१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बर्जु महोत्सवः भारतीय कलाकारलाई प्रशासनको स्वीकृत बेगर डाक्नु गलत

दस दिनअघि सुनसरी दक्षिणवर्ती बर्जुमा सञ्चालित महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादवलाई प्रशासनको स्वीकृत बेगर डाक्दा आगजनी र तोडफोडको घटना भएको छानबिन समितिले जनाएको छ।  

जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको नेतृत्वमा गठन गरेको पाँच सदस्यीय छानबिन समितिले कलाकार यादवको सुरक्षाका लागि काही कतै जानकारी नदिएको र आयोजकले आफूखुसी बोलाएको निचोड निकालेको छ।

महोत्सव आयोजक समितिले प्रशासन कार्यालयको निर्णयलाई अटेर गरी माघ ४ गते भारतीय चर्चित भोजपुरी कलाकार यादव आउने सूचना गरेर अवलोकनकर्तासमक्ष तीन सय र पाँच सयको प्रवेश शुल्क लिएपनि अन्तिममा नआएको झोकमा आक्रोसित समूहले आगजनी र तोडफोड गरेको थियो। त्यसको दुई दिनपछि जिल्ला प्रशासन कार्यायले सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्की, सशस्त्र प्रहरी वल ४ नंं. गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य रहेको समिति गठन गरिएको थियो।  

समितिले पाँच दिनभित्रमा प्रतिवेदन पेस गरी सकेको छ। प्रतिवेदन माघ १६ गते सुरक्षा समितिको बैठक बसेर सार्वजनिक गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनका अनुसार प्रतिवेदनबारे विस्तृत रुपमा प्रशासन कार्यालयले सार्वजनिक गर्नेछ।  

घटनालगतै जिल्ला प्रशासन कार्यालयले पटक(पटक ध्यानाकर्षण गराउँदा पनि गाउँपालिकाले त्यसलाई रोक्न पहल नगरेको प्रमुख जिल्ला अधिकारी यादवले जनाएका थिए।

महोत्सव बर्जु सामूदायिक विकास केन्द्रले सञ्चालन गरेको थियो। एक सय ५२ विघा क्षेत्रफलमा फैलिएर चराको मुख्य बासस्थान बन्दै आएको बर्जुतालको प्रचारप्रसार गर्न पुस २३ गतेबाट सुरु भएको महोत्सव माघ ४ गते सकिँदै थियो। महोत्सव सकिने दिन भारतीय चर्चित भोजपुरी कलाकार खेसरीलाल यादव आउने पूर्व सूचना गरे अनुसार ठूलो संख्यामा अवलोकनकर्ता सहभागी भएका थिए। सहभागीले बिहान ११ बजेदेखि प्रवेश शुल्क तिरेर महोत्सव स्थलमा प्रवेश गरेपनि दिउँसो ४ बजेसम्म पनि कलाकार सहभागी नभएपछि आक्रोसित समूहले आयोजकले ठगी गरेको भन्दै अन्धाधुन्द आगजनी र तोडफोड गरेको थियो। भारतीय कलाकार खेसरीलाल भने विराटनगरमा आएर फर्किएका थिए।  

कलाकार यादव नआएको झोकमा आक्रोसित समूहले चारवटा भारतीय गाडी आगजनी गरेका थिए। आक्रोसित समूहले महोत्सवमा रहेका अन्य थुप्रै सामग्री तोडफोड गरेको थियो।

प्रहरीले स्थितीलाई नियन्त्रणमा लिनका लागि चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। महोत्सव स्थलमा तोडफोड र आगजनीपछि मात्र प्रहरी घटनास्थल पुगेकाले पनि बढी क्षति भएको थियो।

प्रकाशित: १४ माघ २०७८ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App