बेनी नगरपालिकाको १६ औं नगर सभाबाट १ करोड ६० लाख बजेट विनियोजन गरेको छ।
बिहीबार नगरपालिकाको सभा हलमा आयोजित नगर सभामा वडाका योजना तथा कार्यक्रमको बजेट समेत संशोधन गरी ४० नयाँ योजना र संशोधित २८ योजनामा बजेट विनियोजन गर्दै पारित गरेको हो। नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको नगर सभामा वडा समितिबाट छनोट भई सिफारिस भएका योजनालाई न्यूनतम ९ लाख ५० हजार हजारदेखि ६ लाखसम्म बजेट विनियोजन गर्दै पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए।
नगर सभाबाट सडक मर्मत, पदमार्ग, बस्ती संरक्षण, स्वास्थ्य चौकी मर्मत, विपन्न आवास विस्तार,नाली तथा शौचालय निर्माण लगायतका विभिन्न योजनाहरू रहेका छन् । नगर सभामा नगर स्तरीय सम्भाव्यता अध्ययनका लागि ९ लाख ५० हजार, विपन्न आवास निर्माणमा ५ लाख सहित समपूरक कोषमा समेत बजेट विनियोजन गरिएको छ। नगर उपप्रमुख ज्योति लामिछाने पौडेलले वडा स्तरीय योजना कार्यान्वयन नभएकालाई समेत संशोधन गरेर नयाँ योजना छनोट गरी पारित गरेको बताइन्।
संशोधित योजनाहरूमा वडा स्तरीय विकास निर्माण, आयआर्जन, पदमार्ग, विपद्जन्य सहयोगका साथै शिक्षा, स्वास्थ्य र समुदाय स्तरबाट गरिएको मागमा आधारित रहेको छ। नगर सभामा ६ वटा विषयगत समिति आर्थिक, सामाजिक, पूर्वाधार, सेवा प्रवाह तथा सुशासन, बन तथा वातावरण तथा विपद् समिति र न्यायिक समितिले आफ्नो कार्य प्रगति प्रस्तुत गरेका थिए। नगर सभामा सम्बोधन गदैं नगर प्रमुख केसीले वडा स्तरबाट प्राथमिकता साथ आएका योजनाहरूलाई पारित गरिएको बताउँदै बजेट कार्यान्वयन समेत सन्तोषजनक हुनुपर्ने बताए। नगर सभा सदस्यले बजेट विनियोजन तथा विविध विषयमा आफ्नो भनाई राखेका थिए।
प्रकाशित: ४ पुस २०८१ १८:३७ बिहीबार