१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भाग्न जबर्जस्ती गरेपछि घाँटी थिचेर प्रेमीको हत्या

प्रेमीले भाग्न गरेको प्रस्ताव अस्वीकार गर्दा विवाद बढेपछि जिल्लाको झ्याकु गाउँकी एक युवती (प्रेमिका)ले आफ्नै प्रेमीको घाँटी थिचेर हत्या गरेकी छिन्।  

जिल्लाको गौरीशंकर गाउँपालिका ३ झ्याँकुका २४ वर्षीय यानबहादुर बस्नेतलाई आफ्नै प्रेमिकाले हत्या गरेको प्रहरीले जनाएको छ। गत जेठ १० गते उनकी १९ वर्षीया प्रेमिकाको घरमा पुगेका बखत भाग्ने बिषयमा विवाद बढ्दै गएपछि रिसको आवेगमा घाँटी थिचेर हत्या गरेको स्वीकार ति युवतीले गरेकी छिन्।  

हत्या गरेर परिवारका सदस्यहरुको सहयोगमा नजिकको जंगलमा लगेर शवको घाँटीमा डोरीले बाँधेर आत्महत्या देखाउन खोजिएको थियो। घाँटीमा बाँधिएको डोरी काफलको रुखमुनी चुँडिएको अवस्था प्रहरीले शव फेला पारेको थियो।  

जिल्लाका प्रहरी प्रमुख डिएसपी गंगा पौडेलका अनुसार ति युवती र युवक २ वर्षदेखि प्रेम सम्बन्धमा थिए। उनीहरु मावली नाता समेत पर्थे। युवक स्थानीय सामुदायिक विद्यालयमा लेखापालको रुपमा काम गर्थे भने युवती त्यही विद्यालयमा कक्षा ११ मा पढ्थिन्। ६ महिना यता प्रेम सम्बन्धले गहिरो रुप लिएको थियो। युवकले विवाह गर्न कर गरिरहेका थिए। तर दुवै पक्षको परिवारले मानिरहेको थिएन्।  

जिल्लाका प्रहरी प्रमुख पौडेलका अनुसार गत असार १० गते साँझ मदिरा सेवन गरी युवक युवतीको घर गएका थिए। युवकले उनलाई भाग्ने प्रस्ताव गरे। उनी मानिनन्। विवाद बढ्दै गयो। मदिरा सेवन गरेर गएका युवकलाई सम्झाउदा समेत भागौं भनेर जबर्जस्ती गर्न थालेपछि रिसको आवेगमा लडाएर युवतीले घाँटी थिच्न थालिन्। छट्पटाएका उनको स्वास बन्द भयो। आत्तिदै परिवारलाई बोलाइन्।  

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार परिवारका सबै सदस्य मिलेर हत्या छुपाउन आत्माहत्या गरेको घटना रच्ने निधो गरे। शवलाई घर नजिकैको जंगलमा लिएर गए। घाँटीमा डोरी कसे र काफलको रुख मुनी डोरी चुँडिएको जस्तो बनाएर शव छाडेर घर फर्किए।  

जिल्ला प्रहरी प्रमुख पौडेलका अनुसार शव हेर्ने बितिकै शंकास्पद देखिएको थियो। चुँडिएको डोरी ढुंगाको धारले काटिएको जस्तो देखिएको थियो। तुरुन्तै प्रहरीले केही पहिचान गर्ने अवस्था भएन। गाउँले समेत आत्माहत्या नै हो कि भन्ने अनुमानमा थिए।  

डिएसपी पौडेलका अनुसार सदरमुकाम फर्किएर शवको पोष्टमार्टम गर्दा घाटीमा औलाको दाग देखियो। प्रहरीले अनुसन्धान अगाडी बढायो। छरछिमेक साथीभाई सबै तिर अनुसन्धान तेर्साईयो। कतैबाट पनि ‘क्लु’ नमिलेपछि अनुसन्धानको सुई उनकी प्रेमिका तिर सोझियो। प्रेमिकाले सुरुमा आफ्नो घरमा आएर फर्किएको त्यसपछि आफूलाई केही थाहा नभएको जिकिर गरिन्। परिवारका सबै सदस्यलाई पक्राउ गरेर अनुसन्धान थाल्दा उनले नै हत्या गरेको र परिवारका सदस्यको सहयोगमा शव व्यवस्थापन गरेको खुल्यो।

प्रहरीले घटनामा संलग्न ति युवती, उनका बाबु आमा, दुई जना दाजुहरु, १७ वर्षीय भाई, १५ वर्षीया बहिनी र एक छिमेकी गरेर ७ जनालाई पक्राउ गरि हिरासतमा लिएको छ। प्रहरीले युवती र उनको परिवारका सदस्यहरुको विवरण गोप्य राखिएको छ। पक्राउ परेकाहरुलाई कर्तब्य ज्यान सम्बन्धी मुद्दा चलाईने जिल्ला प्रहरी प्रमुख डिएसपी पौडेलले बताएका छन्।

प्रकाशित: २ असार २०७९ १४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App