२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना घटेपछि तातोपानी कुण्डमा नुहाउने बिरामी बढे

म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने तातोपानी कुण्डमा स्नान गर्ने बिरामीहरु। तस्बिर: हरिकृष्ण/नागरिक

कोरोना भाइरस संक्रमणको जोखिम कम भएपछि म्याग्दीको तातोपानी कुण्डमा नुहाउने बिरामीको संख्या बढ्दै गएको छ। 

जिल्लाको बेनी नगरपालिका–४ नम्बर वडामा पर्ने प्राकृतिक उपचारको चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामीहरु बढेका हुन्। कोरोनाको जोखिमका कारण यसअघि बन्द गरिएको तातोपानी कुण्ड संक्रमण घट्दै गएपछि यही फागुन महिनाको पहिलो सातादेखि सर्वसाधारण तथा बिरामीका लागि पुनः खुला गरिएको गरिएको छ। 

अहिले कुण्डमा दैनिक महिला २ सयजना र पुरुष १ सय जनाले नियमित स्नान गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए।‘कोरोनाको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नेगरी कुण्डमा नुहाउनका लागि अनुमति दिइएको छ’अध्यक्ष शाक्यले भने। कुण्डमा २ जना विदेशी नागरिकसहित म्याग्दी, बागलुङ, पर्वत, कास्की र गुल्मी जिल्लाबाट आएका बिरामीहरुले स्नान गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ।

अत्यधिक चिसोका कारण तातोपानी कुण्डमा स्नान गरेपछि खुट्टाको दुखाई कम भएको पोखरा लामाचौरकी आछेम गुरुङले अनुभव सुनाईन्। ‘अस्पतालको उपचारपछि यहाँ आउने गरेको छु,‘कुण्डमा डुवेर निको भएको छ’ उनले भनिन्।  तातोपानी कुण्डमा मुख्य पोखरीसहित बाहिरका दुईवटा पोखरी, तीनवटा बाथटप र धारामा नुहाउन पाइन्छ। 

जमिन मूनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको छ। निराश भएर आएका विरामी एक देखी दुईहप्तासम्म स्नान गरेपछि खुसी हुदै घर फर्किने गरेको कुण्डका कर्मचारीको भनाई छ।

कुनै समय भैंसी आहाल बस्ने ताल जस्तै तातोपानी कुण्ड अहिले हजारौं विरामीको उपचार केन्द्र बनेको थियो। वि.स २०४२ सालमा फेला परेको तातोपानीको मुहानलाई स्थानीयले गरेको संरक्षण तथा प्रचारप्रसारले देशभरबाट विभिन्न रोगबाट ग्रसित २० हजारको हाराहराीमा विरामी तथा १५ हजारभन्दा धेरै कुण्डको अवलोकनका लागि आउने गरेका छन्। स्वदेश तथा विदेशका ठुला अस्पतालमा प्याथोलोजी र आयूर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर अन्तिम विकल्पको रुपमा कुण्डमा विरामी आउन थालेपछि राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चा कमाउन सफल भएको छ।

प्रकाशित: ९ फाल्गुन २०७८ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App