१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने पत्रकारहरुलाई चौबिस घण्टे स्पष्टिकरण

निर्वाचन आयोगले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न संयुक्त रुपमा अपिल गर्ने विभिन्न संघसंगठनका पाँच जना पत्रकारहरुलाई आइतबार चौबिस घण्टे स्पष्टिकरण सोधेको छ।

आयोगले स्पष्टिकरण सोधेका संस्था र पत्रकारहरुमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शुम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपाल सचिव श्यामलाल पोखरेल छन। यी संघसंस्था र पत्रकारहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ‘गठबन्धन’लाई मत दिन संयुक्त अपिल गरेका थिए। 

पत्रकाहरुको अपिललाई लिएर आइतबार सामाजिक सञ्जालमा आलोचना भएको थियो।  आयोगले संयुक्त विज्ञप्तिप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै कुनैपनि सञ्चार प्रतिष्ठान सम्वद्ध कर्मचारी र पत्रकारले पेशागत संघ संगठनमा आवद्ध भई निर्वाचन आचारसंहिता विपरित वक्तव्य जारी गर्दा आचारसंहिता उलंघन हुन्छ हुँदैन भन्ने दलिल पेश गर्न मिल्छ, मिल्दैन? भनी प्रश्न गरेको छ। र, स्पष्टिकरण पत्र प्राप्त भएको चौबिस घण्टाभित्र संयुक्त अपिलको विज्ञप्ति हटाएर लिखित जवाफसहित आयोगमा स्पष्टिकरण पेश गर्न भनेको छ।  

आयोगले स्वतन्त्र पत्रकारहरुको संघसंगठनको अध्यक्ष/सचिवले कुनै अमुक राजनीतिक दलहरुको पक्ष विपक्षमा विज्ञप्ति जारी गर्न मिल्छ की मिल्दैन? कुनै राजनीतिक समूहप्रति पक्षधरता प्रकट गरी मतदातालाई कुनै अमुक गठबन्धनका उम्मेदवारलाई मतदात गर्न भनी विज्ञप्ति जारी गर्ने कार्य पत्रकार वा पत्रकारको संघ/संगठनको मर्यादा भित्र पर्छ, पर्दैन? लगायतका प्रश्नहरु सोधेको छ।  

शनिबार जारी संयुक्त अपिलमा ‘हाम्रो सानो भुलले देश फेरि द्धन्द र अस्थिरताको भुमरीमा जान सक्छ। त्यसैले समयमै सचेत बनौं। हामीले नसोचे कसले सोच्ने? अहिले नसोचे कहिले सोच्ने ? तसर्थ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्पष्ट रुपमा परिवर्तनका पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मत दिई विजयी बनाउन हामी हार्दिक अपिल गर्दछौं’ भनिएको छ।  

यही अपिललाई लिएर आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा टिका टिप्पणी भएका थिए। संयुक्त अपिललाई उद्रित गर्दै पत्रकार अमित ढकालले आइतबार बिहान ७ बजे टिव्ट गर्दै भनेका थिए, ‘कुरा धिधा छः कुनै दल वा गठबन्धनलाई भोट दिनुस भनेर पत्रकारले अपिल निकाल्दैनन। जस्ले निकाल्छन् ती पत्रकार हैनन।’  

अर्का पत्रकार नारायण अमृतले यसलाई ‘अर्को लज्जा’ भनेर टिप्पणी गरे भने पत्रकार गजेन्द्र बुढाथोकीले ढकालकै टिव्टमा मेन्सन गर्दै लेखेका थिए, ‘पत्रकारहरु दलको दलाली छाड्, दलका दलालहरु पत्रकारिता छाड।’  

पत्रकारिता बाहेकका पेशामा रहेकाले पनि संयुक्त अपिलमाथि टिप्पणी गरेका छन्। डा.सुधांम्शु केसीले अझ कडा शब्दमा लेखेका थिए, ‘जस्ले निकाल्छन् ती पत्रकार हैनन्,तिनका तास हुन् अथवा तिनका जागिरे हुन्।’

संयुक्त अपिलले पत्रकारहरुले निवार्चनका समयमा के के गर्न हुने र नहुने भन्ने बहसलाई फेरी सतहमा ल्याएको छ। माथि उल्लेखित बाहेकका पत्रकार तथा अन्य पेशाकर्मीहरुले संयुक्त अपिलमा विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन्।    

पाँच वटा संस्थाको संयुक्त अपिलमा संविधान, लोकतन्त्र र परिवर्तनका पक्षधर हुनुको नाताले दशेमा राष्टिय एकता कायम गर्न, संविधानको रक्षा गर्न, परिवर्तनका एजेण्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानुनी राज्यको पालतना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न मतदाताहरुलाई अपिल गरिएको उल्लेख छ। 

प्रकाशित: २५ वैशाख २०७९ १५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App