सङ्घीय सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ९६ करोड रूपैयाँ भन्दा बढीको लागतमा ८६ सडक स्तरोन्नति गर्ने भएका छन्। जिल्लाका ग्रामीण सडक सुधारमा उक्त रकम गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत खर्च गरिने छ।
सडक स्तरोन्नति पनि सोही मन्त्रालयको समन्वयमा हुनेछ। प्रदेश सरकारले ६३ करोड ५७ लाख र स्थानीय विकास मन्त्रालयले ३३ करोड रूपैयाँ प्रदान गर्ने यहाँस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए।
गत वर्षको तुलनामा आयोजना र बजेट घटेको छ। यो वर्ष १९ करोड ४५ बजेट घटेको छ भने ५० आयोजना कम छन्। विगतदेखि सञ्चालनमा रहेका छवटा बहुवर्षीय योजनालाई स्रोत सुनिश्चित भएको छ।
यसैगरी, दक्षिण पर्वतको पैँयू गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलका लागि ५१ लाख ४० हजार र मिलनचोक–सल्ल्यान–घाखेत सडकका लागि तीन करोड बजेट विनियोजन भएको छ।
यो सडक विगत चार वर्षदेखि गति लिन सकेको छैन। बस्ती विकास कार्यक्रम अन्तर्गत सङ्घ सशर्त अनुदानबाट पाँच सडकका लागि दुई करोड ७५ लाख रूपैयाँ विनियोजन भई कार्यान्वयन गर्न सुरु गरिएको छ।
प्रकाशित: १२ भाद्र २०८२ ११:०६ बिहीबार





