२७ पुस २०८१ शनिबार
image/svg+xml
समाज

कठ्यांग्रिने चिसोले मजदुर बढी मारमा

दुई सातादेखि बढेको चिसोले सुदूरपश्चिमको जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो कुहिरो, बदली र शीतलहरले चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो।

दुई सातादेखि राम्ररी घाम लागेको छैन। कठ्यांग्रिने चिसोले दैनिक मजदुरी गर्नेलाई निकै गाह्रो भइरहेको छ। ‘काम गर्न ननिस्कौं भने छाक टार्नै गाह्रो हुन्छ,’ घर निर्माणमा संलग्न मजदुर सीता चौधरीले भनिन्, ‘अत्यधिक चिसो बढेकाले कामै गर्न सकिँदैन, मुटु नै कमाउँछ।’ आगो बालेर हात सेकाउँदै काम गरिरहेको उनले बताइन्।

बिहानैदेखि लाग्ने कुहिरो र चल्ने शीतलहरले दैनिक कामकाज गर्न गाह्रो भइरहेको धनगढीका गोपाल भट्ट बताउँछन्। ‘विगत दुई सातादेखि बादल, कुहिरो र शीतलहरले अत्यधिक चिसो बढेको छ,’ उनले भने, ‘चिसो बढेसँगै दैनिक कामकाज गर्न घरबाहिर निस्कनै गाह्रो हुँदा जनजीवन कष्टकर बन्दै गएको छ।’

अत्यधिक चिसोले तराईमा मात्र होइन, पहाडी क्षेत्रको जनजीवन पनि कष्टकर बनेको छ। चिसो बढेपछि सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वाटर कैलालीले धनगढी बजारका चोक र चौतारामा आगो बाल्न दाउरा वितरण गरेको छ। 

डिभिजन वन कार्यालय धनगढीसँगको समन्वयमा केही चोक र चौतारामा आगो बाल्न दाउरा उपलब्ध गराएको सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वाटर कैलालीका उपरीक्षक धनबहादुर सिंहले बताए। उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले चोक र चौतारामा आगो बाल्न दाउरा वितरण गर्न आग्रह गरेअनुसार नै हामीले यो काम थालेका हौं।’

अत्यधिक चिसो भएपछि विपद्का नाममा प्रदेश सरकारले छुट्याएको रकमबाट सहारा घरमा बस्दै आएकालाई कम्बल वितरण गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। ‘अत्यधिक चिसो बढेका कारण हामीले दैवी प्रकोपका नाममा आएको बजेटबाट केही थान कम्बल बाँड्यौं,’ उनले भने।

चिसो बढेपछि केही सामुदायिक वनले पनि ठाउँठाउँमा आगो बाल्न उपभोक्तालाई दाउरा वितरण गर्न थालेका छन्। सामुदायिक वनले सामाजिक उत्तरदायित्व वहन गर्दै सर्वसाधारणलाई आगो बालेर ताप्न दाउरा वितरण गरिरहेको जनाएका छन्।

कठ्यांग्रिने जाडोले वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने बढी प्रभावित बनेका छन्। केही दिनदेखि सुदूरपश्चिमको तापक्रम घट्दा चिसो अत्यधिक बढेको मौसम पूर्वानुमान महाशाखा काठमाडौंकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन्।

प्रकाशित: १४ माघ २०७८ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App