१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

३३ किलो सुन तस्करीमा जोडीएका उप्रेती पक्राउ

३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका रमेश उप्रेती पक्राउ परेका छन्। मंगलबार साढे ३ बजे दुबईबाट एयर अरेबियाको फ्लाइटमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ३३ किलो सुन तस्करी मुद्दाका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश लामो समयदेखि फरार थिए।

मोरङको उर्लाबारी नगरपालिका–७ का उनी ३३ किलो सुन गायब भएपछि दुबई बस्दै आएका थिए। ‘३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका अभियुक्तहरू धरौटीमा रिहा हुन थालेपछि फरार रहेका व्यक्तिहरू खोज्ने कार्य सक्रिय रूपमा थालिएको छ,’ प्रहरी स्रोतले भने, ‘३३ किलो सुन गायब भएपछि दुबई बस्दै आएका फरार अभियुक्त रमेश नेपाल फर्किरहेको सूचना पाएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा थप कडाई गरिएको थियो।’ 

हाल प्रहरी वृत्त गौशालामा रहेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त गोरेसहित ६ जना हाल कारागारमा जन्मकैदको सजाय काटिरहेका छन्। जिल्ला अदालत मोरङले गत असोज १९ गते ३३ किलो सुन तस्करी र शाक्य हत्यामा मुख्य आरोपी गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको थियो। 

घटनाका मुख्य आरोपी गोरेसहित ७७ जनालाई प्रतिवादी बनाएर मोरङ प्रहरीले विसं.२०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो। अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रूपैयाँ ९० पैसा बिगो माग गरिएको थियो। बाँकी ५६ जनालाई सफाइ दिँदै सम्पर्कमा नआएका प्रतिवादीमध्ये २१ जनाको मुद्दालाई मुल्तबीमा राखिएको थियो।

मुद्दाका प्रतिवादीमध्ये रमेश उप्रेतीसहित सुरेन्द्र गौतम, रुस्तम मियाँ, रोहित आचार्य, टुकबहादुर मगर, मरिन तामाङ, मोहनकुमार अग्रवाल, सुनीलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल, कमल कार्की, मणिराज चौलागाईं, शिवकुमार गुवाजू, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समीर अधिकारी, माधव आचार्य, अभिप्रकाश नेवार, रक्षा भण्डारी र सन्दीप खड्का फरार रहेको अदालतले जनाएको थियो।

प्रकाशित: २१ पुस २०७८ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App