६ वैशाख २०८१ बिहीबार
समाज

महिलाले उभ्याए सूर्यमढीको ब्रम्हायणी मन्दिर

पछिल्लो एक हप्ता अगाडिदेखि तपाई भक्तपुरको सूर्यमढी पुग्नुभएको छ भने एउटा रमाइले दृश्य देख्नुहुनेथ्यो, त्यो हो दर्जनौ महिलाहरु लहरै मन्दिर टुप्पोसम्म पुगेर मन्दिर बनाउँंदै गरेको।

भक्तपुर नगपालिका वडा नं ९ सूर्यमढी (दतात्रयबाट दुई सय मिटर पूर्व च्याम्हासिंह जाने मुख्य बजारको बाटोमा) महिलाहरुले लहरै बसी स्थानीय ब्रम्हायणी मन्दिरमा छाना छाउन माटो सार्दै गरेको रमाइले दृश्य देखिएको थियो।

ब्रम्हायणी द्योछें (देवता घर) छाना पुननिर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिका अनुसार झण्डै दस दिनदेखि दैनिक दुई दर्जन स्थानीय महिलाहरुले मन्दिरको छाना छाउन सहयोग गरिरहेका छन्। दैनिक फरकफरक टोलका स्थानीय महिलाहरु आइ स्थानीय मन्दिरको छाना बनाउन निःशुल्क श्रमदान गरिरहेको प्रजापतिले जनाए।

‘श्रमदानका लागि हामीले टोलका ठाउँं-ठाउँंमा सहयोगका लागि पम्लेटिंग गरेका थियौं, अध्यक्ष प्रजापतिले नागरिकसँंग भने, ‘यँही आधारमा दस दिन अघिदेखि दैनिक फरकफरक टोलका स्थानीय महिलाहरु दुई दर्जनको संख्यामा मिलेर श्रमदान गरिरहेका छन्।’ उनका अनुसार उनीहरु स्वतस्फुर्ट रुपमा मिलेर आएर सहयोग गरिरहेका हुन्।  

जनाइए अनुसार उनीहरु खाना खाएर श्रमदानमा जुट्छन्। दिउँंसो खाजा खाने समयमा उनीहरुलाई एक घण्टा छोडिदिन्छन्। अनि आआफ्नो घरमा पुगेर खाजा खाएर आई फेरि साँंझसम्म श्रमदानमा जुट्छन्। श्रमदानमा आउनेहरुलाई स्थानीयले दिएका खानेकुरा सहयोग जस्तै कहिलेकाही दही ल्याइदिने गर्दा भने मिलाएर खुवाउने गरिएको छ।

उपभोक्ता समितिका अध्यक्ष प्रजापतिले अवको एक दुई दिनमै मन्दिरको छाना छाउने काम सम्पन्न हुने जनाए। करिव चार लाखको लागत इष्टमेटबाट मन्दिरको छाना छाउने कार्य अन्तिम चरणमा पुगेको प्रजापतिले सुनाए। स्थानीय मठमन्दिर, पाटीपौवालगायतका सार्वजनिक सम्पति मर्मतसुधार, जिर्णाेद्धारमा स्थानीयले जनश्रमदान गर्ने परम्परा चल्दै आएको भक्तपुरमा ब्रम्हायणी मन्दिर बन्दा पनि यही क्रम भएको उनको भनाई छ।

काममा जुट्दै गरेकी स्थानीय ६१ वर्षीया दुर्गेश्वरी साँंयजूले टोलबासीहरुको सल्लाह अनुसार दिनदिनै फरकफरक टोलका महिलाहरु जनश्रमदानमा जुटने सल्लाह अनुसार काममा आएको सुनाइन्। आफनो टोलको मन्दिर बनाउन आफनो पनि योगदान होस् भनेर आफू निःशुल्क रुपमा एक दिन जनश्रमदानमा खटन आएको उनले सुनाइन्।

भक्तपुर नगरमा प्रायजसो सबै सम्पदा पुननिर्माणलगायतका कामहरु उपभोक्ता समितिबाट हुने गर्दै आएको छ। ठेक्कापटाबाट नभई उपभोक्ता समितिबाट काम हुने गरेकाले आवश्यक परेको बेला नगरवासीहरु यसरी नै जनश्रमदानमा जुट्ने गर्दै आएको छ। यसबाट लागत इष्टमेट भन्दा कममै काम सम्पन्न हुने गरेको छ।

प्रकाशित: २ चैत्र २०७८ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App