लहान- सामुदायिक विद्यालयका शिक्षकले निजी धन्दामा सक्रियता बढाएपछि सिकाइ उपलब्धि खस्किएको छ। विभागीय स्वीकृतिवेगर स्थायी शिक्षकलाई अर्को शैक्षिक संस्थामा पढाउनसमेत नियमले बन्देज लगाए पनि यहाँका शिक्षकले निजी स्कुल र उद्योगसमेत सञ्चालन गरिरहेका छन्।
पशुपति आदर्श उच्चमाविका शिक्षक नरेन्द्रकुमार झाले लहान–८ मा द इलाइट इंग्लिस बोर्डिङ स्कुल सञ्चालन गरेका छन्। पशुपति उमाविकै शिक्षक महेन्द्र चौधरीले लहान– ६ मा सञ्चालित युनिभर्सल एकेडेमी रवीन्द्र श्रेष्ठसँग खरिद गरी संकल्प बाटिकाको नाममा सञ्चालन गरिरहेका छन्। उनले उक्त एकेडेमी पत्नीको नाममा राखेका छन्।
शिक्षा कार्यालयका स्रोतव्यक्ति भोगेन्द्र यादवले लहान–७ स्थित आफ्नै घरमा पिस एजुकेसनल एकेडेमी सञ्चालन गरेका छन्। माध्यमिक विद्यालय हनुमानगर ब्रह्मानगोर्छारीका शिक्षक रंगलाल साह लहान–८ मा सञ्चालित जिविस द इलाइट इंग्लिस बोर्डिङ स्कुलका संस्थापक हुन्। उनले मनिष पुस्तक पसलसमेत खोलेका छन्।
ब्रह्मानगोर्छारीकै निमावि शिक्षक रामविनय यादवले लहान–१ मा पिनाकल कोचिङ सेन्टर चलाएका छन्। माध्यमिक विद्यालय महदेवा पोर्ताहामा कार्यरत शिक्षक भोलाप्रसाद यादवले ०६८ सालमा आफ्नै नामबाट शुभलक्ष्मी बडीबिल्डर्स खोलेका छन्। राघोपुर निमाविका प्रअ रामविलास यादवले मिर्चैयास्थित घरमा हिमालय बोर्डिङ सञ्चालन गरेका छन्।
भ्रष्टाचार निवारण ऐन ०५९ विपरीत संस्थागत विद्यालय, उद्योग र सहकारीको सदस्यता लिने शिक्षकको सूची लामो छ।
निजी स्कुल खोल्ने, जग्गा कारोबार गर्ने, अन्यत्र पढाउने शिक्षकका कारण सामुदायिक विद्यालयको पठनपाठन धाराशयी बन्दै गएको शिक्षाप्रेमी हेमन्त यादव बताउँछन्। अधिकांश शिक्षकले सामुदायिक विद्यालयलाई हाजिर गरेर तलब थाप्ने थलोका रूपमा मात्रै प्रयोग गरिरहेका कारण सिकाइ उपलब्धि ओरालो लागेको उनको तर्क छ।
जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालले शिक्षकलाई विद्यालयमा नियमित गर्ने कार्य चुनौतीपूर्ण रहेको बताए। ऐन–नियम मिचेर काम नगर्न गरेको परिपत्रसमेत अटेर गरेको उनले बताए। 'शिक्षकले संस्थागत विद्यालय खोल्न, उद्योग चलाउन, सहकारीको सदस्य बन्न पाउँदैन,' उनले भने, 'अरु शैक्षिक संस्थामा पढाउनसमेत विभागीय स्वीकृति चाहिन्छ।'
प्रकाशित: १३ पुस २०७१ २३:०१ आइतबार





