४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरलाई पैदल र साइकलमैत्री शहर बनाइने

प्राकृतिक र सांस्कृतिक रूपमा धनी भक्तपुरलाई एक विश्व प्रख्यात सानदार पैदल र साइकलमैत्री शहर बनाइने भएको छ। पैदल र पैदलमैत्री शहर भन्ने मुल भावनासँगै ६ महिना अगाडि गठन भएको साइकल कनेक्ट भक्तपुर समूहले यसका लागि अभियान थालेको हो।  

समूह गठनको २५ औँ शृंखलाको अवसरमा गरेको अर्धवार्षिक समिक्षा कार्यक्रममा समूहका अध्यक्ष सुमित बालाले साइकल संस्कृतिलाई व्यापक बनाइने बताए। न्यूनतम लगानी, अधिकतम प्रभावको रणनीति बनाइ १३ महिला र एक सय ७९ पुरुष गरी जम्मा एक सय ९२ जना साइकलप्रेमीलाई समूहमा जोड्न सफल भएको र यसले जोडतोडले काम गरिरहेको उनले सुनाए।

आगामी दिनमा बालदेखि प्रौढसम्म सबै मानिसहरूलाई जोड्न सक्ने साइकललाई रचनात्मक ढंगले नयाँनयाँ कार्यक्रम गर्दै साइकल संस्कृतिलाई व्यापक बनाउन धेरै योजना साइकल कनेक्ट भक्तपुरसगँ रहेको उनले बताए। अहिलेसम्म भएका गतिविधिहरू समेतिएको अर्धवार्षिक समिक्षा प्रतिवेदन पेश गदै यसरी नै जोश र उमंगसहित सबै सदस्यहरू लागिपरे आफनो लक्ष्य पूरा हुनेमा उनले विश्वास लिए।  

भक्तपुरमा साइकल संस्कृति प्रवर्धन गर्न समूह गठन भएदेखि समूहले अभिनव तथा सक्रिय संस्कृति, अनुशासन तथा विकास र सहयोगी मानसिकतालाई आफ्नो मुल मान्यताको रूपमा अंगिकार गर्दै निरन्तर रूपमा हरेक हप्ता कम्तीमा एउटा साइकल सम्बन्धि कार्यक्रम गर्दै आइरहेको उनले जनाए।

समूहका उपाध्यक्ष बिकेश थुसाले अबको दिनमा कम्तीमा भक्तपुर नगरभित्र पैदल र पैदलमैत्री वातावरण बनाउन सम्बन्धित निकायहरूसगँ छलफल गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे। समूहका सचिव रिचिन दुवालले हालसम्म समूहले देशभर आफ्नो कार्यक्रम र गतिविधि फैलाउन सफल भएकोले आउने दिनमा पनि समूहले मिडियाको सही सदुपयोग गरी युवा तथा विद्यार्थी वर्गलाई साइलकिङको माध्यमबाट स्वास्थ, अनुसाशन र वातावरणमैत्री मार्गमा अगाडि बढ्न प्रेरित गर्ने किसिमको कार्यक्रमहरू तय गर्नुपर्ने बताए।  

समूहका सदस्य रितेश मचामसीले पहिले एक्लै साइकल चलाउँदा र अहिले समूह गठन गरेर विभिन्न कार्यक्रम गर्न पाउँदा आफुलाई पनि धेरै हौसला मिलेको कुरा राखे। समूहको कार्यक्रममा नियमित सहभागीता जनाउने पोखरा घर भइ हाल बालकोट निवासी सुशील पौडेलले अगामी गतिविधिको लागि शुभकामना व्यक्त गरे।  

भर्खर मात्र साइकलमा मेची–महाकाली एकल साइकल यात्रा सफलताका साथ सकाएकी समूहकी सल्लाहकार निरू चवालले महिलाहरू यस क्षेत्रमा निक्कै कम भएको तर साइकल कनेक्ट भक्तपुरको कार्यक्रमहरूमा महिला पुरुष मात्र नभइ सिकारूदेखि नियमित साइकलिष्ट सबैले भाग लिएर एक अर्काको अगाडि बढ्न टेवा पुराएकोमा खुसी व्यक्त गरिन्। महिलामैत्री कार्यक्रमहरू गर्दा अझ धेरै महिलाहरू माझ समूहको गतिविधि वृद्धि गर्न सकिने विचार उनले व्यक्त गरिन्।  

समूहका सल्लाहकार सुनिल ख्याजु, कोरोना र लकडाउन पश्चात मानिसहरू स्वास्थप्रति अझ सजग भइ साइलिङमा आकर्षित भएको र साइकल कनेक्टको गतिविधिले अझ यसमा बढोत्तरी गर्न सफल भएको बताए। अर्का सल्लाहकार शिवराम तुईतुईले भविष्यमा अझ विविध र नविन तरिकाको कार्यक्रम ल्याउन आवश्यक रहेको बताए। समूहका सल्लाहकार कृष्णभक्त दुवालले कोरोना माहामारी साम्य हुने क्रममा रहेकोले नेपालमा विदेशी तथा स्वदेशी पर्यटनमा वृद्धि हुनसक्ने देखिएकोले दिगोपनलाई ध्यानमा राखेर साइकललाई पर्यटन र विभिन्न आर्थिक गतिविधिसगँ जोड्न सकिने विचार राखे। समूहका अर्का सल्लाहकार गणेशप्रसाद दुवालले आफुले नियमित साइलिङ गर्न शुरू गरेपछि गाडीमा भन्दा साइकलमा नै घुम्न रूची बढेको साथै साइकल कनेक्टको कार्यक्रमहरूले गर्दा भक्तपुरमा धेरै लुकेका प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरू घुम्ने मौका मिलेको बताए।  

कार्यक्रममा साइकल कनेक्ट भक्तपुरको प्रतिनिधित्व गरी भक्तपुरको चिनारी लिएर देशभर विभिन्न साइकलिङ कार्यक्रम तथा प्रतियोगितामा सहभागी हुने समूहका सदस्य सुनिल न्यौपाने, दीपक खड्का, विकास केसी, अलिश गोसाइ, रितेश मचामसी, रियाज कर्मचार्य, निरू चवाल, पुजन शाक्य, विकास भैल, विश्वमोहन साख, साइकल केनेक्टका टप ३ राइडर्स जीवन वातांकक्षी, बिकेश थुसा, सुमित बाला तथा साइकल कनेक्टका दैनिक तथा साप्ताहिक गतिविधि आफ्नो अमूल्य ज्ञान र समय दिएर समूहलाई जीवन्त राख्न मद्दत गर्ने रियाज कर्माचार्य, निशान त्वायना, रिचिन दुवाल र निर्जला कोजूलाई समहकोतर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।  

नयाँ खेल सांगितिक साइलिङलगायत स्लो साइकलिङ प्रतियोगिता र साइकल बोक्ने दौड प्रतियोगिता आयोजना गरिएको थियो। उक्त प्रतियोगिताका बिजेताहरूलाई नेपाल इको प्यानल, जुजु बाइक्स तथा प्याङ्क बाइककोतर्फबाट पुरस्कार प्रदान गरी कार्यक्रम समापन गरिएको थियो।  समिक्षा अगाडि भक्तपुरको वाचु टोल इनाचो भक्तपुरबाट मालीगाउँसम्म बिहान साइकलिङ गरिएको थियो।

प्रकाशित: ६ चैत्र २०७८ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App