३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

किसानले कब्जा गरे मल

धादिङको धुनीबेसी नगरपालिका वडा नं ६ धार्केमा किसानहरुले ट्रक कब्जा गरेर मल लिँदै।

धुनिबेसी नगरपालिका वडा न ६ धार्केमा किसानहरुले ट्रक कब्जा गरेर मल लिएका छन्। पृथ्वी राजमार्गको ब्यस्त सडकमा शनिबार दिउँसो साढे एक बजेको समयमा दुई वटा ट्रकलाई नियन्त्रणमा लिएर मल लिएका हुन्। एउटा ट्रकमा ४ सय बोरा मल र अर्को ट्रकमा एक सय पचास बोरा रासायनिक मल थियो।

धार्केमा जम्मा भएका किसानले बा ६ ख ८२०९ र बा ६ ख ८२१० नम्बरको ट्रकलाई कब्जा गरेर एकाएक मलका बोरा लगेका हुन्। स्थानीयहरु आफै ट्रकमा चढेर मलका बोरा बोकेर लगेका थिए। ट्रकमा आएका सशस्त्र प्रहरीले किसानको भीडलाई थेग्न सकेनन्। चार सयको हाराहारीमा जम्मा भएका किसानहरु, स्थानीय र यात्रामा निस्किएकाहरुको भिड थेगिनसक्नुको थियो। पछि खानीखोलाको प्रहरी टोली आएपछि भीड रोकिएको थियो। ट्रक धादिङका व्यावसायी दुवाडी एग्रोभेटको ट्रक भाडामा प्रयोग गरेर मल ल्याइएको हो। ट्रक भाडामा लिएको र मल ल्याइएको भन्ने बारे जानकारी नभएको बताएका छन्।  

रासायनिक मलको अभावले छट्पटिएका किसान मल आउने थाहा पाएपछि ट्रक कुरेर बसेका थिए। ‘बिहानदेखि नै राजस्वले समाएको मल आउँछ भनेर ब्यापारीले केही किसानलाई जानकारी गराएको थिए,’ थाक्रे गाउँपालिका वडा न ८ का किसान कृष्णहरि थापा भन्छन्, ‘त्यही अनुसार रासायनिक मल बोकेको ट्रक कब्जा गरेर किसानले मल लिएका हुन्।’  

किसानहरुका अनुसार भारतबाट भन्सार छलि गरेर ल्याइएको मल राजस्वले थाहा पाएपछि व्यापारी आफू बच्न किसानलाई दिएको बताएका छन्। भन्सार छली गरी ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरुको संलग्नतामा किसानहरुलाई जानकारी गराएका थिए। मलको अभाव भोगिरहेका किसानहरुले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन्। राजमार्गमा जम्मा भएका करिव ४ सय जना किसानले मल लिएका छन्।  

व्यापारीहरुले भन्सार छली गर्दै धादिङका स्थानीय बजारमा कालोबजारी गर्दै मल बेच्दै आएको आरोप लाग्ने गरेको छ। विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन्। किसानहरुले मल कब्जा गर्ने क्रममा प्रहरीले भिडलाई तितरवितर गर्न लाठी प्रहार पनि गरेको थियो। सशस्त्रको टोलीले शुक्रबार बेलुका नै कुरिनटारमा ट्रक नियन्त्रणमा लिएको खुलेको छ।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) जागेश्वर भन्डारीका अनुसार मल राजस्व अनुसन्धान विभागले समातेको भन्ने जानकारी आएको बताए। ‘भन्सार छली गरेर मल ल्याएको राजस्वले थाहा पाएपछि शसस्त्र प्रहरीको टोलीले ट्रकलाई नियन्त्रण गरि काठमाडौ लैजादै थियो,’ डिएसपी भन्डारी भन्छन्, ‘मल लिएर काठमाडौं जाँदै गरेको ट्रक किसानले नियन्त्रण गरि मल लिएका हुन्।’

अहिले देशभर मल अभाव भइरहेको छ। धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला धार्केमा किसानहरुले मल कब्जा गरेका हुन्। मल पाएपछी केही राहत मिलेको किसानले बताएका छन्। ‘बजारमा ९ सय बोराको मललाई २२ सय भन्छ त्यो पनि किन्न पाइदैन,’ किसान थापा भन्छन्, ‘खेती लगाउने बेला र भित्राउने बेला जहिले मलको अभाव सहनु पर्छ।’

प्रकाशित: ४ असार २०७९ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App