२३ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरी उजुरी पेटिकामा ४ खाले सुझाव

प्रहरीले राखेको सुझाव पेटिकामा बिभिन्न ४ किसिमका सुझाव स्थानीयले दिएको पाइएको छ। ६ महिनाअघि प्रहरीले जिल्लाका ८ वटै स्थानीयतह तथा ७५ वडा कार्यालयमा राखेको पेटिका खोल्दा यस्ता सुझावहरु प्राप्त भएको प्रहरीले जनाएको छ।  

१ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय उदयपुरबीच भएको कार्यसम्पादन सम्झौता अनुसार गत ०७८ मंसिर २३ गते जिल्लाका सबै स्थानीयतह र वडा कार्यालयमा ‘प्रहरी कार्य सम्बन्धी सुझाव तथा गुनासो पेटिका’ राखिएको थियो। ७५ वडा र ८ स्थानीयतहमा गरी राखिएका जम्मा ८३ वटा गुनासो पेटिकाहरु असार २ गते बिहीबार खोल्दा ती सुझाव पाइएको प्रहरीले जनाएको छ।  

नयाँ जनप्रतिनिधिहरु निर्वाचित भएर कार्यभार सम्हालेपछि खोलिएका पेटिकामा स्थानीयले प्रहरीलाई बिभिन्न ४ किसिमका सुझाव दिएका छन्। जस अनुसार कटारी नगरपालिका ३ स्थित वडा कार्यालयको पेटिकामा ‘मुस्कानसहितको प्रहरी सेवा नभएको’ गुनासो भेटिएको छ। त्यस्तै कटारी ११ नं. वडा कार्यालयमा भेटिएको सुझाव ‘वडाबाट नागरिकलाई प्रदान गरिने सेवा सुविधा सन्तोषजनक नभएको’ भन्ने छ।  

अर्को पेटिका रौतामाई गाउँपालिका २ को कार्यालयमा ‘सचिवले गर्ने सेवाग्राहीप्रतिको व्यवहार राम्रो नभएको’ उल्लेख छ। त्यसैगरी रौतामाई गाउँपालिकाकै ७ नं. वडाको गुनासो पेटिकामा ‘मुर्कुची बजार सफा राख्नुपर्ने’ सुझाव भेटिएको छ। उजुरी संबोधन गर्नका लागि प्रहरीको तालुस संगठन जिल्ला प्रशासन कार्यालयमार्फत समन्वय गर्न आग्रह गरिने बताइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तोष आचार्यले उजुरीको कार्यान्वयन गर्न प्रशासन कार्यालयलाई समन्वयात्मक भूमिका खेल्न पत्राचार गरिएको बताए।  

सुशासन कायम गर्न सहयोग पु¥याउने उदेश्यले प्रदेश प्रहरीले सबै स्थानीयतहमा गुनासो उजुरी पेटिका राखेको थियो। ६ महिनाअघि राखिएको उजुृरी पेटिकाहरु स्थानीयतहमा नयाँ जनप्रतिनिधि जितेर आएपछि खोलिएको हो। यतिका दिनपछि खोलिए पनि उजुृरी भने धेरै कम संख्यामा रहेको जनप्रतिनिधिको भनाई छ। अहिले प्राय उजुरी नै नपर्ने गरेकाले पेटिकाहरु खाली हुने गरेको स्थानीयहरु बताउँछन्।  

कतिपय पेटिकाहरुमा त माउसुली र माकुरा जालो मात्र भेटिएको प्रत्यक्षदर्शीहरुको भनाई छ। अधिकांश पेटिकाहरु खाली रहेको र परेका उजुरीको संख्या पनि धेरै कम रहेको उनीहरुले बताए। 

प्रकाशित: ३ असार २०७९ १५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App