४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

रविका तस्बिर खिच्न दिनु प्रहरीको गम्भीर गल्ती

.

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हिरासत भित्र सुतिरहेको तस्बिर पार्टीकै समर्थकले खिचेको खुलेको छ।  

सहकारी ठगी, संगठित अपराध र सम्पती शुद्धिकरण सम्बन्धि मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेको हिरासत भित्रको तस्बिर उनकै पार्टी रास्वपा समर्थक तथा सामाजिक अभियन्ता डा.निकोलस भुसालले खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। जुन फोटोमा लामिछाने टोपी लगाई सिरक ओढेर सुतिरहेका छन्। उनी सुतिरहेको नजिकै सानो टेबल र त्यसमाथि पुस्तकहरु देखिन्छ।

लामिछाने हिरासतमा सुतिरहेको फोटो केहि दिनअघि सार्वजनिक भएको थियो। हिरासत भित्रको फोटो बाहिरिएपछि रास्वपाकै नेता, कार्यकर्ताहरुले प्रहरीमाथि गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा सेयर गरेका थिए। उनीहरुले प्रहरीले किन र के का लागि हिरासत भित्रको फोटो सार्वजनिक गरियो भन्दै प्रश्नसहितको आशंका गरेका थिए। कतिपयले भने उक्त तस्बिर नक्कली (फेक) भएको तर्कसमेत गरे।

हिरासत भित्रको फोटो बिना अनुमती बिना खिच्न र सार्वजनिक गर्न पाईंदैन। यसले व्यक्तिको गोपनियता हनन् मात्र नभई व्यक्तिगत सुरक्षाका दृष्टिलेसमेत खतरा मानिन्छ। यसैलाई मध्यनजर गर्दै प्रहरीले हिरासतमा रहेका व्यक्तिलाई भेट्न जाँदा मोवाइल, क्यामरालगायतका सामग्री खानतलासी गरी बाहिरै राखेर भेट्न पठाउँछ। तर यसका बाबजुद रास्वपा सभापति लामिछानेको हिरासत भित्र सुतिरहेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जाल गरमागरम बहस भयो।

हिरासत भित्र सुतिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मले गम्भीरतापूर्वक चासो दिएका थिए। उनीहरुले तत्कालै छानविन गरी यथार्थ पत्ता लगाउन निर्देशन दिएपछि कास्की प्रहरीले त्यसको अनुसन्धान थालेको थियो। त्यस क्रममा रास्वपाकै नेता डा.भुसालले तस्बिर आफूले खिचेको भन्दै दाबी गरे।  

उनले सामाजिक सञ्जालमा स्टाटस र लाईभमा आएर उक्त तस्बिर आफूले प्रहरीकै अगाडि खिचेको बताएका हुन्। उनले तस्बिर सार्वजनिक गर्दै भनेका छन्,‘यो फोटो रियल हो र मैले नै खिचेको हो। म माफी चाहन्छु।’ उनले कसैलाई दोष लगाउने उद्देश्यले तस्बिर नखिचेको दाबी गर्दै अगाडि भनेका छन्,‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन। भ्रममा नपर्न अनुरोध। म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ।’ उनले तस्बिर प्रहरीले रोकतोक नगरेको समेत बताएका छन्। ‘तस्बिर खिच्दा सायद प्रहरीले भुलेको हुनसक्छ। मैले प्रहरी अगाडि खिचेको हुँ। कसैले रोकतोक गरेनन्’–उनले भनेका छन्।  

घटनालाई सुक्ष्म अनुसन्धान गरिरहेको कास्की प्रहरीले निकोलसले नै तस्बिर खिचेको निश्कर्ष निकालेको हो। कास्की प्रहरीले विहीबार अपराह्न एक विज्ञप्ती निकाल्दै सो तस्बिर निकोलसको फेसवुक पेजबाट पहिलोपटक प्रकाशित भएको भन्दै सोप्रति कास्की प्रहरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सहकारी ठगी, संगठित अपराध र सम्पती शुद्धिकरण कसूरको तथ्यपूर्ण अनुसन्धानलाईसमेत नकारात्मक प्रभाव पार्नेगरी डा.निकोलस भुसालको फेसवुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायीकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको अनधिकृत तस्बिरप्रति यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ।’

कास्की प्रहरीले तस्बिर खिच्ने र सार्वजनिक गर्ने डा.निकोलसलाई कारवाही गर्ने चेतावनी दिएको छ। अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानूनी प्रावधानलाईसमेत उलंघन गरी अनधिकृत रुपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्नेलाई कारवाही गरिने कास्की प्रहरीको भनाई छ।

तर हिरासत भित्रको तस्बिर कसरी खिचियो भन्नेबारेमा प्रहरी मौन छ। हिरासतजस्तो अति संवेदनशील ठाउँ जहाँ अनुमती बिना प्रवेश निषेध हुन्छ। अनुमती लिएर जाँदा पनि क्यामरा र मोवाइल लैजान पाईंदैन। तर यसका बाबजुद तस्बिर बाहिरिएपछि कास्की प्रहरीको सुरक्षामाथि प्रश्न उठेको छ। प्रहरी श्रोतले भुसालले सिसी क्यामराको फुटेजबाट तस्बिर लिएको बताएको छ।  

भुसाल गत मंसिर २९ गते लामिछानेलाई भेट्न गएका थिए। तर प्रहरीले लामिछाने सुतेकाले भेट्न नमिल्ने बताएपछि भुसालले सिसी क्यामरा सुतिरहेको तस्बिर कन्ट्रोल रुमबाटै खिचेको प्रहरी श्रोतको भनाई छ। भुसालले पनि आफूले सिसी क्यामराको फुटेजबाटै तस्बिर लिएको सामाजिक सञ्जालमार्फत स्वीकारेका छन्। प्रहरीले खिच्ने र सार्वजनिक गर्नेलाई कारवाही गर्ने बताईरहँदा खिच्न दिनेलाई के कारवाही हुन्छ भन्नेबारेमा स्पष्ट बताएको छैन।  

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार ओलीयाले तस्बिर कसरी खिचियो भन्नेबारेमा आन्तरिक रुपमा अनुसन्धान भइरहेको बताए। तस्बिर खिच्दा प्रहरीको गल्ती नै भयो भन्न मिल्दैन,’ उनले भने,‘त्यहिं खिचिएको भन्नेपनि स्पष्ट छैन। प्रविधिको प्रयोगपनि हुनसक्छ। यसबारे हामी आन्तरिक छानविन गर्दैछौं।’ तर प्रहरीको लापर्वाहीले तस्बिर सार्वजनिक भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

प्रकाशित: ४ पुस २०८१ १८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App