८ वैशाख २०८१ शनिबार
समाज

जंगलबाटै बाघ गणना गर्न राखिएका क्यामरा हराउँदै

बाघको गणना गर्नको लागि रौतहटको वनमा राखिएका क्यामरा हराउन थालेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्ज तथा डिभिजन वन कार्यालय संयुक्त रूपमा रौतहटको वनमा बाघ गणनाको लागि राखेको क्यामरा हराउन थालेको हो।

जिल्लाको पौराई वन क्षेत्रमा जडान गरिएको क्यामरामध्ये अहिलेसम्म दुई ओटा क्यामरा गायब भएको छ। पौराई वन क्षेत्रमा जडा नगरिएका दुई ओटा क्यामरा गायब भएको वन्यजन्तु प्राविधिक टीकाराम थारुले जानकारी गराएका छन्। बाघको गणनाको लागि राखिएका क्यामरा हराउन हुन थालेपछि बाघगणना नै प्रभावित हुने हो कि भन्ने आशंका गरिन थालिएको छ।

रौतहटको बनमा बाघको संख्या बढ्न थालेको अनुमान गरिएको छ। गत वर्ष भएको गणनामा चार ओटा बाघ फेला परेको थियो। एक वर्षमा जिल्लाको बनमा कतिओटा बाघ घटबढ भएको हो भन्ने यकिन गर्नका लागि बाघ गणना हुन थालेको हो। यसै क्रममा जिल्लाको बनमा बाघको सम्भावित बासस्थान र पानी खान आउजाउ गर्ने स्थानमा गरी एक सय २२ क्यामरा जडान गरिएका छन्।  

जिल्लाको धनसर खोलापूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री, नुनथर, पौराई, रंगपुर लगायतको वन क्षेत्रमा बाघ गणनाको लागि क्यामरा जडान गरिएका छन्। बाघ गणनाको लागि जडान गरिएका क्यामरामध्ये दुई वटा हराएपछि त्यसको खोजी भइरहेको वन्यजन्तु प्राविधिक थारुको दाबी छ। जिल्लाको वन क्षेत्रमा बाघ गणनाको लागि क्यामरा जडान गरिएको र त्यसलाई नछुन बन कार्यालयले सार्वजनिक सूचना नै जारी गरेको थियो ।

प्रकाशित: २३ माघ २०७८ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App