२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कारागारबाट भागेका कैदी एक महिनापछि समातिए

घोराही कारागारबाट फरार भएका कैदी नाईके एक महिनापछि पक्राउ परेका छन्। गत पुस ८ गते कारागारबाट भागेका कैदी नाईके यमराज परियारलाई प्रहरीले बाँके स्थित नेपाल भारत सीमा क्षेत्र जमुनाहा नाकाबाट नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका कैदी परियारलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।  

परियार गत पुस ८ गते बिरामी भएको नाटक गरी कारागारबाट निस्केका थिए। उनलाई उपचारका लागि भन्दै एक प्रहरीले मोटरसाईकलमा राखेर अस्पताल पुर्‍याउन भनि लिएर गएका थिए। परियार त्यसैक्रममा प्रहरीकै मोटरसाईकल लिएर भागेका थिए।  

एक महिनाअघि भागेका परियारको खोजतलास जारी राखेपनि प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको थिएन। सोमबार उनलाई बाँकेको जमुनाहा नाकाबाट नियन्त्रणमा लिईएको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार परियार सोही नाकाबाट भारत भाग्दै थिए। एसपी काफ्लेले यसलाई प्रहरीको ठूलो सफलता भएको बताएका छन्। ‘जमुनाहा नाकाबाट भारत प्रवेश गर्न थालेको सूचना पाएपछि नाका केन्द्रित खोजतलासका क्रममा परियारलाई जमुनाहा नाकाबाट नियन्त्रणमा लिएका हौँ,’ एसपी काफ्लेले भने, ‘यो प्रहरीको ठूलो सफलता हो।’  

परियारको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालको संयोजकत्वमा टास्कफोर्स निर्माण गरिएको थियो। यो फोर्सले भारतीय सीमा प्रहरीसंगको समन्वयका आधारमा परियारलाई नाकाबाट नियन्त्रणमा लिन सफल भएको एसपी काफ्लेले जानकारी दिए। ‘हामीहरुले भारतीय प्रहरीसंगको समन्वयका आधारमा पनि परियारलाई नियन्त्रणमा लिन सफल भयौँ,’ उनले भने, ‘यसर्थ परियारलाई नियनत्रणमा लिन भारतीय प्रहरीको पनि ठूलो सहयोग छ।’  

पक्राउ परेका परियारलाई अदालतमा पेश गर्ने र कारागार ऐन अन्तर्गत कारबाहीका लागि सिफारिस गरिने छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी काफ्लेका अनुसार कारागार ऐन अन्तर्गत भगौडा परियारलाई पहिला भुक्तान हुन बाँकी कैदको डेढ गुणा बढी थप कैद सजाय हुने छ। ‘कारागार ऐनले कैदीहरु भागेको खण्डमा उनीहरुको कैद भुक्तान हुन बाँकी कैदको डेढ गुणा कैद सजाय थप हुने व्यवस्था छ,’ उनले भने, ‘परियारलाई पनि अब हामी सोही अनुसारको मुद्दा चलाउछौँ।’

ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई २०७२ भदौ १६ गतेदेखि परियारले कैद भुक्तान गरिरहेका थिए। उनले आफ्नै प्रेमिकाको हत्या गरेको मुद्दामा अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो।  

७ वर्ष कैद भुक्तान गरेका उनी गत पुस ८ गते भागेका थिए। छालाको उपचार गर्न भनि कारागारबाट निस्केका उनले आफूसंग मोटरसाईकलमा रहेका प्रहरी जवान धनबहादुर चौधरीको मोटरसाईकल लिएर भागेका थिए। उनले सुरुमा ति प्रहरी चौधरीलाई एक चिया पसलमा पुर्‍याएको र पछि घोराहीकै अर्को होटेलमा लगेका थिए। प्रहरीका अनुसार त्यहाँ केही युवतीहरुको समेत प्रयोग भएको थियो। प्रहरी जवान चौधरीलाई युवतीसंगको यौन कृयाकलापमा संलग्न गराई कैदी परियार उनै प्रहरीको मोटसाईकल लिएर फरार भएका थिए। कैदीले लिएको प्रहरीको मोटरसाईकल भने केही दिनपछि घोराही लमही सडक खण्डको मसोट भन्ने स्थान नजिकै जंगलमा फेला परेको थियो।  

जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले भागेका कैदी नियन्त्रणमा आईसकेकाले उनलाई भगाउन सहयोग गर्नेहरुको पहिचान गर्न सहज हुने बताए। आफू भाग्नका लागि आर्थिक प्रलोभनमा पारेर परियारले ठूलै सेटिङ गरेको आशंकामा प्रहरी छ। ‘भागेको मान्छे समातिएको छ, अब उसंग हामीहरुले अनुसन्धान थाल्छौँ,’ एसपी काफ्लेले भने, ‘उसको अनुसन्धानका क्रममा यो प्रकरणमा मुछिएका थप मान्छेहरु कोको हुन्? भन्ने थप एकिन जानकारी प्राप्त हुने छ।’  

२ जना पूर्पक्षमा कारागार चलान  

कैदी भागेको प्रकरणमा संलगन रहेको आशंकामा पक्राउ परेका ७ जना मध्य २ जना पूर्पक्षका लागि कारागार चलान भएका छन्। घोराही कारागारका जेलर अमर ओलीका अनुसार भगौडा कैदी परियारलाई मोटरसाईकलमा लिएर जाने प्रहरी जवान धनबहादुर चौधरी र युवती समी चौधरी पूर्पक्षका लागि कारागार चलान भएका छन्। उनीहरु कैदी भगाउने मुख्य आरोपित मध्यका हुन्। यसैगरि यसै घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा आएका कारागारका तत्कालीन जेलर युवराज परियार लगाएत अन्य ४ जना धरौटीमा रिहा भएका छन्। अर्का एकजना भने साधारण तारेखमा छुटेको जेलर ओलीले जानकारी दिए।

प्रकाशित: १० माघ २०७८ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App