जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यहाँका विपन्न समुदायका १ सय २३ घर परिवारलाई न्यानो कपडा वितरण गर्न सुरु गरेको छ।
नेपाल सरकार गृह मन्त्रालयबाट प्राप्त विपन्न समुदायका लागि न्यानो कपडा वितरण कार्यक्रममार्फत ९ स्थानीय तहका १ सय २३ घरपरिवारका सदस्यलाई न्यानो कपडा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। उनका अनुसार ताप्लेजुङका ६१ वटा वडामध्ये फुङ्लिङ नगरपालिका वडा नं ५ का ३ र अन्य ६० वटा वडाका २–२ गरी १ सय २३ विपन्न घर परिवार सदस्यले न्यानो कपडा पाउने छन्।
सोमबार फुङलिङ नगरपालिकाभित्रका वडाहरुका विपन्न समुदायका सदस्यलाई न्यानो कपडा वितरण गरिएको र अन्य पालिकाहरुमा मंगलबार पठाइने प्रजिअ पाण्डेले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ४ लाख मूल्य बराबरको न्यानो कपडा खरिद गरी जिल्लाभरका पालिकाका गरिव र विपन्न परिवारका सदस्यलाई वितरण गर्ने दायित्व जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो।
सोही अनुसार सो रकम बराबरको रकम खर्चिएर न्यानो कपडा(प्रत्येकलाई १–१ थान ब्ल्याङकेट) वितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ। सरकारले चिसो, हिमपात र शितलहरबाट नागरिकको जीवन जोखिममा पर्न नदिन तराइका जिल्लालाई ८ लाख, पहाडका जिल्लालाई ६ लाख र हिमाली जिल्लालाई ४ लाख रुपैयाँका दरले न्यानो कपडा खरिद गरी गरिव र विपन्न परिवारका सदस्यलाई वितरण गर्ने व्यवस्था गरेको थियो। सोही अनुरुप हिमाली जिल्लाको ताप्लेजुङका लागि प्राप्त ४ लाख बजेटबाट न्यानो कपडा खरिद गरी वितरण गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ।
प्रत्येक वडाले आफ्नो वडाभित्र रहेका गरिव र विपन्न २ परिवारलाई न्यानो कपडा पाउनेको सूची तयार गरी सम्बन्धित पालिकामार्फत प्रशासन कार्यालयलाइ सिफारिस गरेका थिए। सम्बन्धित वडा र पालिकामार्फत प्राप्त भएको सिफारिसका आधारमा न्यानो कपडा पाउन योग्यहरुको सूची तयार भएको प्रशासन कार्यालयले जनाएको छ।
सोमबार प्रमुख जिल्ला अधिकारी पाण्डे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्का लगायतको उपस्थितिमा न्यानो कपडा वितरण कार्यको शुभारम्भ गरिएको छ।
प्रकाशित: २४ माघ २०७८ १३:४६ सोमबार