७ वैशाख २०८१ शुक्रबार
समाज

हुम्लाका छिटुप दोर्जी बने नागरिक नायक २०७९

सामाजिक अभियन्ता छिटुप दोर्जीलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। हुम्लाको सिमकोटमा हिमालयन एजुकेशन एण्ड डिभलपमेन्ट नामक संस्था स्थापना गरेका न्यून दृष्टिविहीन छिटुप दोर्जीलाई प्रबन्धक निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली र उद्योगी दिपक मल्होत्राले संयुक्त रुपमा ताम्रपत्र र फूलमालाले सम्मान गरेका छन्। 

गाउँगाउँमा घुम्ती विद्यालय सुरु गरी दृष्टिविहीन र अपाङ्गता भएकाहरुलाई विद्यालय पठाउन अभिभावकहरुलाई प्रेरित गरे।

गाउँमै पढ्न सक्नेहरुका लागि उनले शैक्षिक सामग्री पनि उपलब्ध गराए।

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो।

कार्यक्रममा सहजकर्ताको रुपमा नेपाल रिपब्लिक मिडिया लिमिटेडका प्रधान सम्पादक गुणराज लुँइटेलले नायक न्यून दृष्टिविहीन छिटुप दोर्जीलाई उनको आगामी योजनाबारे जिज्ञासा राखेका थिए। नायक दोर्जीले समावेशी शिक्षाको मोडललाई कर्णाली प्रदेश भरी फैलाउने योजना रहेको बताए। ‘मैले गाह्रोभित्र सजिलो चिज देखेँ, त्यही भएर हुम्ला फर्किएँ,’ उनले भावुक हुँदै भने, ‘जन्मभूमिमा केही गर्न पाउँदा म निकै हर्षित छुँ।'

हुम्ला मोडलका 'हिरो'

हुम्लाबाट २०६० सालमा राजधानी आएका न्यून दृष्टिविहीन छिटुप दोर्जी सहरको सहज जीवनयापनमा रमाउँदै थिए।

सात वर्षको बसाईपछि उनलाई गाउँको सम्झना आयो। विद्यालय शिक्षा आर्जन गर्दा भोगेको दुःख र कष्ट सम्झँदा सहरको सहजता उनलाई असहज लाग्यो। त्यसैले उनी २०६७ सालमा जन्मथलो हुम्ला फर्किए। सिमकोटमा हिमालयन एजुकेशन एण्ड डिभलपमेन्ट नामक संस्था स्थापना गरे।

गाउँगाउँमा घुम्ती विद्यालय सुरु गरे। दृष्टिविहीन र अपाङ्गता भएकाहरुलाई विद्यालय पठाउन अभिभावकहरुलाई प्रेरित गरे।

गाउँमै पढ्न सक्नेहरुका लागि उनले शैक्षिक सामग्री पनि उपलब्ध गराए।

आफूले भोगेका दुःख कष्ट अल्पदृष्टि भएका, दृष्टिविहीन र अपाङ्गता भएकाले भोग्न नपरोस भन्ने उनमा भित्री चाहना थियो।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको कठिन भौगोलिक बनावटले सामान्य मान्छेलाई समेत हिँड्डुलमा समस्यामा पर्छ। यस्तो भूगोलमा अपाङ्गता भएका र दृष्टिविहीनलाई विद्यालयको पहुँचसम्म पुर्‍याउन उनले ठूलो चुनौतीको सामना गरेका थिए। किनकी छिटुपका दुवै आँखा जन्मदै कमजोर भए। साँझबिहान र नयाँ ठाउँमा उनलाई निकै समस्या हुन्छ, आँखाले देखेरभन्दा पनि उनी आवाजको भरमा  धेरै काम गर्छन्।  

छिटुपले सदरमुकाम सिमकोटमा दृष्टिविहीन र अपाङ्गता भएकाहरुका लागि सक्षम आवास गृह स्थापना गरे।

आवास गृहमा अहिले ४५ जना बालबालिका छन्। उनीहरु नजिकैको सामुदायिक विद्यालयमा निःशुल्क पढ्छन्।

हुम्लामा दृष्टिविहीन लामाले फैलाइरहेको शिक्षाको ज्योतीले अनकन्टारमा केही उज्यालो छाएको छ।

लामाको विगत पनि कष्टकर थियो। एसएलसी उत्तीर्ण भएको दुई वर्षपछि काठमाडौंमा पाइला टेकेका उनले बल्ल ब्रेललिपी छुन पाएका थिए। उनकै पहलले हुम्लाका बालबालिकाले त्यो समस्या भोग्नु परेको छैन।

शैक्षिक वर्षको सुरुवातमा उनी हुम्लाका सात वटै गाउँपालिकाका सबै वडाहरुमा अपाङ्गता भएका बालबालिकाहरु पहिचान गर्छन्।

तीन महिनादेखि छ महिनासम्म घरमै पुगेर तालिम दिन्छन्। घुम्ती विद्यालय सञ्चालन गर्दा कुन बालबालिकालाई कस्तो खालको शिक्षण आवश्यक पर्छ भन्ने उनलाई थाहा हुन्छ।

तालिमपश्चात समुदायमै रहेका विद्यालयमा जान सक्नेहरुलाई त्यहीँ भर्ना गरेर आवश्यक सामग्रीहरु दिन्छन्।

छिटुपकै पहलमा अपाङ्गता भएका तथा दृष्टिविहीन सात सय बालबालिकाहरु विद्यालयको पहुँचमा छन्।

छिटुप आफूले गरिरहेको कामलाई हुम्ला मोडल भन्छन्। यो मोडललाई प्रदेशभर लागू गर्ने उनको लक्ष्य छ। हुम्ला मोडलको हिरोलाई नागरिक नायकको रुपमा सम्मानित गर्न पाउँदा हामी हर्षित छौं।

प्रकाशित: ११ वैशाख २०७९ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App