१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आरोपित श्रेष्ठको डिएनए परीक्षण गरिने

अनशनरत निहारिका राजपुत। फाइल तस्बिर।

पाँच दिनदेखि काठमाडौँको वसन्तपुरमा न्यायको माग गर्दै अनसनमा बसेकी १९ वर्षीय कुमारी आमा निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठको उनको छोरासँगको डिनए परीक्षण गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ।

मंगलबार आयोगकी अध्यक्ष कमला पराजुलीले पीडित राजपुतलाई भेटी आरोपित पुरुषको डिएन परीक्षण गर्नको लागि अदालतलाई निवेदन दिने प्रक्रिया अघि बढिसकेको बताइन्। ‘डिएनए परीक्षणको लागि निवेदन लेख्ने काम भइरहेको छ, मुद्दाको छिटो फैसला गर्न अदालतलाई सुझाव दिइहाल्छौं,’ अध्यक्ष पराजुलीले भनिन्।

जनकपुरका शिवराज श्रेष्ठले उनलाई साथीको घरमा गएको बेला पानीमा नशालु पदार्थ खुवाएर बलात्कार गरेपछि छोरा जन्मेको कारण र आफू कुमारी आमा बनेको निहारिकाको दाबी छ। पेटमा गर्भ रहँदादेखि नै आफू न्यायको लागि महिला आयोगदेखि अदालतमा धाउँदासमेत न्याय नमिलेपछि अनसन बस्नु परेको निहारिकाले गुनासो गर्दै आएकी छिन्।

उनले पाँच बुँदे मागसहित न्याय नपाएसम्म अनशन नतोड्ने जनाएकी छिन्। अहिले उनी २१ महिनाको छोरासहित काठमाडौंको बसन्तपुरमा अनशन बसिरहेकी छन्। निहारिकाका पाँचवटा मागमध्येमा खुलेआम हिंडिरहेको अपराधीलाई प्रशासनले पक्राउ गरी अनुसनधान गर्नुपर्ने, आरोपित श्रेष्ठसँग आफ्नो छोराको डिएनए परिक्षण गर्नु पर्ने, उच्च अदालतमा चार महिनादेखि मुद्दा दर्ता गरे पनि अहिलेसम्म मुद्दाको फैसला नभएकोले छिटो मुद्दा फैसला गर्नुपर्ने, घटनाको सुरुदेखि नै आफ्नो प्रशासनबाटै कमजोर बनाइएकोले त्यसको पुनः अनुसन्धान गरिनुपर्ने, २१ महिने छोराको हेरचाह र सुरक्षाको व्यवस्था राज्यले गर्नुपर्ने लगायतका मागहरू छन्।

यी मागमध्येमा आयोगले आरोपित श्रेष्ठको डिएनए परीक्षण गर्ने र उच्च अदालत जनकपुरलाई पेसी छिटो पेस गर्ने प्रक्रियाको लागि पहल गर्ने प्रतिबद्धता जनाएकी हुन्। अध्यक्षको प्रतिबद्धता लगत्तै निहारिकासहित आमरण अनशनमा ऐक्यबद्धता जनाएकी युवती ज्यास्मिन ओझा र देव शर्माले मंगलबार साँझ अनशन तोडेर उनको न्यायिक प्रक्रियाको लागि खट्ने जनाएका छन्।

‘यहाँ आएर न्यायको लागि जुनजुन निकायले जेजे गर्ने प्रतिबद्धता जनाएका छन्, उनीहरूलाई भेटेर निहारिकाको न्यायको लागि अघि बढ्छौं,’ अनशन तोडेपछि ज्यास्मिनले नागरिकसँग भनिन्। पाँच दिनदेखि निहारिकाको न्यायमा ऐक्यबद्धता जनाउँदै उनीहरू सँगै अनशन बसेका थिए। साढे दुई वर्षदेखि काठमाडौंमा डेरा भाडा लिएर बसेकी निहारिका न्यायका लागि निरन्तर संघर्ष गरिरहेकी थिइन्।

तर उचित न्याय पाउन नसकेपछि आमरण अनशनको बाटो रोजेको निहारिकाले बताएकी छिन्। आयोगकी अध्यक्षले भेटेपछि पनि निहारिकाले आफूले न्याय नपाएसम्म अनशन नतोड्ने अडान कायमै राखेकी छिन्। ‘ न्याय पाउनको लागि यो देशमा मर्नै पर्दोरहेछ,’ उनले भनिन्। बलात्कारको कारण गर्भवती बनेपछि आफु घरपरिवार, समाजदेखि सवै पक्षबाट बहिस्कृत भएर बाँच्नु परेको निहारिकाको गुनासो छ।

घटना २०७६ कात्तिकको हो। उनको छोरा २०७७ भदौ ५ मा जन्मियो। उनले घटनाको ४ महिनापछि धनुषाको छिरेश्वरनाथ नगरपालिका–३ बस्ने शिवराज श्रेष्ठले जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन्। उनको श्रेष्ठ उपर श्रेष्ठले आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेपछि गर्भवती बनी बच्चा जन्मिएको आरोप छ। उनको यो मुद्दाविपरीत जिल्ला अदालत धुनषाले श्रेष्यठलाई सफाइ दिएपछि उनी पुनः उच्च अदालत दिएकी हुन्।

निहारिकाका अनुसार उनी ०५९ फागुन ७ गते जन्मिएकी हुन्। तर, उनको नागरिकतामा जन्म मिति ०५६ साल असार १९ गते उल्लेख छ। अदालतले उनको नागरिकताको आधारमा नाबालिग नभएको कुरालाई आधार मानेको छ। यो मुद्दामा न्यायिक निकायबाटै सुरुदेखि नै कमजोर गराउने गरी प्रक्रिया अघि बढाइएकोले न्याय पाउन नसकेकोले घटनाको पुनः अनुसन्धान प्रक्रिया अघि बढाइ श्रेष्ठउपर कार्बाही हुनुपर्छ।

प्रकाशित: १ असार २०७९ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App