४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

लगानी सम्मेलन प्रदेश सरकारले नै गर्छ: मुख्यमन्त्री

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलन प्रदेश सरकार आफैंले आयोजना गर्ने बताएका छन्। प्रदेश सभाको सुशासन तथा योजना समितिको बैठकमा मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनको व्यवस्थापन कुनै संघ संस्थालाई नदिई प्रदेश सरकार आफैले गर्ने बताएका हुन्।

कार्कीले लगानी सम्मेलनका विषयमा बाहिर चर्चा गरेजस्तो विवाद नरहेको दाबी गरे। ‘कुनै एउटा संगठनको ब्यानरमा नभए सम्मेलन सरकारले नै गर्छ ’ मुख्यमन्त्री कार्कीले भने। मुख्यमन्त्री कार्कीका अनुसार  लगानी सम्मेलनमा मलेसियाका पूर्वअर्थमन्त्रीले  आउने प्रतिबद्धता जनाएका छन्। यस्तै  विश्व बैंकका पूर्व सिइओ पनि आउने सम्भावना छ। प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू पनि सहभागी हुने छन्।

प्रदेश लगानी सम्मेलनका लागि  तीन करोड तीस लाख रुपैयाँ विनियोजन भएकोसमेत मुख्यमन्त्री कार्कीले जनाकारी दिए। बजेट लगानी बोर्डलाई पठाइएको र बजेट बाँडफाँट गरेर बोर्डले पास गरेको उनले बताए। मुख्यमन्त्री कार्कीले सरकारले राजनीतिक दल, नेपाल सरकारका माथिल्ला निकाय, संसदीय दल, लगानी बोर्ड तथा योजना आयोग आदिको सल्लाह सुझाव समेत लिएर अघि बढिरहेको बताए। प्रदेश लगानी सम्मेलनका विषयमा विभिन्न प्रश्न उठिरहेको सन्दर्भमा प्रदेश सभाको सुशासन तथा योजना समितिले मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कोइरालासँग छलफल गरेको थियो।

कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ। लगानी बोर्डका सिइओ सरोज कोइरालाले  सम्मेलनको तयारीका लागि  बजेट लगानी बोर्डको खातामा पठाइएकाले  प्रक्रिया अघि बढाउने बताउँदै सम्मेलनमा कूल ३७ वटा परियोजना छनोट गरेर शोकेस गर्ने तयारी रहेको जानकारी दिए। यस अघि प्रदेश लगानी सम्मेलनको व्यवस्थापन उद्योग संगठन मोरङलाई दिने सम्झौता प्रदेश सरकारले गरेको भन्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेशले निर्णयको विरोध गरेको थियो। लगानी सम्मेलनका विषयमा नीजि क्षेत्र विभाजित भएपछि प्रदेश सरकारले आफैले लगानी सम्मेलनको व्यवस्थापन लगायतका काम गर्ने तयारी थालेको हो। 

प्रकाशित: ४ पुस २०८१ १८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App