२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सार्वजनिक स्थानमा फागुको तयारी

प्रहरीको विशेष सुरक्षामा, ६८ वटा विशेष चेक प्वाइन्ट

माया, प्रेम र सद्भाव फैलाउने पर्व फागु पूर्णिमा बुधबार उपत्यकालगायत पहाडी भेगमा र बिहीबार मधेशमा मनाइँदै छ। फागुमा कुनै अप्रिय घटना नहोस भनेर प्रहरीले विशेष सुरक्षाको व्यवस्था गरेको छ।

एक आपसमा रङ र अबिर दलेर मनाउने यस पर्वमा इच्छा विपरीत बलजफ्ती कसैलाई रङ नलगाउन प्रहरीले आग्रह गरेको छ। होली पर्व मनाउने नाममा कोही कसैलाई इच्छा विपरीत रंग/अबिर नदल्न, लोला नहान्न तथा होहल्ला गर्ने कार्य नगर्न र जबर्जस्त गर्ने जस्ता अमर्यादित व्यवहार नगर्न प्रहरीले आमनागरिकलाई सचेत गराएको छ।  

यस्ता गतिविधी कानून विपरीत भएकाले त्यस्ता क्रियाकलाप रोक्न सबैको सहयोगको अपेक्षा गरेको छ। यस्तै यात्रामा निस्किएका व्यक्तिहरू, बाटामा हिंडिरहेका महिला तथा बालबालिकाहरूलाई होलीको नाममा दुख दिने तथा हैरानी दिने गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।

होलीकै लागि भनेर महानगरीय प्रहरीले उपत्यकामा  विशेष सुरक्षा अभियान चलाएको छ। फागुको व्यवस्थापनका लागि काठमाडौंबाट १ हजार ७ सय, ललिपतुरबाट ६ सय र भक्तपुरबाट ४ सय प्रहरी फागुका लागि परिचालन गरिएको  प्रहरी उपरिक्षक सुशिलसिंह राठौरले जानकारी दिए।

यस्तै ट्राफिक प्रहरीबाट एसपीको नेतृत्वमा ६८ वटा ठाउँमा विशेष चेक प्वाइन्ट राखिने राठौरले जानकारी दिए। काठमाडौँको वसन्तपुर, ठमेल, असन, नयाँ बानेश्वर, क्षेत्रपाटी, सामाखुसी, गोगंवु, लैनचौर, नयाँ बजार लगायतका दर्जनभन्दा बढी ठाउँमा होलीको कार्यक्रम हुने जानकारी आएको प्रहरीले जनाएको छ।

त्यस्तै ललितपुरको गोदावरी बसपार्क, महालक्ष्मीस्थान, भैँसेपाटी र भक्तपुरको सल्लाघारी लगायतका स्थानमा  कार्यक्रम हुनेछ। ‘सभ्य र मर्यादित ढंगले कार्यक्रम सञ्चालन हुने विश्वास लिएका छौं,’ प्रवक्ता राठौरले भने, ‘कोभिड नसकिएकाले स्वस्थ्य मापदण्डको पनि पालना हुने विश्वास लिएका छौं।’

प्रकाशित: २ चैत्र २०७८ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App