८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

हिमपातले मनाङ र मुस्ताङमा आउजाउ नै रोकियो

हिमपहिरोमा परेर मनाङमा एकजना बेपत्ता

मुस्ताङमा मुक्तिनाथसम्मको यात्रा रोकियो

मुस्ताङमा परेको हिमपात। तस्बिरः नागरिक

अधिक हिमपातले हिमाली जिल्लाको जनजीवन सकसपूर्ण बनेको छ। हिमाली जिल्ला मनाङमा हिमपातपछि हिमपहिरो झर्दा एकजना स्थानीय बेपत्ता भएका छन। मुस्ताङमा भने धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथसम्म पनि उक्लिन नसकिने गरि भीषण हिमपात भएको छ। हिउँ नपग्लेसम्म मुक्तिनाथ पुग्न नसकिने स्थानीय प्रशासनले बताएको छ।  

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका भारी हिमपातले मनाङमा हिमपहिरो निम्त्याउँदा पहिरोमा परेर एकजना बेपत्ता भएका छन। हिमपहिरोमा परेर नाँसो गाउँपालिका–४ ओडारका ५५ वर्षिय आजुङ गुरुङ बेपत्ता भएका छन्। गोठबाट जंगलको बाटो घर फर्किने क्रममा हिमपहिरोमा परेर गुरुङ हराएका थिए।

आचार्यका अनुसार अनुसार हिमपहिरोमा हराएका गुरुङको खोजी भईरहेको छ। तीनजना स्थानीयबासी गोठ सार्न गएको र अधिक हिमपात पछि एकजना गाउँले गोठमै बसेका थिए। फर्किएका दुईजनामध्ये गुरुङ हिमपहिरोमा परेको आचार्यले बताए। ‘जंगलमा एकाएक हिमपहिरो झरेछ। आजुङसँगैका अर्का साथी भागेर जोगिन सकेछन,’ उनले भने, ‘तर आजुङ पहिरोमा पुरिएछन। अधिक हिमपातले हिमपहिरो निम्त्याएको हो।’ 

 उनका अनुसार बुधबार बेलुकीदेखि हिमपात थामिएपनि सदरमुकाम चामे क्षेत्रमा झन्डै दुईफिट बाक्लो हिउँ जमेको छ। दानाक्यू भन्दा माथिल्लो क्षेत्रमा हिमपात भएको उनले बताए। ‘चिसो अधिक छ। घाम लाग्दा पनि दिउँसोको समयको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ,’ उनले भने, ‘विहीबार दिउँसो घाम त लागेको छ। तर, तापक्रम भने निकै नै तल ओर्लेको छ।’ उनका अनुसार सदरमुकाम चामेभन्दा माथिल्लो क्षेत्रमा अझै बाक्लो हिमपात भएको थियो। सदरमुकाम चामे क्षेत्रमा सडकमा थुप्रिएको हिउँ हटाउन सुरक्षाकर्मी परिचालन गरिएको छ। उपकरण नै प्रयोग गरेर भएपनि हिउँ हटाएर सडक सुचारु गराउने प्रयास भईरहेको उनले बताए।  

मुस्ताङको जनजीवन पनि हिमपातले अप्ठेरो पारेको छ। सदरमुकाम जोमसोम भन्दा तल्लो क्षेत्र लेते र माथिल्लो क्षेत्र मुक्तिनाथ आसपास अधिक हिमपात भएको छ। हिमपातले मुक्तिनाथको यात्रामा निस्केका कतिपय पर्यटक घाँसाबाटै फर्केका छन। विहीबार अबेर मात्र सदरमुकाम जोमसोमसम्म गाडी उक्लिएको भएपनि जोमसोमभन्दा माथि जान सक्ने अवस्था छैन। मुक्तिनाथसम्मको यात्रा अझै केहीदिन हुन नसक्ने स्थानीय प्रशासनले बताएको छ।  

