१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

इन्जिनियरिङ कलेज रकम हिनामिना प्रकरण: सात जनाविरुद्ध २४ करोड मागदाबी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेसहित सात जना सञ्चालकविरुद्ध छुट्टाछुट्टै २४ करोड रूपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

विभागले न्यौपानेविरुद्ध १२ करोड ४४ लाख १२ हजार ७५५ रूपैयाँ बिगो माग दाबी गरेको छ। त्यसैगरी, त्यसको दोब्बर २४ करोड ८८ लाख २५ हजार ५१० रूपैयाँ जरिवाना माग गरेको छ।

प्रतिवादीहरूलाई बिगोको दोब्बर जरिबाना, कसुरको मात्राअनुसार कैद सजाय, अन्य सम्पत्ति मूल्यमा आधारित जफत गरी पाउनसमेत मागदाबी लिई बिहिबार अभियोग पत्र दर्ता गरिएको हो।

बिगो गरिएको रकम सम्पत्ति जफत गर्न न्यौपानेका नाममा रहेका काठमाडौं महानगरपालिका वडा नम्बर ४ प्रतिवादीका नाममा दर्ता भएका ९७, ३३४, २९८, ७६, २३२७, ३८० समेतका कित्ता जग्गा समेतका अन्य बैंक खातासमेत रोक्का गरिएको छ। विभागले मागदाबी गरेको रकम आरोपितहरूको सम्पत्तिबाटै बिगो भराउन माग गर्दै कित्ता नम्बर, बैंक खातासमेत उल्लेख गरेको छ।

अर्का सञ्चालक रामरत्न उपाध्याय र इन्दिरा उपाध्याय समेत १ करोड २५ लाख ३८ हजार ६२ रूपैयाँ र त्यसको दोब्बर जरिबाना माग दाबी गरिएको छ। ललितपुर लामाटारमा इन्दिरा उपाध्यायका नाममा दर्ता भएका कित्ता नम्बर १४७ र ६२५ का जग्गा तथा अन्य बैंक खातासमेतका सम्पत्तिबाट असुल उपर गर्न उल्लेख गरिएको छ।

त्यसैगरी, उपेन्द्र गौतमविरुद्ध २ करोड २९ लाख ६७ हजार २११ रूपैयाँ र त्यसको दोब्बर जरिवाना मागदाबी गरिएको छ। गौतमको नाममा काठमाडौं महानरपालिकामा रहेको कित्ता नम्बर ४२३ को जग्गा, अन्य शेयर, बैंक खातासमेतका सम्पत्ति रोक्का गरिएको छ।

कलेजका सञ्चालक लबराज भट्टराईविरुद्ध २ करोड ७९ लाख ५५ हजार ६ सय रूपैयाँ र त्यसको दोब्बर जरिवाना मागदाबी गरिएको छ। प्रतिवादीका नाममा सिद्धार्थ बैंकमा रहेको मौज्दात ३ करोड ८८ ६१ हजार १० रूपैयाँबाट असुलउपर गर्न भनिएको छ।

त्यसैगरी, सूर्यबहादुर केसीबाट भएको सम्पत्ति शुद्धिकरणको बिगो जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती प्रेमकुमारी केसी २ लाख ३४ लाख २१ हजार ५ सय मागदाबी गरिएको छ।

सूर्यबहादुरको मृत्यु भैसकेकाले उनकी पत्नीका नाममा मागदाबी गरिएको छ। उनलाई जरिवाना भने तोकिएको छैन। सूर्यबहादुरको नाममा रहेको पोखरा महानगरपालिका वडा नं. ६ र ७ का कित्ता नम्बर २०८, ९७ समेतका ५ कित्ता जग्गाबाट असुल उपर गर्न मागदाबी गरिएको छ।

हरिप्रसाद पाण्डेविरुद्ध २ करोड ४३ लाख ४९ हजार २०७ रूपैयाँ र त्यसको दोब्बर जरिवाना मागदाबी गरिएको छ। त्यसैगरी बैंक खातामा रहेको २ करोड ४४ लाख ३३ हजार २२१ रूपैयाँ रोक्का गरिएको छ।

दीपकप्रसाद भट्टराईविरुद्ध बिगो जफत गर्ने प्रयोजनार्थ उनकी पत्नी इल्या दिक्षित भट्टराईलाई ३६ लाख ५९ हजार रूपैयाँ माग गरिएको छ। प्रतिवादी दीपकको मृत्यु भैसकेकाले उनकी पत्नीविरुद्ध मुद्दा दर्ता भएको हो। उनलाई पनि जरिवाना मागदाबी गरिएको छैन। उनको सिन्धुली झाँगाझोलीमा इलयाका नाममा रहेका कित्ता नम्बर ६६०को जग्गाबाट जफत हुने मागदाबी लिइएको छ।

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकहरूले मिलेमतोमा कलेजको रकम हिनामिना गरेपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेको हो। इन्जिनियरिङ कलेज २०६० सालमा दर्ता भई भक्तपुरमा रहेको संस्था हो। कलेजका सञ्चालकहरूले मिलेर कलेजको रकम हिनामिना गरेका थिए। उनीहरूले सिद्धार्थ बैंक लिमिटेडमा खाता सञ्चालन गरी बैंकबाट कलेजको रकम सारी खाता र खर्चको अभिलेख समेत नराखी झण्डै ८ करोड रकम न्यौपाने लगायतका सञ्चालकहरूले हिनामिना गरेको सम्पत्ति शुद्धीकरण विभागको ठहर छ।

गैरनाफामुलक संस्थाको हैसियतमा सञ्चालित कलेजको कोषको रकम बेइमानी नियतले लिने, खानेसमेतका तत्कालीन प्रचलित मुलुकी ऐन २०२० को ठगीको १ नम्बर र प्रचलित मुलुकी अपराध संहिता २०७४ को दफा २४९(१) र (२) बमोजिमको ठगीको कसुर अपराध गरी आर्जन गरेको सम्पत्तिको शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिबाना, कसुरको मात्रा अनुसार कैद सजाय हुनका साथै प्रतिवादीहरूले शुद्धीकरण गरेको पुष्टि हुन आएको सम्पत्ति शुद्धीकरण २०६४ को दफा ३४ को उपदफा १ र २ बमोजिमसमेत प्रतिवादीहरूको अन्य सम्पत्ति मूल्यमा आधारित जफत गरी पाउन समेत मागदाबी लिई अभियोग पत्र दर्ता गरिएको विभागले जनाएको छ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको प्रकरणमा मुछिएका थिए।

प्रकाशित: २८ माघ २०७८ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App