१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

३३ प्रतिशत महिला उम्मेदवार नभए सामूहिक राजीनामा

स्थानीय तह निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै नेपाल महिला संघ, मोरङले विराटनगरमा प्रदर्शन गरेको छ। उम्मेदवारको मनोनयनपत्र दर्ता सुरु हुनुअघि आइतबार बिहान विराटनगरस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालय परिसरमा महिला संघले प्रदर्शन गरेको हो।

चुनावी गठबन्धनका कारण महिलाले पाउने ३३ प्रतिशत स्थान कुण्ठित हुने देखिएपछि संघले महिलाको स्थान सुनिश्चित गर्न माग गरेको छ। संविधानमा हरेका निकायमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था भए पनि राजनीतिक दलले यसलाई व्यवहारमा उतारको आरोप महिला संघको छ। प्रदर्शनमा सहभागी महिलाले संविधानले नै प्रदान गरेको ३३ प्रतिशत स्थान सुरक्षित गर्न पार्टी नेतृत्वले आनाकानी गरेका कारण आफूहरू पीडित भएको बताए। स्थानीय तह चुनावमा पार्टीले महिलालाई उपेक्षा गरे सामूहिक राजीनामा दिने चेतावनी पनि उनीहरूले दिएका छन्।  

नेपाल महिला संघ मोरङले स्थानीय तह निर्वाचनको उम्मेदवारमा प्रमुख वा उपप्रमुखमध्ये महिला एकजना अनिवार्य  हुनुपर्ने व्यवस्था लागु गर्न माग गरेको छ। गठबन्धनका नाममा महिलालाई उपेक्षा नगर्न प्रदेश १ कार्य समिति र पार्टी केन्द्रीय समितिको ध्यान आकर्षण गराएका उनीहरूले विराटनगर महानगरपालिकामा गठबन्धनको कुनै औचित्य नरहेको बताए।  

‘महिलालाई स्थानीय तह निर्वाचनको टिकट वितरणमा पक्षपात गरे सामूहिक राजीनामा दिनेछौं,’ महिला संघ मोरङकी अध्यक्ष तथा प्रदेशसभा सदस्य शान्ता रिजालले भनिन्, ‘पुरुषभन्दा सक्षम महिला धेरै हुँदाहुँदै पनि पार्टीले बेवास्ता गरेको छ। संविधानले नै दिएको अधिकार त सुनिश्चित हुनुपर्‍यो।’ कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले संयुक्त राजीनामा दिने अवस्था आउन नदिने बताए। उनले प्रदेशमा महिलाको प्रतिनिधित्व सुनिश्चित गराउने आश्वासन दिए।

सत्ता गठबन्धनमा रहेका ५ दलले पालिका बाँडफाँट गर्दा कतिपयमा महिलाको प्रतिनिधित्व हुन नसक्ने अवस्था देखिएको छ। पालिकामा गठबन्धन गर्दा प्रमुख एक पार्टीले पाउँदा उपप्रमुख अर्को पार्टीले पाउने हुँदा दुवै पार्टीबाट पुरुष सिफारिस भए महिला प्रतिनिधित्व न्यून हुन्छ।

प्रकाशित: १२ वैशाख २०७९ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App