३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

गरिबीबाट मुक्ति पाउन सपरिवार आत्महत्या प्रयास!

गरिबीबाट मुक्ति पाउन राजधानी काठमाडौंमा बसोबास गर्ने एक परिवारका सबै सदस्यले सोमबार राति एकसाथ विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरे। तर एकैसाथ आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन।

विष सेवन गरेकामध्ये एकजनाको मृत्यु भयो, चारजनाको अवस्था गम्भीर छ। प्रहरीले जनाएअनुसार काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित रामकोट डाँडापौवामा डेरामा बस्ने ३८ वर्षीय भीममान प्रधानको परिवारको कथा हो यो।

काठमाडौं महानगरपालिका–१५ डल्लु स्थायी ठेगाना भएका प्रधानको परिवारका पाँचजना डाँडापौवामा डेरामा बस्न पुगेका थिए। महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीका अनुसार गरिबीबाट पार लाग्ने उपाय फेला नपारेपछि उनीहरू सपरिवार आत्महत्या गर्ने निर्णयमा पुगेका हुन्। ‘उहाँहरूको यो किसिमको अवस्था देख्दा हामीले पनि चित खाएका छौं।

गरिबीका कारण यस्तो अप्रिय निर्णय लिनु निकै चिन्ताजनक छ,’ उनले भने, ‘गरेको काम सफल नहुने र परिवारका मुख्य सदस्य नै बिरामी भइरहने समस्या रहेछ। त्यसैकारण सामूहिक आत्महत्या गर्ने अवस्थामा पुग्नुभएको रहेछ।’

प्रहरी नायब उपरीक्षक केसीका अनुसार भीममानको परिवारमा पत्नी ३३ वर्षीया मन्दिरा, ६३ वर्षीया आमा इन्द्रमाया, ११ वर्षीया छोरी सुब्रिना र २८ वर्षीय भतिजा सुवर्णमान छन्। उनीहरूमध्ये भीममान डिप्रेसन र इन्द्रमाया क्यान्सरपीडित रहेछन्। सुवर्णमान सुस्त मनस्थितिका रहेको प्रहरी नायब उपरीक्षक केसीले बताए।

घरका कामकाजी सदस्यले गरेका काम सफल नहुने र कमाएको पैसाले उपचार खर्च नै नभ्याउने भएपछि यस्तो कदम चाल्न बाध्य भएको बाँचेकालाई उद्धृत गर्दै केसीले बताए। ‘भीममान केही समय पहिलासम्म ट्याक्सी चालक रहेछन्। ट्याक्सीको ऋणले पनि उनीहरूलाई तनाव दिएको रहेछ,’ केसीले भने, ‘त्यसबाहेक बिरामी इन्द्रमाया र सुवर्णमानको उपचारमै पनि निकै समस्या रहेछ।’ भीममानकी पत्नी मन्दिरा लघुवित्त कम्पनीमा कार्यरत रहेको उनले बताए।

केसीका अनुसार घरपरिवार चलाउन समस्या भएपछि सपरिवारले आत्महत्याको बाटो रोजेको बयान उनीहरूले दिएका छन्। घटनामा अन्य कारक पनि हुन सक्ने भएकाले पत्ता लगाउन अनुसन्धान भइरहेको जानकारी केसीले दिए। ‘उहाँहरू चारजनाको अवस्था अझै पनि गम्भीर छ। धेरै कुरा गर्न सकने अवस्था छैन। पूर्ण रूपमा सञ्चो भएपछि थप कुरा खुल्ला,’ उनले भने।

घरमा प्रवेश गर्ने चेनगेट लगाएर उनीहरूले सपरिवार विष सेवन गरेको देखिएको प्रहरीले जनाएको छ। उनीहरूले विष सेवन गर्नुअघि ‘सुसाइड–नोट’ पनि लेखेको पाइएको नायब प्रहरी उपरीक्षक केसीले जानकारी दिए। उनले भने, ‘घटनास्थलबाट एउटा सुसाइड नोट पनि फेला परेको छ। त्यसमा भीममान र उनकी पत्नी दुवैले लेखेको बुझिएको छ। सुसाइड नोट लेखेपछि विष सेवन गरेको प्रारम्भिक अध्ययनले देखाएको छ।’

घटनास्थलबाट प्रहरीले विषका प्याकेट फेला पारेको छ। यस विषयमा अध्ययन भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए। उनका अनुसार गम्भीर अवस्थामा रहेका चारैजनाको सीतापाइलास्थित मनमोहन अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ। सुवर्णमानको भने मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ फाल्गुन २०७८ ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App