७ वैशाख २०८१ शुक्रबार
समाज

अत्यधिक जाडोले जनजीवन प्रभावित

फाइल तस्बिर

लगातार चार दिनदेखि घाम नलाग्दा मधेसको जनजीवन प्रभावित भएको छ। बाक्लो कुहिरो लागेको तथा चिसो पश्चिमा हावा दिन–रात चलिरहेकोले अत्यधिक चिसो बढेको हो।

अत्यधिक जाडो भएपछि बजार तथा यातायातमा पनि प्रभाव परेको छ। अत्यधिक जाडोले गर्दा सर्वसाधारण घरबाट बाहिर निस्किन मुस्किल भएपछि बजार क्षेत्रमा चहलपहल कम हुन पुगेको हो। बजार क्षेत्रमा चहलपहल कम भएपछि पसलमा खासै बिक्री नभएको व्यावसायीहरुले बताएका छन्।  

किराना, कपडा, पारचुन जस्ता पसलमा बिक्री धेरै घटेको व्यावसायीहरुको भनाइ छ। रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले अत्यधिक मात्रामा जाडो बढेपछि व्यापार व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परेको बताएका छन्।  

अत्यधिक जाडो बढेपछि गाउँघरका मानिस घुर बालेर आगो ताप्न थालेका छन्। सामान्य दिनमा जाडोको समयमा साँझ र बिहान घुर ताप्ने सर्वसाधारणले जाडोबाट जोगिन दिनभर घुर ताप्न थालेका छन्। अत्यधिक चिसोबाट जोगिन घुर ताप्नु बाध्यता भएको चन्द्रपुर ४ का नागेन्द्र राय यादवको भनाइ छ।

अत्यधिक चिसो बढेपछि सार्वजनिक यातायातमा पनि प्रभाव परेको छ। सार्वजनिक यातायातमा झन्डै पचास प्रतिशतले यात्रु घटेको पाइएको छ। यसैगरी निजी सवारी साधनमा पनि व्यापक कमी आएको देखिएको छ। दिनभर पूरा व्यस्त रहने चोक तथा सडकहरुमा सामान्य दिनको तुलनामा पचास प्रतिशतभन्दा कम सवारी साधन देखिन थालेको प्रहरीको भनाइ छ।  

अत्यधिक चिसोले गर्दा अस्पतालहरुमा भीडभाड बढ्न थालेको पाइएको छ। रुघा, खोकी, दम र ज्वरोका बिरामी अस्पतालहरुमा बढ्न थालेको हो। जिल्ला अस्पताल गौरमा अन्य दिनको तुलनामा जाडोजन्य रोगीहरु दोब्बरको संख्यामा आउन थालेको छ। अस्पतालमा चिसोजन्य बिरामीको संख्या बढ्न थालेको जनाउँदै अस्पतालले सतर्क र सचेत रहन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ।

प्रकाशित: ५ माघ २०७८ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App