जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह जलाधारबाट विद्युत् उत्पादनका लागि विस्तृत सम्भाव्यता अध्ययन (सर्भे) गर्न अन्तर्राष्ट्रिय विज्ञ टोली हेलिकप्टरमार्फत जुम्ला पुगेको छ।
जर्मन र भारतीय जलविद्युत् विशेषज्ञसहितको टोलीले गिडिदहको पानीको उद्गम स्थानदेखि प्रस्तावित पावरहाउस स्थलबारे हवाई तथा स्थल दुवै अवलोकन सम्पन्न गरेको छ। टोलीले अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको तयारी सुरु गरेको छ, जसका आधारमा जलविद्युत् परियोजनाका सबै संरचना निर्माण हुनेछन्।
तातोपानी–४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार स्थानीय तहको समन्वयमा करिब एक वर्षदेखि प्राविधिक सर्भे कार्य सञ्चालन हुँदै आएको छ। ‘पहिले स्थानीय प्राविधिकमार्फत गरिएको प्रारम्भिक सर्भेलाई अहिले विज्ञ टोलीले प्रत्यक्ष स्थलमै पुगेर थप पुष्टि गरेको हो,’ उनले बताए।
हेलिकप्टर तातोपानी–४ स्थित रातेखोला औद्योगिक ग्राममा अवतरण गरिएको थियो। मुख्य विज्ञ टोली फर्किए पनि केही प्राविधिक अहिले पनि गाउँमै बसेर निरन्तर सर्भे गरिरहेका छन्।
नेपाल विद्युत् प्राधिकरणले गिडिदह क्षेत्रबाट ७२ मेगावाट क्षमताको ऊर्जा उत्पादनका लागि अनुमति दिइसकेको छ। तर हालसम्मको प्रारम्भिक प्राविधिक अध्ययनले करिब ३२ मेगावाट विद्युत् उत्पादन सम्भावना देखाएको वडाध्यक्ष रोकाया बताउँछन्।
उनका अनुसार ड्रोनमार्फत भू-आकृति अध्ययन, पानी प्रवाह मापन, जलाधारको स्थायी क्षमता मूल्यांकन लगायत सबै प्रक्रिया तीव्र गतिमा भइरहेको छ। ‘आगामी वैशाखभित्र सम्पूर्ण अध्ययन प्रतिवेदन सार्वजनिक हुनेछ,’ उनले जानकारी दिए।
जलविद्युत् उत्पादनका लागि डीपीआर बनाउनेदेखि निर्माण तथा सञ्चालनको जिम्मेवारी आध्यन्त इन्भेस्टमेन्ट प्रालिले लिएको छ। कम्पनीले पाँच वर्षभित्र परियोजना निर्माण गरेर विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। ‘पहिलो चरणको रिपोर्टले ८० प्रतिशत उत्पादन सम्भावना देखाइसकेको छ,’ वडाध्यक्ष रोकायाले भने, ‘स्थानीय समुदायको स्रोत र कम्पनीको लगानी समायोजन गरेर परियोजनालाई द्रुत गतिमा अघि बढाइन्छ।’
गिडिदह पर्यटकीय सम्भावना बोकेको क्षेत्र पनि हो। यहाँबाट उत्पादन हुने विद्युत् बिक्री हुन थालेपछि तातोपानी गाउँपालिकाले ऊर्जा-आधारित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने दाबी गरेको छ। स्थानीय तहका अनुसार परियोजनाले रोजगारी, पूर्वाधार र पर्यटन विस्तारमा प्रत्यक्ष योगदान पुर्याउने छ।
प्रकाशित: १० मंसिर २०८२ १०:४० बुधबार





