१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

चौबीसौँ भूकम्प सुरक्षा दिवसको कार्यक्रम पाटन दरबार क्षेत्रमा

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आगामी माघ २ गते विभिन्न कार्यक्रम गरी देशभर २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ। ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको आज सहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो।

भूकम्पले भवन भत्किएर क्षति नपुगोस् भनी जनचेतना जगाउन भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। पत्रकार सम्मेलनमा विभागका महानिर्देशक पद्मकुमार मैनालीले पश्चिम नेपालमा ५०० वर्षअघिदेखि ठूलो भूकम्प नगई शक्ति सञ्चय भएकाले त्यस क्षेत्रमा बढी चेतना जगाउन आवश्यक भएकामा जोड दिए। दाङबाट पश्चिमका जिल्लामा निर्माण हुने संरचनामा विशेष ध्यान दिएर विभागले काम गरिरहेको उनले बताए।

भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहेका महानिर्देशक मैनालीले तीनै तहका सरकार मानिसको जीवन रक्षाका लागि जनचेतना जगाउन लागिपरेको बताए।

चेतना जगाउने उद्देश्यअनुरूप विसं २०५७ देखि नै विभागले घर निर्माणमा संलग्न हुने प्राविधिकलाई तालिम दिन सुरु गरेको छ।

भूकम्पले भवनमै क्षति पुग्ने र त्यसले मानिसको जीवन लिने भएकाले दिवसका माध्यमबाट चेतना जगाउन विभाग लागिपरेको उपमहानिर्देशक रामचन्द्र दङ्गालले बताए। दिवसको मूल कार्यक्रम यस वर्ष पाटन दरबार क्षेत्रमा गरिने भएको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वले सम्बोधन गर्ने भएको छ। गत वर्ष भक्तपुर दरबार क्षेत्रमा यो दिवसको कार्यक्रम आयोजना गरिएको थियो।

प्रकाशित: २८ पुस २०७८ ११:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App