१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बाढीले बगाउने डरले मेलम्चीको पानी बन्द गर्नुपर्‍योः खानेपानी मन्त्री

खानेपानी मन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पारेका छन्।

उनले भने, 'वर्षा याममा सुरुङलाई थप क्षति हुनबाट बचाउन सकिएमा वर्षा सकिने वित्तिकै पानी संचालन गर्न सकिने, हाम्रो मन्त्रालयको योजना रहेको छ। बाढीबाट बचाउन नै मेलम्चीको पानी बन्द गरेका हौं।'

मंगलबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले सो स्पष्टिकरण दिएका हुन्। उनले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरुको सुझाव र सो स्थानमा जडित अर्लि वार्निङ सिष्टम, विज्ञहरुबाट प्राप्त सूचना र सुझावको आधारमा सो आयोजनाको पानी काठमाडौं ल्याउन वर्षा यामसम्मका लागि बन्द गरिएको जानकारी गराए।

मन्त्री चौधरीले वर्षायाम सकिने वित्तिकै सो आयोजनाको पानी काठमाडौं ल्याउने काम सुरु हुने मन्त्रालयको योजना रहेको बताए। यस अवधिमा काठमाडौंवासीलाई पानीको अभाव हुन नदिन बागमतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तर गर्ने, केयूकेएल अन्तर्गतका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्यहरु भईरहेको उनको भनाइ थियो। मन्त्री चौधरीले काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भईरहेको समेत बताए।

मन्त्री चौधरीले काठमाडौं उपत्यकाको चक्रपथ भित्र खोनपानीमा सबैको सुरक्षित पहुँच पुर्‍याउनका लागि पाईपलाईन सञ्चाल विस्तारको काम भईरहेको पनि बताए। उनले स्वच्छ खानेपानीको उपयोग गर्न पाउने नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सोही अनुसार खानेपानीको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पटकपटक दोहोर्‍याए।

प्रकाशित: ३१ जेष्ठ २०७९ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App