६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मोरङ र ललितपुरमा भएको हत्याका आरोपी पक्राउ

मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एकजनाको हत्या गर्ने आरोपीलाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा सुनसरी धरान–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी शव गाडेको र गोदावरी–१२ ठेचो चरङ्गखेलस्थित गोदाम घरमा ६३ वर्षीय, तेह्रथुम सङ्क्रान्ति–२ घर भई हाल काठमाडौँ–३ गोठाटार बस्ने मोहन लिम्बूको हत्या गरी गाडेको आरोपमा ती तीन जनालाई पक्राउ गरी यहाँ सार्वजनिक गरिएको छ।

यसरी पक्राउ पर्नेहरूमा मुख्य आरोपी सिरहा नगरपालिका–२१ घर भई हाल काठामाडौँ बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङ धनपालथान गाउँपालिका –७ का कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका–४ सिसवनी बस्ने २९ वर्षीय अमित साह भन्ने दीनानाथ सोनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।

चौधरी र श्रेष्ठको शव गाडेको अवस्थामा धनपालथान गाउँपालिका–६ दिलीप सिंहरीको उखुबारीमा शङ्कास्पद रुपमा माघ १२ गते फेला परेको र लिम्बूको शव ललितपुर गोदावारी–१२ ठेचोमा गाडेको अवस्थामा माघ २० गते फेला परेको थियो।

हत्याका आरोपितहरूले लिम्बूलाई मङ्सिर २८ गते, श्रेष्ठलाई पुस ५ र चौधरीलाई पुस ७ गते डोरी र मफलरको प्रयोग गरी हत्या गरी शव छिटो गलोस् भन्नका लागि नून प्रयोग गरेका थिए। हत्याका आरोपी मण्डलले आर्थिक कारोबारको विवादले हत्या गरेको र अन्य दुईजनालाई हत्या गर्न रकम प्रदान गरी सहयोग लिएको प्रहरीले जनाएको छ।

निजहरूले तीनवटा शवलाई गाड्नका लागि एकै प्रकृतिको खाल्डो खन्ने र पुर्नका लागि खन्ती र कोदालोको प्रयोग गरेको उपरीक्षक जिसीले जानकारी दिए। आरोपीहरूले श्रेष्ठ र चौधरीलाई गाडेको स्थानबाट १०० मिटर उत्तर कमलपुर जाने नहरमा हत्या गरेका प्रहरीले जनाएको छ। प्रहरीले हत्यामा प्रगोग गरिएको ६ पोका नून र एक थान कोदालो बरामद गरेको छ।

प्रहरी गहन अनुसन्धान र मोबाइलमा भएको कुराकानीका आधारमा आरोपीहरूलाई पक्राउ गर्न सफल भएको हो। आरोपीमध्ये मण्डललाई यही माघ २० गते काठमाडौं बल्खुबाट, आलम र सोनारलाई माघ २० गते विराटनगर–१७ मटेरुवा र विराटनगर–५ दामाबन्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।

हत्याका आरोपी मण्डल व्यावसायिक कामको सिलसिलामा मृत श्रेष्ठ चौधरीसँग मङ्सिर २९ गते विराटनगर आएका थिए। हत्या हुनुमा प्रमुख कारणमध्ये कारोबारको रकम एकलौटी बनाउने उद्देश्य भएको हुनाले यस कार्यमा थप अन्य सहयोगी हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ। रासस

प्रकाशित: २१ माघ २०७८ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App