१६ चैत्र २०८० शुक्रबार
समाज

दक्षिण एसियाली महिला सम्मेलन सुरु

उपराष्ट्रपति नन्दबहादुर पुनले महिला र बालबालिकाले शोषण र हिंसा भागिरहनुपर्ने अवस्था आउनु दुःखद् रहेको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, महिला गैरसरकारी संस्था महासंघ र एभ्री वुमन संस्थाको संयुक्त आयोजनामा मंगलबारबाट राजधानीमा सुरु भएको दक्षिण एसियाली महिला सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले घरेलु हिंसाबाट पीडितमध्ये ७० प्रतिशत महिला आफन्तबाटै घरेलु हिंसाको शिकार हुनुपरेको बताए।  

अशिक्षा, अज्ञानता, बेरोजगारी, गरिबी  र विभिन्न प्रकारका द्वन्द्व, जलवायु परिवर्तन, कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताउँदै  उपराष्ट्रपति पुनले विभिन्न मुलुकबीचको अन्तर्राष्टिय रुपकै सहकार्यबाट मात्रै विश्वबाट महिला हिंसाका घटनाहरु न्यूनीकरण गर्न सकिने जनाए।  नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिकाको हक कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदै उनले यस सम्मेलनले महिला शसक्तीकरण र महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि दक्षिण एसियाबाट पहलकदमी सुरु गर्ने बताए।  

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर थापा मगरले महिला र बालबलिकामाथिको हिंसा अन्तर्राष्ट्रिय रुपमै ब्याप्त भएकाले यसको न्यूनीकरणमा अन्तर्राष्ट्रिय रुपमै पहल जरुरी रहेको आवश्यकता महशुश गरे। महिला र बालबालिकामाथि हुने हिंसाविरुद्ध विभिन्न कानुन बनेपनि तिनको प्रभावकारी कार्यान्वयनका लागि सरकारका निकायले आआफ्नो भूमिकालाई अझै बढाउनुपर्ने उनले जनाए।  

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला हिंसा अन्त्य अति आवश्यक भएको बताइन्। महिला तथा बालबालिकामाथिको हिंसामा पनि पछिल्लो समय यौनजन्य हिंसा बढेको उनले बताइन्।  

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापाले महिला हिंसा मानव अधिकारको हनन् भएकाले यस्ता हिंसालाई अन्तर्राष्ट्रिय रुपमै सम्बोधन गरी न्यूनीकरणमा सबैले एक्येवद्धता जनाउनु जरुरी रहेको बताइन्।  

कार्यक्रमको मुख्य वक्ताकी रुपमा रहेकी भारतीय मानवअधिकारकर्मी एवं वातावरणविद् डा.बन्दना शिवाले महिलाहरु आर्थिक रुपमा शसक्त हुन सके कुनै पनि हिंसा सहेर बस्न नपर्ने बताइन्। कुनै पनि महिला र बालबालिकामाथिको हिंसा भनेको समाजमाथिकै हिंसा रहेको जनाउँदै अधिकारकर्मी डा. शिवाले यसको अन्त्यका लागि एक विश्वब्यापी नीति नियमको आवश्यकता रहेको बताइन्।

दक्षिण एसियाकी प्रसिद्ध लेखक एवं भारतीय महिला अधिकारकर्मी मीरा खन्नाले विश्वमै महिला तथा बालबालिकामाथिको हिंसा बढिरहेता पनि नीति निर्माण तहको ब्यक्तिको अझै पनि ध्यान जान नसकेको जनाइन्। सार्कका महासचिव इसाला रुवान विराकुनले विभिन्न किसिमका विभेदले नै महिलामाथिको हिंसा निम्त्याएको बताए। सम्मेलन बुधबारसम्म चल्नेछ।

सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतका महिला अधिकारकर्मी, लेखक, मानव अधिकारकर्मीहरुले विभिन्न विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको दक्षिण एसियाली महिला पत्रकार सञ्जाल नेपालका अध्यक्ष निर्मला शर्माले जानकारी दिइन्।

सम्मेलनको पहिलो दिनको दोस्रो सत्रमा महिला तथा किशोरीमाथिको हिंसा न्यूनीकरणमा सरकारी एवं गैरसरकारी संस्थाले के गरिरहेको छ र के गर्दा बढी प्रभावकारी हुन्छ भन्ने विषयमा अफगानिस्तान, बंगलादेश, नेपाल, भारत, पाकिस्तान, श्रीलंकाका प्रतिनिधिले आफ्नो प्रस्तुति दिए। राष्टिय योजना आयोगकी सदस्य सलोनी सिंहको सभापतित्वमा भएको कार्यक्रममा नेपालकोतर्फबाट महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष शशी अधिकारीले नेपाल ब्याप्त विभिन्न हिंसालाई न्यूनीकरण गरि यसविरुद्ध विश्वब्यापी पहल आवश्यक रहेको बताइन्।  

प्रधानमन्त्री कार्यालयका सहसचिव कोशल चन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न दोस्रो सत्रमा जलबायु परिवर्तन र महिलाविरुद्धको हिंसा, कोभिड र बढ्दो हिंसा, दिगो विकास लक्ष्य हाशिल गर्न महिला तथा किशोरीविरुद्धको हिंसा सम्बोधन जरुरी, महिलाविरुद्ध हिंसामा वैश्विक दृष्टिकोणलगायतका विषयमा प्रस्तुति रह्यो।  

सम्मेलनको दोस्रो दिनमा युद्धले हिंसा बढाउँछ, सिड, महिला र किशोरीविरुद्धको हिंसाले स्वास्थ्यमा असरलगायतका विषयमा विभिन्न विज्ञको प्रस्तुति रहेको छ।

प्रकाशित: १ चैत्र २०७८ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App