२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हिमपातले यातायात, टेलिफोन र विद्युत सम्पर्क टुटायो

उच्च भेगमा भीषण हिमपात

मुस्ताङको हिमपात। तस्बिरः नागरिक

हिमपातले हिमाली जिल्लाका बासिन्दाको दैनिकीलाई सकसपूर्ण बनाईदिएको छ। विभिन्न जिल्लाका उच्च भेगमा भारी हिमपात भएको त्यहाँस्थित प्रशासनले बताएको छ। हिमाली जिल्ला मनाङ, मुस्ताङ, म्याग्दीसहित गोरखा र कास्कीका उच्च भेगमा बाक्लो हिमपात भएको छ।  

हिमपातले हिमाली जिल्लाको अरु जिल्लासँग सम्पर्क टुटेको छ। मनाङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध छ। त्यस्तै म्याग्दीको गुर्जामा पनि विद्युत र टेलिफोन सम्पर्क टुटेको छ। हिमाली जिल्लासम्मको यातायात पनि अवरुद्ध भएको छ।  

मुस्ताङमा बिहीबार बेलुकीदेखि हिउँ पर्न थालेको हो। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बिहीबार बेलुकीदेखि हिउँ पर्न थालेकोमा शुक्रबार बिहान केहीबेर रोकिएर पुनः हिउँ पर्न थालेको जानकारी दिए। ‘शुक्रबार बिहान केहीबेर रोकिएर फेरि परेको छ। माथिल्लो भेगमा अधिक हिमपात भएको छ,’ ढकालले भने, ‘यो बेला चिसो अधिक बढेकोले सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्।’

यो सिजनमा जाडो छल्न हिमाली जिल्लाका बासिन्दा तल (पोखरा, काठमाडौं) झर्छन। त्यसले गर्दा त्यहाँका बस्तीमा मान्छे पनि कम छन। ‘चिसोका कारण जनजीवन प्रभावित भएको छ, गाउँलेहरु घरभित्रै बसेका छन,’ उनले भने। ढकालका अनुसार लोमान्थाङ क्षेत्रमा एकफिट बाक्लो हिउँ जमेको छ। त्यस्तै लेते क्षेत्रमा पनि हिउँ जमेको छ। लेते क्षेत्रमा हिउँ परेकोले सवारी आउजाउ रोकिएको पनि उनले जानकारी दिए। ढकालका अनुसार लेतेभन्दा माथि गाडी चल्न सक्ने अवस्था छैन। त्यस्तै सदरमुकामबाट मुक्तिनाथ क्षेत्रसम्म पनि सवारी आउजाउ रोकिएको छ।  

‘यसैपनि सर्वसाधारण तल झरेकोले चहलपहल कम छ। त्यसैमाथि चिसो बढेकोले बाहिर निस्कन सक्ने अवस्था रहन्न,’ उनले भने। उनका अनुसार तापक्रम पनि निकै नै कम भएको छ। रातीको तापक्रम माइनस १० डिग्रीसम्म झर्ने उनले बताए। ‘हिउँ परेको बेला बरु कम चिसो हुन्छ, जब हिउँ पर्न रोकिन्छ, त्यसपछि बल्ल चिसो बढदै जान्छ,’ ढकालले भने।  

अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका संरक्षण अधिकृत ऋषि बरालले पनि हिमपातका कारण जिल्लाको अधिकांश भाग सेतै भएको छ। तापक्रम पनि निकै नै तल झरेको उनले बताए। माथिल्लो भेग लोमान्थाङ लगायतका क्षेत्रमा यतिबेला आउजाउ नै रोकिएको बरालले बताए। ‘सबैतिर सुस्ताएको छ। हिमपातले किसान भने खुसी भएका छन्,’ उनले भने, ‘यो सिजनको दोश्रो पटक बाक्लो हिमपात भएको छ।’

