१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

आर्थिक लाभ एकलौटी पार्न हत्या: तीनजना पक्राउ

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुर जाने नहर नजिक उखुबारीमा हत्या गरी गाडिएका २ जनाको हत्या आरोपमा ३ जना पक्राउ परेका छन्।  

एउटै प्रकृतिका २ वटै शव भेटिएकाले उनीहरुको हत्या एउटै समूहबाट भएको प्रहरीले शंका गरी थालेको अनुसन्धानका क्रममा उस्तै प्रकृतिको अर्को शव ललितपुरको गोदावरी नगरपालिका–१२ थेंचोमा भेटाएको थियो। भेटिएका ३ वटै शवको प्रकृति उस्तै रहेको मोरङ प्रहरीले जनाएको छ। मोरङ र ललितपुरमा भेटिको ३ जनालाई अलग–अलग समयमा डोरीले बाँधेर हत्या गरी सानो खाल्डो खनेर चाँडो शव गलाउनका लागि नुन हालिएको थियो। मोरङ प्रहरी प्रमुख जनार्दन जिसीका अनुसार ३ वटै शव एउटै प्रकृतिबाट हत्या गरी एकै किसिमले खाल्डोमा पुरिएको अवस्थामा भेटिएका थिए। उनले सानो खाल्डो खनेर घाँटी र जिउ डोरीले बाँधी, शवलाई सिधा पारेर राखी शव चाँडो गलाउनका लागि नुन हालेर १० फिटभन्दा गहिरो खाल्डोमा पुरिएको थियो।  

मोरङमा भेटिएको २ वटा शवमध्ये सुनसरीको धरान नगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौं बस्दै आएका ३२ वर्षीय शम्भु चौधरीलाई उखुबारीमा र ललितपुरमा भेटिएका तेह्रथुम संक्रान्ति–२ घर भई काठमाडौं महानगरपालिका–८ गोठाटार बस्ने ६३ वर्षीय मोहन लिम्बूलाई एउटा घरको पछाडि गाडिएको अवस्था उत्खनन गरिएको थियो। श्रेष्ठ र चौधरीको शव माघ १३ र १४ गते तथा लिम्बूको २० गते प्रहरीले शव उत्खनन गरी खाल्डोबाट बाहिर निकालेको थियो। हत्या गरिएको भनिएका ३ जना व्यवसायिक साझेदार भएको खुलेको छ। मृतकको शारीरिक बनावट र घटनास्थलमा भेटिएको कपडा तथा कागजातका आधारमा आफन्तले शवको पहिचान गरेको प्रहरीले जनाएको छ।  

प्रहरीले ३ जनाको हत्या आरोपमा ३ जनालाई पक्राउ गरी शुक्रबार विराटनगरमा सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका–२१ घर भई काठमाडौं बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङ जहदा गाउँपालिका–४ सिस्वनीका २९ वर्षीय अमित साह भन्ने दिनानाथ सोनार र मोरङकै धनपालथान गाउँपालिका–७ कमलपर पश्चिम टोलका ६२ वर्षीय नासिर आलम रहेका छन्। मण्डललाई काठमाडौं, सोनार र आलमलाई विराटनगरबाट पक्राउ गरिएको थियो।  

एसपी जिसीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट मुख्य योजनाकार मण्डल देखिएको छ। मण्डलले विभिन्न व्यक्ति प्रयोग गरी फरक–फरक समयमा ३ जनाको एकै प्रकारबाट हत्या गरिएको खुलेको छ। लिम्बूलाई मंसिर २८ गते हत्या गरी मण्डलले आफ्नो डेरा पछाडि गाडेका थिए। श्रेष्ठलाई पुस ५ र चौधरीलाई पुस ७ गते उखुबारी नजिक लगेर हत्या गरी उखुबारीमा गाडिएको थियो।    

सिरहाका मण्डलसँग मिलेर उनीहरुले जग्गालगायतको कारोबार गर्दै आएको पाइएको प्रहरीले जनाएको छ। मृतक ३ जना र मण्डल गरी ४ जना व्यवसायिक साझेदार हुन्। जग्गालगायतको कारोबारको रकम बाँडफाँटमा विवाद भएको र मण्डलले कारोबार रकम एकलौटी बनाउने उद्देश्यका साथ भारतीय र नेपाली अपराधी प्रयोग गरेर ३ जनाको हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी जिसीले बताए। अनिललाई बिहीबार काठमाडौंबाट विराटनगर ल्याइएको छ। सुनसरीको भन्टाबारी र बर्जुबाट ७ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। प्रहरीले धरान, काठमाडौं, झापा, विराटनगरलगायतका स्थानबाट पनि केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। हत्या गरिएकामध्ये श्रेष्ठको साथबाट परिचय खुल्ने कागजात भेटिएकाले शव पहिचानदेखि घटनाको अनुसन्धान गर्न सम्भव भएको प्रहरीले जनाएको छ।  

हत्या गर्नुअघि उनीहरुलाई विराटनगरको रत्ना होटल र मेट्रोसिटी गेस्ट हाउसमा राखेको पाइएको प्रहरी स्रोतले बतायो। गत मंसिर पहिलो साता व्यवहार मिलाउन भन्दै श्रेष्ठ काठमाडौंबाट पूर्वतर्फ आएका थिए। चौधरी पनि उनीसँगै आएको प्रहरी निष्कर्ष छ। उनीहरुसँग सम्पर्क भएकाहरुको विवरण हेर्दै जाँदा प्रहरीले चौधरी, मण्डल र बिहीबार शव भेटिएका मोहन लिम्बूको एक आपसमा सम्बन्ध भएको फेला परेको हो।  

प्रहरी स्रोतका अनुसार हत्यामा ८ जना भारतीय नागरिकको प्रयोग गरेको देखिन्छ। व्यवसायिक साझेदार मण्डलले श्रेष्ठ, चौधरी र लिम्बूको हत्यामा प्रतिव्यक्ति ५ लाख रूपैयाँ दिएर अपराधी प्रयोग गरेको पाइएको छ। ५ लाख दिने शर्त अनुसार हत्यामा संलग्नले प्रतिव्यक्ति ३ लाख रूपैयाँ लिइसकेको र २ लाख रूपैयाँ लिन बाँकी रहेको प्रहरी स्रोतले भन्यो। लिम्बूको हत्यापछि मण्डल मंसिर २८ गते विराटनगर आएको पाइएको छ। मण्डलसँग श्रेष्ठ र चौधरी पनि विराटनगर आएको पाइएको छ।

प्रहरी स्रोतका अनुसार लिम्बूको हत्या भइसके पनि श्रेष्ठ र चौधरीलाई भने घटनाका बारेमा थाहा दिइएको थिएन। श्रेष्ठ र चौधरीले साझेदार लिम्बूको खोजी धेरै गर्न थालेपछि उनीहरुको पनि हत्या भएको प्रहरीको निष्कर्ष छ। उनीहरु ४ जनाले जग्गा, हाइड्रो पावर, सिमेन्ट उद्योगलगायतमा लगानी गरेको र एउटा व्यवसायबाट एक करोडभन्दा बढी कमाई हुन थालेकाले त्यही पैसाको लोभमा मण्डलले साथीहरुको हत्या गरी सबै एकलौटी बनाउने योजनाका साथ हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले भन्यो।

प्रकाशित: २१ माघ २०७८ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App