८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

‘छाउ गोठ भत्किए, मन भत्किएन’

छाउ गोठ भत्कायो भन्छन्, कागजमा एैले

पूरै भोग अन्नपानी, खान पाइन कैले

विन्न गोरसको खाना, निन लाग्दैन रात

बाँचिन्छ कि मरिने हो, था छैन प्रभात !

माथिका डेउडा गीतका हरफ वरिष्ठ डेउडा गायक भोजराज भट्टले गाउँदै गर्दा विद्यालयको चौरमा बसेर गीत सुनिरहेकी चाँपसल्ली बस्तीकी बेलु रोकाया आफ्नै जीवनको यथार्थ चित्रण गरेको सम्झँदै थिइन्। महिनावारी हुँदा जाडो मौसममा भोग्नुपरेको पीडा सम्झँदै उनका आँखाका डिलमा आँशु टिलपिलाउँदै थिए।

रोकाया मात्रै हैनन् ओलानीस्थित शिव प्राथमिक विद्यालयको प्राङ्गणमा छाउपडी कुप्रथासम्बन्धी सचेतना कार्यक्रममा उपस्थित हुन आएका ५ सय २१ जना महिलाले आफ्नै पीडा समेटिएको महसुस गरे। ‘डेउडा गायक भट्टले गीत गाउँदा हामीले महिनावारी हुँदा भोग्नु परेको पीडा सम्झियौं,’ अगुवा महिला डम्मरी खड्काले भनिन्, ‘हाम्रो यथार्थ जीवनसँग मेल खाने गीतले भावुक बनायो।’

गीतमै भएका शब्द सापटी लिँदै गोदावरी नगरपालिका– १२ की वडा सदस्य राधिकादेवी जोशीले गाउँमा पुस्तौंदेखि जगडिएर रहेको छाउपडी कुप्रथाका कारण तमाम चेलीहरूले हिंसाको सिकार हुनु परेको यथार्थ बताइन्।

उनले भनिन्, ‘हामीले वर्षौदेखि महिनामा पाँच दिन पोषिलो खानेकुराबाट वञ्चित हुनुपरेको यथार्थ त छँदैछ, त्यसमा पनि असुरक्षित भएर घरदेखि टाढा बस्नुपर्दा तमामौ चेलीबेटी हिंसाको सिकार बनेका छन्।’ महिला हिंसाको प्रमुख कारण छाउपडी कुप्रथा भएको बताउँदै उनले भनिन्, ‘महिनावारी भएका समयमा घरदेखि टाढा छाउगोठमा एक्लै बस्नुपर्दा गलत आशय बुझ्ने पुरुषको यौन हिंसामा पर्नुका साथै कैयौ दिदी बहिनीले अकालमै ज्यान गुमाउनु परेको छ।’

छाउगोठमा बस्दा निसास्सिएर मरेका घटना घटिरहेको बताउँदै उनले भनिन्, ‘छाउ गोठमा वन्यजन्तुको आक्रमण तथा सर्प, कीराको पनि उत्तिकै डर भएकाले सुरक्षित नहुँदा महिनावारीको समयमा यहाँका महिलाले नर्कको जीवन जिउनु परेको हो।’ यही समस्यालाई समाधान गर्नका लागि आफूहरूले वर्षौदेखि ‘छाउ गोठ भत्काऊ’ अभियान सञ्चालन गरेको उनले बताइन्।

‘हामीले हाम्रो गाउँमा भएका छाउ गोठहरू भत्कायौ, तर मन भने भत्किएको छैन,’ उनले भनिन्, ‘छाउ गोठहरू भत्कायौं, घरभित्रै सुरक्षित बस्न अह्रायौं, तर केहीले फेरि छाउ गोठ बनाए बस्न थाले, त्यसैले छाउ गोठ भत्किए पनि मन भने भत्किन सकेको छैन।’

अगुवा महिलाहरूको सक्रियतामा केही वर्षअघि गाउँमा बनाइएका छाउ गोठहरू भत्काइएका थिए। छाउ गोठ भत्काएपछि उनीहरू घरभित्र सुरक्षित बस्न सके पनि महिनावारी भएको समयमा पोषिलो खानेकुराबाट भने वञ्चित हुँदै आएको उनले बताइन्।

