७ वैशाख २०८१ शुक्रबार
समाज

पुरातत्व विभागद्वारा अवशेषकाे उत्खनन जारी

रौतहटको मौलापुर नगरपालिका ५ पतौरामा जमिनमा भेटिएको अवशेषको उत्खनन भइरहेको छ। पुरातत्व विभागको टोलीद्वारा उत्खनन भइरहेको हो।  

पतौरामा २०५६ मा एक जनाले बारी खन्ने क्रममा जमिनमुनिबाट अनौठो इँटाहरु निस्कन थालेको बताएका थिए। पछि त्यसलाई उत्खननमा रोक लगाएर व्यवस्थित उत्खनन गर्दा महादेवको मूर्ति र मन्दिरको अवशेष भेटिएको थियो। अहिले पुरातात्विक महादेव नामले चिनिएको त्यही मन्दिरभन्दा करिब एक सय मिटर उत्तरमा अर्को अवशेष भेटिएको छ।  

मौलापुर नगरपालिकाले उक्त अवशेष उत्खननको लागि आर्थिक वर्ष २०७८/७९ मा पहल गरेपछि पुरातत्व विभागद्वारा उत्खनन भइरहेको छ। जारी उत्खननमा धरतीबाट एउटा भव्य महल वा मन्दिरको संरचना निस्केको देखेर स्थानीय अचम्भित भएका छन्।  

पुरातत्वविद देवेन्द्रनाथ तिवारी, पुरातत्व अधिकृत विष्णु पाठक, आर्किट्याक्ट रोशनी महर्जन, छविकार राजकुमार बन्जारा, प्राविधिक सहायक प्रतिमा सापकोटा र विराटबहादुर थापाको टोलीले गरिरहेको उत्खननमा देखिएको अवशेष बाह्रौँ शताब्दीको जस्तो देखिएको बताइएको छ।  

विस्तृत अध्ययन भएपछि यसको बारेमा थप जानकारी प्राप्त हुने टोलीको एक सदस्यले बताएका छन् तर संरचना, डिजाइन, इँटा र अन्य बनाबट हेर्दा बाह्रौँ शताब्दीको संरचना भएको हुन सक्ने पूर्वानुमान गर्न सकिन्छ।

बाह्रौँ शताब्दीको अर्थ तत्कालीन डोय राज्यसित सम्बन्धित वा त्यसको समकालीन भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ। बाह्रौँ शताब्दीको अवशेष मान्ने हो भने सिम्रौनगढमा स्थापना गरिएको डोय राज्य अर्थात् तिरहुत राज्यसित सम्बन्ध भएको अवशेषको रुपमा संरचनालाई लिनुपर्ने देखिन्छ।  

रौतहटको इतिहासको विषयमा जानकारी राख्ने सञ्जय साह मित्रले सिम्रौनगढको बारेमा धेरै सर्वसाधारणलाई एक पुस्ताबाट अर्को पुस्तामा जानकारी आइरहेको भए पनि पतौराको संरचनाको विषयमा कसैलाई केही पनि जानकारी नहुनु आफैँमा अनौठो भएको बताउँदै मित्रले अझ पुरानो समयको हुन सक्ने अनुमान गरेका छन्।

मौलापुर नगरपालिकाको अनुरोधमा पुरातत्व विभागले गरिरहेको उत्खननले सत्यतथ्य पत्ता लाग्ने विश्वास रहेको मौलापुर नगर प्रमुख रिनाकुमारी साहको भनाइ छ। पहिलेदेखि कसैलाई केही पनि जानकारी नरहेको ठाउँमा नयाँ संरचना भेटिनुले सबैलाई जिज्ञासु बनाएको बताउँदै नगर प्रमुख साहले उत्खननको नतिजा नआउँदासम्म खासै केही भन्न नसकिने बताएकी छन्। गत पुस २३ देखि पुरातत्व विभागले गरिरहेको उत्खननले पतौरा गाउँको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिने पतौराका ८० वर्षीय बीरबल साहले आशा व्यक्त गरेका छन्।

प्रकाशित: ३ माघ २०७८ १०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App