coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश २ः दुर्घटनामा मृतकको डरलाग्दो ग्राफ

केही दिनअघि धनुषामा भएको मोटरसाइकल दुघर्टनाको दृश्य। सवारी नियमबारे सवारी चालकलाई स्मरण गराउँदै ट्राफिक प्रहरी। तस्बिरः मिथिलेश/नागरिक

पुस १ गते दिउँसो करिब ३ बजेको थियो। लहान–ठाढी सडक खण्डमा चहलपहल पातलै थियो। लहान नगरपालिका–३ पार्कबाट एक किलोमिटर दक्षिण ठूलो डरलाग्दो आवाजले छेउछाउ बस्तीका स्थानीयलाई अत्यायो।

के भयो भन्दै बुझ्न मानिसहरू घरबाट सडकमा निस्के। हस्याङ फस्याङ गर्दै श्याम महतो पनि घटनास्थल पुगे। त्यहाँ पुग्दा मोटरसाइकल लेन क्रस गरेर टिपरमा ठक्कर खाएर लडेको थियो। मोटरसाइकलमा सवार तीन जना सडकको किनारमा छटपटाइरहेका थिए। हेर्दाहेर्दै तीन जनाले दम तोडेको र अर्कालाई महतोसहितका स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याएका थिए।

प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकल सवार सप्तरीको बलान विहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका तीनै जनाको मृत्यु भयो। ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाति अभिषेक यादवको घटनास्थलमै मृत्यु भएको थियो।

दक्षिणबाट उत्तरतर्फ आइरहेको यादव परिवार सवार मोटरसाइकल विपरीत दिशाबाट गइरहेको स १ क २६१ नम्बरको टिपरसँग ठक्कर खाएको थियो। प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा आइरहेको उक्त मोटरसाइकल माथि चालकले नियन्त्रण गुमाउँदा लेन क्रस गरेर टिपरसँग ठक्कर खाएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी साहायक निरीक्षक मनोज चौधरीका अनुसार यस दुर्घटनामा मानवीय लापरबाही कारण देखिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका अनुसार, यस जिल्लामा साउनदेखि पुस ३ गतेसम्म सवारी दुर्घटनामा ३ जनाले ज्यान गुमाइसकेका छन्। यस वर्ष साउनदेखि पुस ३ गतेसम्म ३७ जनाले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउनेमा मोटरसाइकल संलग्न दुर्घटनामा धेरै छन्। सडकमा बढ्दो अव्यवथा र लापरबाही नियन्त्रणमा ट्राफिक प्रहरीको निरीहताले सिरहामा दुर्घटनामा मृतकको ग्राफ बढ्दो छ।

प्रदेश २ को दुर्घटना ग्राफ झन डरलाग्दो छ। आर्थिक वर्ष ०७७/०७८ मा सवारी दुर्घटनामा यस प्रदेशमा ५ सय २३ जनाले ज्यान गुमाएका थिए। चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म मात्र सवारी दुर्घटनामा ५ सय ३० जनाले ज्यान गुमाएका छन्। त्यस मध्ये धेरै मोटरसाइकल संलग्न दुर्घटनामा परेर मृत्युवरण गर्ने छन्।

बढ्दै छ दुर्घटना

प्रदेश २ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको तथ्यांक डरलाग्दो छ। सबैभन्दा बढी मृत्युवरण गर्ने दुई चक्के सवारीसाधन संलग्न दुर्घटनाका छन्। पाँच आर्थिक वर्षको सवारी दुर्घटनाको तथ्यांकले प्रदेश २ मा दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बढेको देखाएको छ। बस, ट्रक, ट्याक्टर टिपर, मोटरसाइलक जस्ता सवारी दुर्घटनामा परेर दिनहुँ मानिसले मृत्युवरण गर्नु परिरहेको छ।

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा सवारी दुर्घटनामा चार सय ९६ जनाको मृत्यु भएको छ। जसमध्ये २ सय जनाको मोटरसाइकल संलग्न दुर्घटनामा ज्यान गएको तथ्यांक छ। ०७६/०७७ मा चार सय २० जना, ०७७/०७८ मा पाँच सय २३ जना र चालु आर्थिक वर्ष ०७८/७९ को कार्तिक मसान्तसम्म मात्र पाँच सय ३० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

मुख्यकारण चालकको लापरबाही

सवारी दुर्घटनाको डरलाग्दो तथ्यांकको विश्लेषण गर्दा चालककै लापरबाही मुख्यकारण देखिएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख (एसपी) हिमालकुमार श्रेष्ठले बताए। 'चालकहरूले सवारी तथा यातायात व्यवस्था नियमावलीको पालना नगरिदिँदा दुर्घटनाको अवस्था डरलाग्दो छ', उनले भने। यस प्रदेशको जिम्मेवारी सम्हालेपछि कारबाहीसँगै सचेतना अभियानलाई आठवटै जिल्लामा तीव्रता दिएको उनले बताए।

मादक पदार्थ सेवन जाँच, गतिमा षड्यन्त्र (रडार गन) मार्फत दैनिक जाँच सुरु गरिएको उनले बताए। विद्यालय, समुदाय, सवारी चालक, पैदलयात्रुलाई सडकमा कसरी यात्रा गर्ने बारे जानकारी गराउने अभियानलाई तीव्रता दिएको उनले बताए।

प्रकाशित: ४ पुस २०७८ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App