‘महिनावारी भएको समयमा महिलालाई झन पोषिलो खाने कुरा चाहिन्छ,’ उनले भनिन्, ‘तर, अहिले पनि तरकारी तथा पोषिला खानेकुरासँग यहाँका महिलाले महिनावारी भएको समयमा खाने कुरा खानै पाउँदैनन् ।’ दूध, दही, घ्यू त परैका कुरा भए पनि महिनावारी भएका समयमा हरियो सागपात तथा पहेंला फलफूल पनि खानै नपाउने गरेको उनले बताइन्।

ओलानीमा खानेपानीको समस्या पनि उत्तिकै रहेको बताउँदै अर्की अगुवा महिला वसन्ती विकले भनिन्,‘महिनावारी भएको समयमा सरसफाइको पनि उत्तिकै महत्व छ, तर यहाँ पानी नहुँदा महिनावारी भएको समयमा सरसफाइ गर्न गाह्रो हुने गरेको छ।’ महिनावारी भएको समयमा महिलालाई सरसफाइको अत्याधिक खाँचो पर्ने र उनीहरूले बढी समय आफ्नो सरसफाइमा ध्यान दिनु पर्ने सिर्जना आमा समूह कोल्मुढाकी सीता साउँदले बताइन्।

महिलाको सरसफाइको पाटो केलाउँदै गोदावरी नगरपालिकाको समन्वय तथा मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) ले गोदावरी नगरपालिका वडा नम्बर १२ मा ‘महिनावारी स्वच्छता सामग्री’ वितरण गरेको थियो। ‘महिनावारी स्वच्छता सामग्री’ वितरण गर्न बोलाइएको कार्यक्रममा वडाभरिका ५ सय २१ महिला उपस्थित थिए। उनीहरूलाई साइन नेपालले महिनावारी भएका समयमा चाहिने सामग्रीका साथै सल, मच्छरदानी, नेलकटलगायतका सामान प्रदान गरेको थियो। 

महिनावारी भएका महिलाले छाउ गोठ भत्काए पनि मनबाट महिनावारीको छुवाछुत भत्काउन नसकेको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताए। ‘यहाँका महिलाले नियमित हुने महिनावारी प्रक्रियालाई छुवाछुत मान्दै बार्ने गरेका छन्,’ उनले भने, ‘त्यसलाई केही हदसम्म छलफलका माध्यमबाट कम गर्न सकिन्छ भनेर वडा भरिका ५ सय २१ महिलालाई राखेर सचेतना कार्यक्रम आयोजना गरेर उनीहरूलाई ‘महिनावारी स्वच्छता सामग्री’ वितरण गरेका हौँ ।’

यहाँका महिलाले महिनावारी भएका समयमा जति सरसफाइ गर्नुपर्ने हो, त्यति नहुन सकेपछि उनीहरूलाई सरसफाइमा विशेष ध्यान दिन भनेर ‘महिनावारी स्वच्छता सामग्री’ हस्तान्तरण गरेको बताउँदै साइन नेपालका अध्यक्ष जोशीले भने,‘जसले गर्दा यहाँका महिलाले महिनावारी भएका समयमा आफू सरसफाइ हुनुका साथै जनचेतना जगाएर पोषिलो खानेकुरा मागेर खाउन् भन्ने हो।’ 

वडा नम्बर १२ का वडाअध्यक्ष भीमबहादुर खड्काले छाउपडी गोठ भत्किए पनि यहाँका महिला महिनावारी भएका समयमा सरसफाईको कमी हुनुका साथै पोषिलो खाने कुरा नखाने गरेको बताए। उनले भने, ‘अझै महिनावारी भएका बेला पोषिलो खाने कुरा खान हुँदैन भन्ने अन्धविश्वास यहाँ कायमै छ, त्यसलाई चिर्न जरुरी छ।’ वडा कार्यालयले पनि महिनावारी कुप्रथाविरुद्ध पटकपटक विभिन्न अभियान थाल्दै आएको उनले बताए।

प्रकाशित: २२ फाल्गुन २०७८ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App