१६ चैत्र २०८० शुक्रबार
समाज

बेपत्ता बालिकाकाे भारतबाट उद्धार

डेढ महिनादेखि बेपत्ता इटहरी वडा नं. १६ की १५ वर्षीया बालिकालाई भारतबाट उद्धार गरिएको छ। वैशाख ३० गतेदेखि बेपत्ता भएकी इटहरी वडा नं. १६ की अस्मिता चौधरीलाई भारतको हरियाणाबाट उद्धार गरिएको हो।  

‘नेपाल प्रहरीको टोलीले भारतको हरियाणबाट बालिकलाई उद्धार गरेर ल्याउन लागिएको छ,’ इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रविन्द्र थापाले भने, ‘बालिकालाई त्यहाँ लाने नेपाली नागरिक भने भाग्न सफल भएकाले खोजी भइरहेको छ।’ थापाका अनुसार भारतमा पनि बालिकालाई लाने समूहविरूद्ध मुद्दा दर्ता भएको छ।  

‘बालिकालाई लाने नेपाली भाग्न सफल भएपछि एक जना भारतीयलाई पक्राउ गरियो, तर उनको घटनामा संलग्नता देखिएन,’ उनले भने। बालिकालाई भारत लाने गिरोहमा ठूलै समूह भएको प्रहरीको दावी छ।  

‘बालिकालाई नेपाल ल्याएपछि भारत लाने गिरोहमा संलग्न सबै व्यक्ति पत्ता लाग्छन,’ उनले भने। बालिकालाई भारतको एन्टी ट्राफिकिङ सेल, भारतीय प्रहरी र साना हात संस्थाको समन्वयमा उद्धार गरिएको हो।

बालिकालाई वेपत्ता बनाएदेखि नै इलाका प्रहरी कार्यालयले खोजी तिव्र पारेको थियो। मोरङको सिमा नाका हुँदै अस्मितालाई आफ्नै काका लालु चौधरीको सहयोगमा विराटनगरका दिनेश मण्डलले भारत पुर्‍याएको प्रारिम्भक अनुसन्धानका क्रममा खुलेको थियो।  

बालिका भारत पुर्‍याउने विराटनगरका मण्डल अहिलेसम्म फरार छन्। उनको खोजी भइरहेको छ। बालिकाका काका लालु र अर्का एक सहयोगी भने प्रहरी हिरासतमा छन्। बालिकालाई काका लालु चौधरीले एक जना झाँक्रीसँग फूलपाती सेलाउन कोशी नदी जानुपर्छ भनेर घरबाट लिएर गएका थिए। तर उनलाई झुक्याएर विराटनगरका मण्डल र काकाले बाइकमा राखेर भारत लगेको खुलेको थियो।

प्रकाशित: ११ असार २०७९ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App