६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मधेसका सहिद परिवारलाई मधेस सरकारबाट सम्मान: ५९ सहिद परिवारलाई लाखको चेक

मधेस आन्दोलनका क्रममा सहादत दिएका सहिद परिवारलाई मधेस सरकारले आर्थिक सहयोग तथा सम्मान गरेको छ। माघ ५ गते बुधबार राजविराजमा आयोजित चौथौ ‘बलिदानी दिवस’का अवसरमा सहिद तथा घाइते परिवारलाई नगदसहित सम्मान गरिएको हो। 

मधेस सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत मधेसी सहिद प्रतिष्ठानद्वारा राजविराजमा आयोजित बलिदानी दिवस कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सहिद परिवारका सदस्यहरूलाई ३÷३ लाख रूपैयाँसहित सम्मानपत्रबाट सम्मान गरे।

बलिदानी दिवसको अवसरमा मधेस आन्दोलनका ५९ जना सहिदका परिवारलाई ३÷३ लाख रूपैयाँको चेक प्रदान गरिएको मधेस सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए। घाइते तथा अंगभंग भएका ८१ जनालाई २५ हजारदेखि ३ लाख रूपैयाँसम्म रकम वितरण गरिएको साहले बताए।

बलिदानी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले बलिदानीपूर्ण मधेस आन्दोलनकै बलमा मुलुकमा संघीयता आएको उल्लेख गरे। मधेस आन्दोलनका सहिद परिवारलाई मधेस सरकारले रोजगारको प्रबन्ध गरिरहेको भन्दै रोजगारबाट वञ्चित रहेका परिवारलाई भरणपोषण बापत प्रदेश सरकारले मासिक २१ हजार रूपैयाँ दिने गरी स्थायी व्यवस्था गर्न लागेको बताए।

मुख्यमन्त्री राउतले मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनप्रति सम्मान मिलेको बताए। ‘मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेस प्रदेशको स्थापना थियो,’ उनले भने, ‘त्यो सपना सफल भएको छ। यसबाट मधेस आन्दोलनले सम्मान पाएको छ, सहिदहरूप्रति सच्चा श्रद्धाञ्जी भएको हामीले महसुस गरेका छौँ,’ उनले भने।’  

मधेस प्रदेशको घोषणाले पहिचानलाई प्रतिनिधित्व मिलेको छ,’ मुख्यमन्त्री राउतले भने। अबको संघर्ष असमनता, विभेद, शोषणको अन्त्यका हुने उनले बताए। मधेस आन्दोलनको प्रथम सहिद रमेश महतोले सहादत प्राप्त गरेको दिनलाई ०६४ साल माघ ५ गतेदेखि बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ। ०७४ सालमा मधेस सरकार गठनपछि सरकारले यो दिवसको स्वामित्व लिँदै प्रदेशमा सार्वजनिक बिदा घोषणा गर्दै आएको छ।

प्रकाशित: ६ माघ २०७८ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App