१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

‘मुठीभरको योगदान’ पुस्तक विमोचन

शहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक इन्जिनियर शशिबहादुर थापाद्वारा लिखित ‘मुठीभरको योगदान’ पुस्तक विमोचन भएको छ।  

पूर्व प्रधानन्यायाधीश दिलिप पौडेल, शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना र प्राडा रमेशचन्द्र अधिकारीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए।

थापाको किताब विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश पौडेलले लेखक ई.थापाले सरकारी सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उपत्यकाको भौतिक राजधानीको विकासमा मुख्य भूमिका निर्वाह गरेको जिकिर गरे।

‘शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको हुँदा वा उपत्यकाको फोहोर व्यस्थापन प्रमुखको भूमिकामा रहँदा ई थापाले सरकारले जिम्मा दिएको काम निकै प्रभावकारी रुपमा निभाउनु भयो,’ पूर्व प्रधानन्यायाधीश पौडेलले भने, ‘इन्जिनियर थापाले ३३ वर्षे सरकारी सेवा अवधिमा गर्नुभएको योगदान प्रशंसनीय रहेको मेरो अनुभव हो।’

संस्कृतिविद् सत्यमोहन जोशीले इन्जिनियर थापाले पुस्तकमा उल्लेख गरेका सबै काम प्रशंसा गर्न योग्य रहेको विचार राखे। ‘टुँडिखेलदेखि रत्नपार्कसम्मको बाटो विस्तार गरी घेराबार लगाउने, विसं २०४५ सलाको भूकम्पपछिको पुनर्निर्माणमा उहाँले गर्नुभएको काम प्रशंसा गर्न योग्य रहेको छ,’ संस्कृतिविद् जोशीले  भने, ‘उहाँले पञ्चायत, राजा र जनतासम्मको काम गर्नुभएको छ,’ उनले थपे, ‘थापाले लेख्नुभएको पुस्तकलाई विद्यालय र उच्च शिक्षा अध्ययनको लागि अतिरिक्त पाठ्यक्रममा समावेश गर्नु पर्छ।’

पूर्वमन्त्री वुद्धीराज बज्राचार्यले ऐतिहासिक नगरी ललितपुर विशेष गरी पाटन क्षेत्रको विकास गर्ने मुख्य व्यक्तिको रुपमा परिचय बनाएका इन्जिनियर थापाबाट आफूले धेरै विषयमा जान्न पाएको जनाए।

हाल काठमाडौं उपत्यका विकास प्राधिकरणका पुनरावेदन समितिका सदस्य ६९ वर्षीय इन्जिनियर थापाले उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न फोहोरमैला नीति तयार गरेका थिए।

प्रकाशित: ९ पुस २०७८ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App