२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

वकिल कार्यालयमा बेहोस भएका थुनुवाको मृत्यु, छानबिन समिति गठन

जिल्ला सरकारी वकिल कार्यालय मोरङको सोधपुछ कक्षमा बिहीबार अचानक बेहोस भएका एक जना पुरुष थुनुवाको मृत्यु भएको छ।  

मोरङको केराबारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरी सोधपुछ कक्षमा लडेपछि तत्कालै विराटनगरकै कोसी अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा ठकुरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाइएका ठकुरीलाई जेष्ठ २५ गते बुधबार इलाका प्रहरी कार्यालय बेलबारीले घरबाटै पक्राउ गरेर अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालयमा पेस गरेको थियो।  

२०७८ माघमा श्रीमती सकुन्तला ठकुरीलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको हो। प्रहरीका अनुसार पक्राउ गरेर अनुसन्धान अघि बढाउने क्रममा कोरोना भाइरस पुष्टि भएसँगै पछि उपस्थित गराउने शर्तमा ठकुरीलाई माघ ४ गते हाजिरजमानीमा छाडियो।  

ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान सकिएर अदालतमा उपस्थित गराउन पुनः प्रहरीले ठकुरीलाई पक्राउ गरेको हो। त्यस क्रममा सरकारी वकिल कार्यालयको सोधपुछ कक्षमा राखिएका बेला अचानक फिँज काड्दै बेहोस भएपछि अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि उपचारका क्रममा करिब १ घण्टापछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका अनुसार शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। पोस्टमार्टम रिपोर्ट आइसकेपछि मृत्युको कारण यकिन हुने डिएसपी श्रेष्ठले बताए।

ठकुरीको मृत्यु भएपछि उनका आफन्तजनले घटना शंकास्पद भएको भनेर जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि धर्ना बस्ने कार्यक्रम तय भएपछि उनीहरुलाई वार्ताका लागि बोलाइएको थियो। ठकुरीका आफन्त र प्रशासनबीच छलफल भएपछि घटनाको सत्यतथ्य छानबिन गर्न एउटा समिति गठन गर्ने निर्णय भएको छ।  

घटनाको छानबिन गर्न मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको हो। छानबिन समितिमा केराबारी गाउँपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर लिम्बू, प्रहरी निरीक्षक मोहन पोखरेल सदस्य रहेका छन्।  

घटनाको छानबिन गरी समितिले प्रतिवेदन दिएपछि थप प्रक्रिया अगाडि बढाइने र थुनुवाको मृत्यु हुनुमा प्रहरीको कमजोरी भएको पाइएमा आवश्यक कारबाही गर्ने मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। समितिले एक साताभित्र प्रतिवेदन दिने छ।  

छानबिन समिति गठन भएपछि मृतकका आफन्तले शव बुझेर लगेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०७९ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App