बुढेसकालसँगै आमाको जीवनमा एक किसिमको एक्लोपन थपिँदै गएको छ। छोरी बिहे गरेर गए, छोरा सहर। बुहारीका फोनहरू छोटा भएका छन्। नातिनातिनाहरूको स्वर मोबाइलभित्र मात्रै बाँचेका छन्।

मनमा लागेको कुरा आमाले बाच्छोसँग भन्नुहुन्छ– ‘आज त शरीर अलि गाह्रो भयो’, ‘तिमीजस्तो सुन्ने मान्छे पनि कहाँ पाइन्छ र?’

 बाच्छो सुन्छ। तर कुरा काट्दैन, कसैलाई लगाउँदैन पनि। ऊ मौन श्रोता हो– सबैभन्दा सुरक्षित गोप्य थलो। र सबैभन्दा विश्वासिलो पात्र पनि।

एकदिन बाच्छोले डोरी चुँडायो। त्यो दुर्घटना थिएन, त्यो उमेरको घोषणा थियो। ऊ दौडियो, उफ्रियो, खुला आकाशतिर लम्कियो।  

‘ए... ए... रोक्!’

आमा पछि लाग्नुभयो।

आमा पछि लाग्नुभयो, समात्न परसम्म जानुभयो तर बुढेसकालका पाइला बैंसको वेगसँग हार खाए। थाकेर आमा उभिनुभयो। मनमा रिस पलायो। मुखबाट निस्कियो– ‘जा, जहाँ जान्छस् जा।’

शब्द कठोर थिए, मन अस्थिर। आमा घर फर्किनुभयो।

दुई दिनसम्म बाच्छो फर्केन। घर अत्यन्त शान्त थियो– डरलाग्दो शान्त। आमा आफैंसँग बरबराउनुहुन्थ्यो– ‘कुकुरलाई घिउ पच्दैन भनेको यही हो।’ ‘यत्रो माया गरेको, पचेन।’ ‘जा, मरे मर!’ तर मन शान्त थिएन। आँखा ढोकामै अडिएको थियो। रिस बोल्थ्यो, माया भित्रै रोइरहन्थ्यो।

तेस्रो दिन ढोकामा आवाज आयो। आमा झस्किनुभयो। बाच्छो फर्कियो– थकित, मैलिएको, टाउको झुकाएको।

आमाको खुसी शब्दमा अटेन। तर अर्को मनले गाली पनि गर्नुभयो– ‘किन फर्किस्।’ हप्काउँदै खाना दिनुभयो। बाच्छो चुपचाप खान थाल्यो। बाच्छोको आँखामा आत्मग्लानि थियो, क्षमा मागेजस्तो।

आमा बाहिर जाँदा बाच्छोलाई ढोगेर जानुहुन्छ। घर फर्किंदा कोठाभित्र पस्नुअघि फेरि ढोगेरै जानुहुन्छ। मानौं अनुमति लिइएको हो। यो ढोका अब घरको मात्र होइन, सम्बन्धको प्रतीक बनेको छ।

गाउँ अब गाउँजस्तो छैन। गाउँमा सहर छिरिसकेको छ। गाई पाल्ने चलन हराइसकेको छ। दुधका लागि भैंसी बाँधिन्छ। गाई दुध दिउन्जेल पालिन्छ, पछि सडकमा छोडिन्छ। सडकमा छोडिएका गाई मान्छेलाई टुलुटुलु हेर्छन्– अभिभावक खोजेजस्तै। गाईको सम्झना अब चाडपर्व र पूजा–विधानमा सीमित हुँदै गएको छ।

तर मेरो घरमा गाई केवल गाई होइन, बाच्छो केवल पशु होइन। उनीहरू सम्बन्ध हुन्, मानवता हुन्। दुध नदिने तर जीवन बुझाइदिने। ढोका ढकढक्याउने– एउटा अनौठो तर साँचो सम्बन्ध।

प्रकाशित: १० माघ २०८२ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App