अर्काे हिमाली जिल्ला मनाङमा अझ बढी बाक्लो हिमपात भएको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढुंगानाका अनुसार दुईफिट जति बाक्लो हिउँ जमेको छ। ‘मनाङमा बाक्लो हिमपात भएको छ। दुईफिट जति हिउँ जमेको छ,’ ढुंगानाले भने, ‘माथिल्लो क्षेत्रमा झनै बढी हिउँ परेको छ।’

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी डिएसपी मिनबहादुर घलेका अनुसार मनाङमा हिमपातका कारण फोन सम्पर्क विच्छेद भएको छ। त्यहाँ इन्टरनेट पनि चलेको छैन। उनका अनुसार टेलिफोन बन्द छ। सदरमुकाम चामे क्षेत्रमा दुईफिट हिउँ जमेको डिएसपी घलेले जानकारी दिए।  

त्यस्तै अर्काे जिल्ला म्याग्दीको माथिल्लो गाउँ गुर्जामा पनि बाक्लो हिमपात भएको छ। धवलागिरी गाउँपालिका–१ गुर्जामा दुईफिट हिउँ जमेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। उनका अनसार टेलिफोन पनि अवरुद्ध छ। विद्युत अवरुद्ध छ । विजुलीका पोल ढलेका छन्। गुर्जा म्याग्दीको सबैभन्दा दुर्गम र माथिल्लो भेगको बस्ती हो। त्यहाँ एकै गाउँमा २६५ घर छन्। सदरमुकाम बेनीदेखि कम्तिमा दुई दिन लगाएर गुर्जा पुग्न सकिन्छ। अझै पनि सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म एक दिनको गाडीको यात्रा र त्यसपछि थप एकदिन हिडेर बल्ल गुर्जा पुग्न सकिन्छ।  

त्यस्तै उत्तरी गोरखामा पनि बाक्लो हिमपात भएको छ। बिहीबार रातीदेखि परेको हिउँ शुक्रबार दिउँसोसम्म रोकिएको छैन। चुमनुब्री गाउँपालिको छेकम्पार, सामागाउँ, ल्हो, बिही, प्रोकमा बाक्लो हिउँ परेको छ। धार्चे गाउँपालिकाको पनि अधिकांश ठाउँमा हिमपात भएको छ। लाप्राकको गुप्सिपाखा हिउँले ढपक्कै ढाकेको वडाध्यक्ष राज गुरुङले बताए।

गोरखा बारपाक

गुप्सीपाखामा दुई फिट बाक्लो हिउँ जमेको छ। योपटक लाप्राकबेसीमा पनि हिउँ परेको उनले बताए। चुमनुब्री र धार्चेको लाप्राक हिउँ परिरहने ठाउँ हो। धार्चेको काँशिगाउँ, केरौँजा, उहिया लगायत ठाउँमा पनि हिमपात भएको छ। बारपाक सुलिकोट गाउँपालिकाको बारपाक गाउँमा पनि बाक्लो हिउँ परेको स्थानीय जितबहादुर घलेले बताए। ‘शुक्रबार बिहानैदेखि हिउँ परेको र घरको छानामा हिउँ जमेको छ,’ उनले भने। यस्तै अजिरकोट गाउँपालिकाको भच्चेक, नम्कीमा पनि हिउँ परेको छ। शुक्रबार बिहानैदेखि हिउँ परेको स्वास्थ्यकर्मी सुमना श्रेष्ठले बताईन्।  

सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटमा पनि हिउँ परेको छ। ‘पहिले पहिले कोटतिर हिउँ पथ्र्यो भन्ने सुनेको हो,’ वडाध्यक्ष सुरज ढकालले भने, ‘तर मैले यहाँ हिउँ परेको थाहा पाएको थिईन्, अहिले हिउँले श्रीनाथमण्डली डाँडा सेताम्मै छ।’ उत्तरी गोरखामा चिसो अत्याधिक बढेको छ। ‘बिहीबारदेखि अहिलेसम्म हिउँ परेको छ, चिसो धेरै बढ्यो’, चुमनुब्री ७ छेकम्पारका वडा अध्यक्ष पासाङ लामाले भने, ‘मानिहरु घर भित्रै बसिरहेका छन्।’

प्रकाशित: २१ माघ २०७८ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App