१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

होलीमा व्यापक ट्राफिक उल्लंघन

काठमाडौं उपत्यकामा होलीलाई लक्षित गरी मापसे जाँच गर्दै ट्राफिक प्रहरी। तस्बिरः नागरिक

विगत दुई वर्ष घरभित्रै थन्किएर बसेका र सीमित घेरामा होली मनाएका राजधानीवासी यसपटक खुलेर बाहिर निस्किए। विशेषगरी युवायुवतीहरू घरबाहिर निस्किएर होलीमा खुब रमाए। राजधानीका बसन्तपुर, न्युरोडलगायतका क्षेत्रहरूमा यसपटक होली मनाउने निकै ठूलो भीड लागेको थियो।

बिहीबार राजधानीवासीले यसरी होली मनाउँदा ट्राफिक नियमको पनि चरम उल्लंघन गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अन्य दिन छिटफुट ट्राफिक नियम उल्लंघनका घटना हुने गरेका थिए। तर बिहीबार झण्डै ५ सय सवारीसाधनले नियम उल्लंघन गरेका छन्। जसमा बहुसंख्यक दुईपाङ्ग्रे सवारी साधन छन्। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासका अनुसार पाँच बजेसम्म ४ सय ९९ सवारीसाधन ट्राफिक प्रहरीले ‘होल्ड’ मा लिएको थियो। त्यसमा ४ सय ७३ दुईपाङ्ग्रे (मोटरसाइकल र स्कुटर) हुन् भने, २६ वटा चारपाङ्ग्रे रहेको प्रवक्ता शर्माले बताए।  

होल्डमा लिइएका सवारीसाधनमा दिउँसै मादक पदार्थ सेवन गरेर चलाएका, जथाभावी क्षेत्रमा चलेका, तीव्र गतिमा हिँडेका, क्षमताभन्दा बढी यात्रु बोकेका, कागजात नरहेका र हेलमेटविनै हिँडेका सवारी साधनहरू रहेको उनले जानकारी दिए। उनका अनुसार २६ जना मादक पदार्थ सेवन गरेर चलाउने चालक थिए।  

‘ट्राफिक नियम उल्लंघन गरेर चलेका सवारीसाधन होल्डमा लिएका छौं,’ उनले भने, ‘भोलि (शुक्रबार) कागजात ल्याएर आउनेलाई कारबाही गरेर छाड्छौं।’  

एकैदिन यति ठूलो मात्रामा ट्राफिक नियम उल्लंघनको संख्या सामान्य दिनभन्दा अत्याधिक बढी रहेको प्रवक्ता शर्मा बताउँछन्। उनले भने, ‘अन्य दिनमा यति धेरै ट्राफिक नियम उल्लंघन हुँदैन, चाडबाडका दिनमा मात्रै हो।’  

चाँडवाडको दिनमा विदाको दिन र खुला सडक भएकाले मात्तिएर ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बढ्ने गरेको उनले बताए। ‘हामीकहाँ चाँडवाडमा मादक पदार्थ खानैपर्ने, खाएपछि घरबाहिर सवारीसाधन लिएर निस्कनैपर्ने र खुला सडकमा बेपरवाह हुँइकिने प्रवृत्ति छ। यही कारण ट्राफिक उल्लंघनका घटना चाँडवाडमै बढी हुने गरेका छन्,’ शर्माले भने।  

अघिल्ला दुई वर्ष कोभिड–१९ संक्रमणको जोखिम भएकाले होलीमा तडकभडक नियन्त्रण गरिएको थियो। यस वर्ष भने जोखिम कम भएकाले ‘निस्फिक्री’ भएर होली मनाएका छन्।  

यही कुराको प्रहरीले पनि पूर्वानुमान गरिसकेको थियो। सोहीअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय र महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि नै सचेत भएर तयारी तयारी थालेका थिए।  

नेपाल प्रहरीले ‘होली पर्व सुरक्षा योजना २०७८’ बनाएर सोहीअनुसार प्रहरी परिचालन गरेको थियो। महानगरीय प्रहरी कार्यालयल काठमाडौं उपत्यकामा तीन हजार पाँच सयभन्दा बढी प्रहरी खटाएको थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट उपत्यकाका ६८ ठाउँमा चेकिङ गर्ने व्यवस्था मिलाएको थियो भने महानगरीय अपराध महाशाखाले पनि होलीमा हुनसक्ने सम्भावित जोखिमलाई निगरानीमा राख्न सादा पोशाकमा प्रहरी परिचालन गरेको थियो।  

विगतका होलीमा विशेषगरी बटुवा र पर्यटकलाई अनिच्छित रूपमा रङ दल्ने, लोला हान्ने, हिलो छ्याप्ने, होलीमा रङ दल्ने बहानामा यौनजन्य हिंसा गर्ने समस्या देखिने गरेका थिए। यसबाहेक मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, जसले सडक सुरक्षामा समेत समस्या निम्त्याउने गरेको छ। यही कुरालाई मध्येनजर गरेर प्रहरीले पूर्वतयारी गरेको थियो।  

यद्यपि यस वर्षको होलीमा उपत्यका क्षेत्रमा ट्राफिक उल्लंघनका घटनाबाहेक अन्य ठूला घटना नभएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। उनले भने, ‘प्रहरीले चुस्तताका साथ सबै ठाएँमा ड्युटी गर्‍यो। समग्रमा ट्राफिक उल्लंघनका घटनाबाहेक अन्य घटना यसपटक खासै देखिएनन्।’  

यस वर्षको होली उपत्यका बाहेक अन्य पडाडी जिल्ला तथा सहरहरुमा पनि उत्साहजनक रुपमा मनाइएको समाचार छ।

प्रकाशित: ४ चैत्र २०७८ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App