पोखराबाट मुक्तिनाथ दर्शक गराउन पर्यटक लिएर गएका विजय केसीले लेतेबाट माथि जान सक्ने अवस्था नरहेपछि बीचबाटै पोखरा फर्केको जानकारी दिए। ‘सातजना आन्तरिक पर्यटक लिएर मुक्तिनाथ जाँदै थिए। लेतेबाट माथि जान सकिएन। त्यसपछि पोखरा फर्किए’ केसीले भने, ‘सदरमुकाम जोमसोम पुग्न पनि कठिन छ। केहीगरि जोमसोमसम्म उक्लिएपनि मुक्तिनाथ पुग्न सकिने अवस्था नरहेपछि लेतेबाटै फर्केका छौ।’ हिउँमा गाडी चलाउँदा दुर्घटनाका जोखिम भएकोले पनि चूनौती मोल्न नचाहेको उनले बताए।  

उनका अनुसार बुधबार दिउँसोदेखि लेते र घाँसा क्षेत्रमा बाक्लो हिमपात भएको थियो। लेते खण्डमा सडकमा करिब २ फिट भन्दा बाक्लो हिउँ जमेको छ। सदरमुकाम जोमसोम खण्डमा केही कम र मुक्तिनाथ क्षेत्रमा उस्तै बाक्लो हिउँ परेको उनले बताए। ‘हामी अघि बढ्न सक्ने अवस्था नभएपछि बीचबाटै यात्रा टुंग्याएर फर्केका छौ। मुक्तिनाथसम्मको यात्रा भएपनि बीचमै रोक्न बाध्य भयौं,’ उनले भने,‘जर्बजस्ती गर्ने आँट भएन। जोमसोम माथि सम्भावना छैन भनेर सुरक्षाकर्मीले पनि अघि नबढ्न भनेकोले सचेत बनेर फक्र्याै।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप) मुस्ताङका संरक्षण अधिकृत ऋषि बरालका अनुसार बुधबार बेलुकी परेको हिउँ विहीबारको घामसँगै पग्लने क्रममा छ। ‘लेतेमा निकै नै बाक्लो हिउँ प¥यो। जोसमोमसम्मका लागि गाडी खुलेको भएपनि मुक्तिनाथ पुग्ने अवस्था छैन। मुक्तिनाथ पुग्न अझै केहीदिन लाग्नेछ,’बरालले भने, ‘माथिल्लो क्षेत्र लोमान्थाङतिर अझै बाक्लो परेको छ। चिसो पनि अधिक भएको छ।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जिल्लाको सबै ठाउँमा हिमपात भएको बताए। ‘जिल्लाभर सबैतिर हिउँ परेको छ। सवारी चल्न सकेका छैनन। लेतेमा त झनै बढी परेको छ। माथिल्लो मुस्ताङमा पनि बाक्लो परेको छ,’ शर्माले भने, ‘सदरमुकाम जोमसोम भन्दा अन्य क्षेत्रमा बढी परेको छ।’ लेते क्षेत्रको हिउँ हटाएर सदरमुकाम जोमसोमसम्म गाडी उकाल्न सकेपनि सदरमुकामबाट अघि बढ्न नसक्ने उनले बताए।

‘मुक्तिनाथसम्म गाडीमा पुग्न सकिने अवस्था छैन। सदरमुकाम माथि जान सकिने अवस्था छैन। हिउँ पग्लिने सम्भावना तर, तत्काल मुक्तिनाथसम्म पनि पुग्न सकिने अवस्था छैन,’ उनले भने, ‘मुक्तिनाथ क्षेत्र जाने बाटोमा हिउँ जमेको र गाडी लैजान खोज्दा चिप्लिएर दूर्घटना हुन सक्छ।’  क्षति नहोस भन्नका लागि जोमसोमभन्दा माथि गाडी लैजान नदिएको पनि उनले बताए।  

प्रकाशित: १५ पुस २०७८ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App