१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पालिका चुनाव नजिकिँदै जाँदा बढ्दैछ काठको तस्करी

पालिका चुनावको सरगर्मी र एमसिसि टेबुल गर्ने चर्चाले उत्कर्ष पाइरहँदा रौतहट र सर्लाहीको वनमा भने निकै दबाव परेको छ। साराको ध्यान पालिका चुनाव र एमसिसितिर तानिँदा रौतहट र सर्लाहीका काठ तस्करहरु वनमा सक्रिय भएका छन्।

पछिल्लो केही दिनमा रौतहट र सर्लाहीमा केही काठ तस्कर र काठ नियन्त्रणमा आउनुले तस्करहरुको सक्रियताको पुष्टि भएको छ। सर्लाहीको बागमती नगरपालिका २ हरिवना खोलाको किनार लहरीबारीबाट ४० क्युफिट काट शनिवार बरामद गरेको छ।

सालको ७ वटा गोलिया सर्लाहीको सब डिभिजन वन कार्यालय मूर्तियाले बरामद गरेको हो। वेवारिसे अवस्थामा फेला परेको काठको सरकारी मूल्य एक लाख ६० हजारभन्दा बढी रहेको छ। रौतहटमा काठ तस्करीको झन् बेहाल रहेको छ।

परालको कुन्युमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गत हप्ता सालको काठ बरामद गरेको थियो। वन क्षेत्रमा गाडी र मोटरसाइकलबाट व्यापक काठ तस्करी भइरहेको देखिएको छ। पछिल्लो केही दिनमा भारतीय नम्बर प्लेटका मोटरसाइकल, नेपाली नम्बर प्लेटका मोटरसाइकलका साथै नेपाली नम्बर प्लेटको पिकअप भ्यान वन क्षेत्रमा नै प्रवेश गरेर काठको तस्करी भइरहेको छ।

मुख्य गरी रातिको समयमा काठको तस्करी हुने गरेको देखिएको छ। गत शुक्रबार राति करिव साढे दश बजेको समयमा वन जंगलबाट सालको रुख काटेर टुक्रा टुक्रा बनाई ना ३ च ९६७५ नम्बरको पिकअप भ्यानमा पूर्वपश्चिम राजमार्ग हुँदै चन्द्रनिगाहपुरतर्फ ल्याउँदै गरेको सुचनाको आधारमा डिभिजन बन कार्यालय रौतहटका प्रमुख डिएफओ अमरदेव यादवको पहलमा काठ र गाडिसहित मानिस पनि समातिएको छ।  

वृन्दावन नगरपालिका १ बलेरी टोलका चालक नवीन बजगाईँले ६८ क्युफिटभन्दा बढी काठ लोड गरेर ल्याउँदै गरेको अवस्थामा पिकअप भ्यानसहित पक्राउ परेका छन्। बजगाईँलाई गाडी र काठसहित नियन्त्रणमा लिएर नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइएको डिएफओ यादवले बताएका छन्। यसै दिन वन क्षेत्रमा गस्तीमा रहेका बनका तिन कर्मचारीलाई तस्करहरुले कुटपिट पनि गरेका थिए।

काठ तस्करलाई समात्न खोज्दा तस्करहरुले वन कर्मचारीलाई कुटपिट गर्दै फरार भएका थिए। सोही क्रममा तस्करका तिन मोबाइल बरामद भएको र मोबाइलबाट तस्करको खोजी भइरहेको बुझिएको छ। वन गस्ती टोलीलाई देख्ने बित्तिकै काठ तस्करहरु मोटरसाइकल नै छोडेर भाग्ने गरेका छन्।

वन गस्ती टोलीले काठ तस्करीमा प्रयोग भएका नेपाली र भारती नम्बर प्लेटका कैयौँ मोटरसाइकल बरामद गरिसकेका छन्। चुनावको समय नजिकिँदै जाँदा तस्करहरु अत्यधिक सक्रिय भएको स्थानीयको भनाइ छ।  

प्रकाशित: १ फाल्गुन २०७८ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App