२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सैनामैनाबाट अपहरणमा परेका दाजुबहिनीको बिर्तामोडबाट उद्धार

आफ्नै फुपाजुद्वारा अपहरणमा परेका दुइ बालबालिकालाई रूपन्देही प्रहरीले झपाको बिर्तामोडबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ।

रूपन्देहीको सैनामैना नगरपालिका– ६ दुधराक्ष घर भएका १२ वर्षीय एक बालक र उनकी ९ वर्षकी बहिनी फागुन ५ गते बिहीबार अपरहणमा परेका थिए। उनीहरू दुवै जनालाई प्रहरीले झापाको बिर्तामोडबाट उद्धार गरी शनिबार अभिभावको जिम्मा लगाएको छ।

अपरहणमा संलग्न सैनामैना नगरपालिका– ५ का ३५ वर्षीय खेमबहादुर पौडेललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। पौडेलले आफ्नै जेठानका छोरा १२ वर्षीय प्रसिद्ध दाहाल र छोरी ९ वर्षीया प्रसन्ना दाहाललाई फागनु ५ गते स्कुल जाँदै गरेका बेला अपरहण गरी झापाको बिर्तामोड पुर्‍याएका थिए।

सैनामैनाकै प्रभात बोर्डिङ स्कुलमा अध्ययनरत बालबालिकालाई पौडेलले स्कुल बसबाटै अपरहण गरी लगेका थिए। बालबालिकाको फोटो खिचाउनु छ भन्दै पौडेलले बसका स्टाफलाई विश्वास दिलाएका थिए। बिहान ९ बजेपछि लु १ ख ६५६८ नम्बरको बस चढेर स्कुल गएका छोराछोरी साँझ घर नफर्किएपछि अभिभावकले सोधीखोजी सुरु गरे।

अभिभावक स्कुल पुगेपछि बल्ल बालबालिकालाई फोटो खिच्न भनी पौडेलले बसबाट ओरालेर लगेको जानकारी बसका स्टाफ र अन्य बालबालिकाले दिए। लगत्तै बालबालिकका बुवा प्रेम दाहालले इलाका प्रहरी कार्यालय रन्यौरामा उजुरी दिए। रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले बालबालिका अपहरणको उजुरी आएलगत्तै खोजी सुरु गरिएको बताए।

रूपन्देहीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मनोज केसीका अनुसार पौडेलले बालबालिकालाई बुटवल ल्याई झापाको बिर्तामोड जाने बसको टिकट लिएका थिए। पौडेलको मोबाइल सोही दिन दिउँसो ३.४० मा स्वीच अफ् भएको थियो। त्यसअघि पौडेलले आफ्ना भाइ गुप्तबहादुर पौडेललाई फोन गरी लत्ता कपडा मगाएका थिए।

भाइ गुप्तबहादुरले बुटवलको नेपालगञ्ज रोडमा दाइ खेमलाइ भेटी सुटकेस दिएको प्रहरीलाई जानकारी दिए। आरोपी पौडेलका भाइ, दिदी तथा बुवासँगको सोधपुछ, सिसिटिभि फुटेज तथा बस टिकटका आधारमा अनुसन्धान सुरु गरी समयमै बालबालिकाको उद्धार गर्न सफल भएको एसपी केसीले बताए।

प्रहरीका अनुसार भाइले दिएको सुटकेस लिएर बिहीबार साढे १२ बजेतिर बुटवलकै ट्राफिक चोकतिर लागेका पौडेलको मोबाइलको लोकेसन शुक्रबार (फागुन ६ गते) ११.१२ बजे झापाको बिर्तामोड अनारमनीमा देखिएको थियो। रूपन्देही प्रहरीले तत्कालै इलाका प्रहरी कार्यालय अनारमनी, झापाको सहयोगमा पौडेललाई झापाको बिर्तामोड बसपार्कबाटै पक्राउ गरी बालबालिकालाई सकुशल उद्धार गरेको रूपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए।

बालबालिकालाई शनिबार अभिभावको जिम्मा लगाइएको छ। पक्राउ परेको पौडेललाइ अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुशन्धान भइरहेको डिएसपी पौडेलले बताए। बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको र उनीहरू सकुशल रहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले बताए। स्वास्थ्य परीक्षणका क्रममा शारीरिकरूपमा बालबालिका सकुशल रहे पनि मानसिकरूपमा भने तनावमा रहेको उनले बताए।

पौडेल नातामा बालबालिकाका फुपाजु हुन्। घरायसी रिसइबी र श्रीमतीसँगको बेमेलको बदला लिन बालबालिकाको अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पौडेल यसअघि आफ्नै श्रीमतीविरुद्ध गरेको अभद्र व्यवहार तथा साइबर क्राइमअन्तर्गत मुद्दामा थुनामा परेका व्यक्ति हुन्।

झण्डै १८/२० वर्षदेखि रोजगारीका लागि भारत आउजाउ गर्ने पौडेलले आफ्नै श्रीमतीलाई कुटपिट गर्ने दुःख दिने, अश्लील खालका तस्बिर बनाई सामाजिक सञ्जालमार्फत धम्काउने काम गरेको उजुरी परेको थियो। सोही मुद्दामा दुई साताअघि उनी केही दिन हिरासतमा बसेका थिए। श्रीमतीसँगको मनमुटाव र आफूलाई हिरासतमा पठाउन सहयोग गरे बापतको बदला लिन भन्दै उनले जेठानका छोराछोरीलाई नै अपरहण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ। पौडेलले बालबालिकालाई भारत लैजान खोजेको देखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०७८ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App