८ वैशाख २०८१ शनिबार
समाज

फर्कियो तीन सय ९० वर्ष पुरानो नासो

मंगलबारको दिन सारा भक्तपुरबासीको मात्रै खुशीको दिन रहेन, बरु धेरै नेपालीको खुशीको दिन रहयो सायद। खुशीको कारण हो, भक्तपुरमा रहेको काठमाडौंको रानीपोखरी भन्दा ४० वर्ष पुरानो मानिएको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण तथा जिर्णाेद्धारले पूर्णरुप पाउनु।

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित सैनिक क्याम्पभित्र रहेको झण्डै लोप भइसकेको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण तथा जिर्णाेद्धार सकिएको हो। काम सकिएसँंगै यसले पुनर्जीवन पाएको हो। पुनर्जीवन पाएसँंगै मंगलबारदेखि नै यहाँं सर्वसाधारणको लागि प्रवेश खुल्ला गरिएको छ। यही सुखद् उपलक्ष्यमा पोखरीमा साँंझ दीपावली पनि गरियो। सेनाले नियन्त्रणमा राखेको पोखरी खुल्ला गर्न स्थानीयबासीले वर्षौंदेखि माग गरिरहेका थिए।

पोखरी नेपाली सेनाको कब्जामा थियो। साथै घासे मैदानको रुपमा पनि। तर पनि सर्वसाधारणका लागि त्यहाँं प्रवेश निषेध नै थियो। तर भक्तपुर नगरपालिकाले प्रधानसेनापति पूर्णचन्द्र थापासँंग वार्ता गरी पोखरीको पुनःनिर्माण नगरपालिकाको जिम्मामा लिने र सर्वसाधारणको लागि खुल्ला गर्ने सहमति गरेको थियो। त्यसपछि नगरपालिकाले जिर्णाद्धार सम्पन्न गरेको हो। रानीपोखरीको काम २०७५ माघ १ गतेबाट सुरु गरेको थियो। जिर्णाद्धार सकेसँंगै झण्डै ३६ वर्षपछि सर्वसाधारणको लागि पोखरी प्रवेशमा खुला गरिएको हो।

नेपाल सम्वत ७५० अर्थात् आजभन्दा तीन सय ९० वर्ष पुरानो पोखरीले पुनर्जीवन मात्रै पाएन बरु सर्वसाधारणले प्रवेश पनि पाए। सैन्य तालिम केन्द्रका लागि भन्दै तत्कालिन शाही सरकारले ३२ रोपनी क्षेत्रफलमा रहेको पोखरी क्षेत्रलाई नियन्त्रणमा लिई सर्वसाधारणलाई प्रवेश निषेध गरेको थियो। पोखरी मात्र १५ रोपनी ५ आना २ पैसा क्षेत्रफलमा रहेको उल्लेख छ। यसको उतरमा तीन सय ७७ फिट, दक्षिणमा तीन सय ७६, पूर्वमा दुई सय २१ फिट र पश्चिममा दुई सय २० फिट रहेको जनाइएको छ।

रानीपोखरीमा पुनःनिर्माण मात्र नभई जिर्णद्धार र नवनिर्माणको काम गरिएको हो। पोखरीको बीचमा रहेको नागको अवशेष राख्ने ठाउँ जिर्णोद्धार गरिएको हो भने नाग नयाँ बनाएर हालेको हो। वाउन्डरी वाल (पर्खाल), पेटी, बाटो, डबली नव निर्मित हुन् भने उत्तर र दक्षिण खण्डको दबु जिर्णाद्धार गरिएका हुन्। पोखरीसँंगै पोखरी प्रवेश गर्ने पाँंच वटा प्रवेशद्धारसहितको आकर्षक पाटी पनि पुनःनिर्माण गरिएको छ।

रानीपोखरीको सुरुआतमा घाँस मात्र सफा गर्नको लागि नगरपालिका ८५ लाख इस्टिमेट गरेको थियो। जसमा १७ लाख १६ हजार ३ सय ७४ रुपैयाँ खर्च भएको जनाएको छ। पोखरीका लागि कुल चार करोड ४१ लख १९ हजार एक सय ६४ रुपैयाँं २९ पैसाका लागत अनुमान गरिएको थियो। तर लागत अनुमानभन्दा झण्डै आधा रकममा काम सकेको भक्तपुर नगरपालिकाले जनाएको छ। कुल दुई करोड ५४ लाख ८३ हजार पाँंच सय ८७ रुपैयाँं ४७ पैसाबाट काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ। ठेक्काबाट नभई उपभोक्ता समितिबाट काम भएकाले लागत भन्दा आधाले काम सकेको नगरपालिकाको भनाई छ।

भक्तपुरका राजा जगज्योति मल्लले १६८७ सालमा रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको इतिहासविद्को भनाइ छ। त्यसको करिब ४० वर्षपछि मात्र प्रताप मल्लले काठमाडौंको रानीपोखरी बनाउन लगाएको इतिहास एवं संस्कृतिविद् प्रा.डा पुरुषोतम लोचन श्रेष्ठले बताए।

पोखरीको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले एक समारोहका बीच गरेका थिए। यसअघि बाजागाजासहित हजारौ भक्तपुरेहरु पोखरी उदघाटनमा पुगेका थिए।

प्रकाशित: १७ फाल्गुन २०७८ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App