coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खेती लगाउन कालापहाडबाट फर्कंदै जुम्ली

रोजगारीका लागि भारत पसेका जुम्ली फर्कने क्रम सुरु भएको छ। नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लाबासीको दैनिक घुइँचो लाग्न थालेको छ। गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन्।

दसैंलगत्तै कालापहाड पसेका जुम्लावासी फागुन लागेपछि घर फर्कन थालेका हुन्। ‘घरमै बसौं, रोजगारीका अवसर छैनन्। बेरोजगार भएर नांगो परिवारलाई टुलुटुलु हेरेर बस्न सकिने अवस्था हुँदैन,’ स्थानीय बिर्खबहादुर बुढाले भने, ‘कालापहाड रहर होइन, बाध्यता हो।’

हिउँदको सिजनमा खेतीपातीका लागि कुनै काम हुँदैन। बालीनाली लगाउन फागुनमा उनीहरू फर्कने गर्छन्। घर फर्कंदा सीमा नाकामा निकै सास्ती खेप्नुपरेको गुनासो उनीहरूको छ। जुम्लाका एक नगरपालिका र सातवटै गाउँपालिकाबाट युवा जनशक्ति कालापहाड जाने गरेका छन्।

बिर्खबहादुरले भने, ‘कर्णालीका सबैजसो जिल्लाबाट मजदुरीका लागि कालापहाड जाने गरिन्छ। भारतका अधिकांश सहरमा कर्णालीवासी भेटिने गरेका छन्।’ कर्णालीबाट बर्सेनि हजारौं युवा कालापहाड यात्रामा जाने गरेका छन्। ‘अर्काको देशमा काम गर्दाको पीडा त छँदैछ,’ सिँजा गाउँपालिका–६ का नरबहादुर बुढाले भने, ‘हरेक वर्ष सिमानामा निकै सास्ती हुने गरेको छ। 

कालापहाडमा चार महिना लगाएर कमाएको रकम सीमा नाकामा रहेका भारतीय सुरक्षाकर्मीले डरधम्की दिएर असुल्ने गरेका छन्।’ घर पुगिन्छ भनेर खुसी मुद्रामा फर्केका नेपालीले सिमानामा सास्ती बेहोर्नुपरिरहेको दुखेसो गरेका छन्।

प्रदेश सरकारले कर्णालीका जनताका लागि प्रदेशमै रोजगारी सिर्जना गर्ने कुरा भाषणमै सीमित छ। नरबहादुरले भने, ‘सरकार आश्वासन मात्र दिन्छ, रोजगारी दिँदैन। बाटोमा आफ्ना नागरिक लुटिँदा हेरेर बस्छ।’

कालापहाडबाट फर्किनेलाई अटोरिक्सावालाले पनि दोब्बर भाडा असुलेर ठग्छन्। ‘बर्सेनि कालापहाड जान्छौं, ज्याला मजदुरी गर्छौं। कालापहाडमा कमाएको पैसाले परिवारको लुगाफाटो फेर्छौं। तर पनि सुखशान्तिपूर्वक बस्न पाउँदैनौं,’ भारतबाट फर्किंदै गरेका हरि रावतले भने, ‘घरमा बसेर खानाखर्च र लुगाफाटो फेर्न सकिँदैन।

बाध्यताले कालापहाड हानिन्छौं। घरमा हिउँदको महिना खाली बस्नुभन्दा कालापहाडमा गएर काम गरेर रुपैयाँ कमाएपछि परिवारको लुगाफाटो फेर्न सकिने अवस्था रहन्छ। ’कालापहाड गएका कर्णालीवासी फर्किन थालेपछि कर्णाली राजमार्गमा चल्ने सवारीलाई यात्रु बोक्न भ्याइनभ्याइ छ। सुनसान गाउँमा अहिले चमक देखिएको छ।' 

कालापहाडमा मजदुरी गर्दा निकै कष्ट हुने गरेको छ। कुनै पनि स्थानीय सरकारले युवाको रोजगारीका लागि नयाँ कार्यक्रम ल्याएका छैनन्। व्यवस्था परिवर्तन भए पनि सर्वसाधारणको अवस्था फेरिएको छैन। यहाँबाट रोजगारीका लागि पुरुषहरू कालापहाड जान्छन् नै। त्योसँगै कतार, दुबई, मलेसिया लगायत मुलुकमा समेत यहाँबाट युवा रोजगारीका लागि जाने गरेका छन्।

गाउँमा आउने विकास निर्माणका काम पहुँचवालाको हातमा जान थालेपछि सर्वसाधारण कालापहाड रोज्न विवश छन्। यहाँका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो। युवा जनशक्ति भारतमा जान थालेपछि गाउँमा बालबालिका, महिला र बुढाबुढीमात्र छन्। गाउँमा जिउँदाको जन्ती र मर्दाको मलामी जाने मान्छेसमेत भेटिँदैन।

अहिले संघीयता कार्यान्वयनपछि गाउँगाउँमा स्थानीय सरकार छन् तर स्थानीय सरकार पहुँचवालाका लागि मात्र छन्। न कुनै रोजगारीको अवसर सिर्जना गर्छन् न त जनमुखी कुनै कार्यक्रम ल्याउँछन्। चिल्ला गाडी चढ्नेदेखि व्यक्तिगत स्वार्थमा लिप्त छन्।

प्रकाशित: २९ फाल्गुन २०७८ ००:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App