१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

न्यानोका लागि बालिएको कोइलाले ज्यान लियो

वीरेन्द्रनगर–१० बुदबुदीकी कल्पा विसी केही केही दिनअघि मात्रै कोरोनाविरुद्धको खोप लगाएकी थिइन्। कोरोनाको खोपका कारण ज्वरो आइराखेले शुक्रबार राति तीन छोरासँगै खाटमुनि कोइला बालेर सुतिन्। न्यानोका लागि बालिएको त्यही कोइलाले तीन छोरासहित कल्पाको ज्यान लियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कल्पा शुक्रबार राति साढे आठ बजेतिर खाना खाएर नौ वर्षीय छोरा निरज, सात वर्षीय छोरा चिरञ्जीवी र पाँच वर्षीय भदै सोमराजसँगै कोठामा सुत्न गएकी थिइन्।

घरमा कल्पाका देवर रमेश बुढा र ससुरा वीरबहादुर विसी पनि थिए। घर एउटै भएपनि ससुराको भान्छा फरक थियो। ‘चुह्लो फरक भएकाले बिहान खाना खाँदासम्म केही थाहा भएन, खाना खाएर बुवा वृद्धाश्रममा जानुभयो,’ रमेशले भने, ‘माघी भएकाले म पनि घरबाट निस्किएको थिए।’ बेलुका छ बजेतिर घर पुगेका वीरबहादुरले नाति र बुहारी नदेखेपछि बोलाउँदै उनको कोठामा पुगे। भित्रबाट चुकुल लगाइएको थियो। उनले छिमेकी गुहारे। जति बोलाउँदा पनि भित्रबाट आवाज नआएपछि उनीहरूले प्रहरीलाई खबर गरे।

शनिबार बेलुका साढे सात बजेतिर पुगेको प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहवरमा ढोका फोड्यो। ‘खाटमुनि कोइला बालेर चारजना सुतेको देखियो,’ घटनास्थल मुचुल्का गरेका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘झ्याल, भेन्टिलेटर र ढोका सबै बन्द अवस्थामा थियो भने मृतकको मुखबाट फिज आएको थियो।’

वीरबहादुरले बुहारी कोरोना खोप लगाएपछि बिरामी परेकाले विहान कुनै वास्ता नभएको बताए। ‘अरू बेला बिहानै बुहारी उठ्थिन्, नातिहरू पनि चाँडै उठ्थे, भेट हुन्थ्यो,’ उनले भने, ‘बुहारी बिरामी थिइन्, स्कुल पनि विदा भएकाले केटाकेटीहरूले मोबाइल हेरेका होलान्, त्यही भएर ढिलोसम्म सुतेका होलान् भन्ने लागेर म वृद्धाश्रम गएँ।’ उनले बेलुका फर्केर आउँदा पनि बुहारी र नातिहरूलाई नदेखेपछि बुहारी सुत्ने कोठामा गएको बताए। ‘भित्रबाट चुक्कुल लगाइएको थियो, बुहारी र नाति भन्दै बोलाएँ, कसैले भित्रबाट आवाज दिएनन्,’ उनले भने, ‘अनि घर भाडामा बस्ने र छिमेकीहरूलाई खवर गरे।’

जाजरकोटका शिवालय गाउँपालिकामा कार्यरत कल्पाका श्रीमान् कृष्णबहादुर आइतबार बिहान आएपछि मात्रै प्रहरीले घटनाको मुचुल्का उठाएको थियो। पोष्टमार्टम रिपोर्ट आएको छैन्। ‘घटनास्थल हेर्दा न्यानोका लागि खाटमुनि बालिएको कोइलाकै कारण निस्सासिएर मृत्यु भएको अनुमान लगाउन सकिन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले भने, ‘विस्तृत विवरण त पोष्टमार्टम रिपोर्टपछि नै खुल्ला।’  

एसपी विष्टले आइतबार पोष्टमार्टम गरेर शव परिवारको जिम्मा लगाइएको बताए। परिवारले आइतबार बेलुका भेरी नदीमा सामूहिक दाहसंस्कार गरेको छ। काजकिरिया भने जाजरकोटको शिवालय गाउँपालिका–६ टाटागुयालास्थित घरमा गर्ने परिवारले जनाएको छ।

घटनास्थलमा मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार घटनास्थल पुगेर परिवारसँग भेटेका छन्। मुख्यमन्त्री शाहीले घटनाको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए। उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारलाई समवेदना दिए।

‘प्रहरीको अनुसन्धानपछि घटनाका बारेमा विस्तृत विवरण आउला, तीन बालकसहित आमाको मृत्युले साह्रै स्तब्ध बनाएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘मृतकलाई श्रद्धाञ्जली दिन र शोकमा रहेका परिवार र आफन्तलाई समवेदता प्रकट गर्न आएको हुँ।’

प्रकाशित: ३ माघ २०७८ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App