अहिले त्यसरी भित्रिएका पेपर बजारमा चलेको उनको भनाइ छ। 'हामी भ्याटमा काम गर्नेलाई समस्या परेको छ, अनुगमन र कारबाही नहुँदा तस्करले फाइदा लिएका छन्,' उनले भने, 'विदेशमा स्क्र्याप भ्यालुमा किन्ने र यहाँ जेन्युन झैं गरेर बेच्ने काम भएको छ।'
नेपाल आउने फोटो प्रिन्ट पेपर तेस्रो मुलुकको भए पनि भारतमा बनेको भन्दै भित्रिरहेको छ। यसले गर्दा फोटो प्रिन्ट पेपरबाट मात्रै सरकारले बर्सेनि करोडौं राजस्व गुमाएको व्यवसायीको भनाई छ।
मित्सुबिसी पेपरको बिक्रेता सुयोग्य इन्टरप्राइजेज प्रालिका प्रबन्धक सुमन महर्जनले भन्सारमा ठूलो त्रुटि देखिएको बताए। 'राज्यले राजस्व गुमाएको छ। वैध कारोबार गर्नेलाई असर परेको छ,' उनले भने। खुल्लमखुल्ला तस्कर गरेर आएका पेपर बजारमा बिक्री वितरण भइरहे पनि अनुगमन नभएको उनले बताए। देशका प्रायः कलर ल्याबमा त्यस्ता पेपर भेटिने उनले बताए। भन्सारले निरीक्षण नै नगरी भित्र्याउन दिएको उनको आरोप छ। 'विभिन्न पेपरको भन्सार फरक फरक छ त्यसको फाइदा लिने तस्कर भए,' उनले भने, 'सयको माललाई २० भनेर ल्याउने र बजारमा सयभन्दा बढीमा बेच्ने तर बिल आधाभन्दा कमको दिने गरेको पाइन्छ,' उनले भने।
व्यवसायीका अनुसारमा प्रत्येक महिना नेपालमा ३ हजारदेखि ४ हजार रोलसम्म फोटो प्रिन्ट पेपर राजस्व छलेर आउने गरेको छ। त्यस्तै सोही संख्यामा दुबई र अमेरिकामा मिति सकिएर फाल्नुपर्ने पेपर सस्तोमा किनेर नेपाल भिœयाउने गरेको व्यवसायीको भनाइ छ।
भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना आफ्ना कर्मचारीले भन्सारमा नै हेर्ने मिल्ने तर बजारमा गएपछि अनुगमन गर्न नमिल्ने बताउँछन्। 'हामीले भन्सारमा दरसँग मिलेको छ कि छैन त्यो हेर्ने हो। तर भन्सार पास भएर बजारमा गइसकेपछि के भएको छ भन्ने अधिकार हामीसँग छैन,' उनले भने। सूचना आए भन्सारमा नै अनुगमन गर्ने उनले बताए। 'फोटो प्रिन्ट पेपर तथ्यांकमा पनि ठूलो देखिँदैन, त्यसैले विगतमा केही छुटेको होला अब कडाइ हुन्छ,' उनले भने।
नेपालमा अहिले कोडाक, फुजी, मित्सुबिसी, चाइनिज कम्पनी लक्कीका पेपरहरु आधिकारिक रुपमा आउने गरेको छ। कोडाक पेपरको भन्सार महसुल १.३ देखि १.४ डलर प्रतिवर्गमिटर छ। त्यस्तै फुजीमा १.३२ डलर, मित्सुबिसीमा १.१ डलर, चाइनिज कम्पनी लक्कीमा १ डलर र भारतबाट आउने पेपरमा ०.५२ डलर प्रतिवर्गमिटर भन्सार महसुल लाग्छ।
बिक्रेताका अनुसार केहि व्यवसायीले महँगोमा किनेको पेपरलाई भन्सारमा सस्तोमा किनेको देखाएर नेपाली बजारमा महँगोमा बेच्ने र बिल भने सस्तोको दिने गरेको बताउँछन्।
महर्जन भन्छन्, बजारभरी भन्सार छलेर आएको त्यस्ता पेपरछन्। हामीसँग कुन कागज कुन कलरल्याबमा प्रयोग भएको छ र त्यो कसरी आएको छ त्यसको प्रमाणसहित छ, उनले भने। हामीले यसरी आउने पेपर रोक्न र कारवाही गर्न प्रमाणसहित भन्सार विभागमा निवेदन पनि दियौं तर केहि सुनवाइ भएन्। हामी आजित भएका छौं भन्सार एजेन्टले पनि हामीलाई भन्सार छलेर ल्याउन सुझाव दिन्छ, राम्रोसँग काम गर्ने वातावरण भएन्, उनले भने।
पूर्वका नाकाबाट सेटिङ मिलाएर ग्रे मार्केटका पेपर आइरहेको छ। भन्सारमा अलिकति चासो दिने हो भने नियन्त्रण हुन्छ, उनले भने।
पाँचसात सस्तो पर्ने भएकाले पानमा नै दर्ता भएका धेरै कलरल्याबले भन्सार छलेको सामान खरिद गरिरहेका छन्, अनुगमन गरेर कडाई गर्ने हो भने रोक्न सकिन्छ, उनले भने।
प्रकाशित: १३ श्रावण २०७२ २२:११ बुधबार





